पक्राउ परेका अभियुक्तहरूबाट बरामद एटीएम, विदेशी मुद्रालगायत ।नेपाल प्रहरी
- फेरि पक्राउ परे अनधिकृत रूपमा पैसा निकाल्ने चार विदेशी
चैत्र २२, २०७३- विदेशी नागरिकको बैंक खाताका डिजिटल कोडहरूको प्रयोग गरेर एटीएम मेसिनबाट अनधिकृत रूपमा रकम निकाल्ने चार मोल्दोभाका नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाबाट ४ सय ९५ थान एटीएम कार्ड, ७ लाख ८१ हजार ३ सय ५० रुपैयाँ, १ हजार ६ सय ५ अमेरिकी डलर, २ हजार २ सय ४५ युरोसमेत बरामद गरेको छ ।
प्रविधि प्रयोग गरेर विदेशी नागरिकको बैंक खाताबाट अवैध रूपमा रकम निकालिएको एक महिनायता यो अर्को ठूलो घटना हो । ८ चैतमा पनि महानगरीय अपराध महाशाखाले मोल्दोभियनले जस्तै गरी अवैध रूपमा ३ करोड ३० लाख रुपैयाँभन्दा धेरै रकम निकालेको आरोपमा ६ नेपाली र दुई भारतीयलाई पक्राउ गरेको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मोल्दोभाका नागरिकले पूर्वी युरोप र अमेरिकाका नागरिकको बैंक खाताबाट रकम निकालेका हुन् । यसअघिको गिरोहले जस्तै यो समूहले पनि अन्तर्राष्ट्रिय हयाकर समूहबाट बैंक खाताका डिजिटल पासकोड किनेको देखिन्छ । किनिएको पासकोडलाई म्याग्नेटिक स्टिप कार्ड रिडर (एमएसआर) नामक मेसिनमार्फत खाली एटीएम कार्डमा भरेर र एटीएम काउन्टरबाट उनीहरूले पैसा निकाल्थे । व्यक्ति तथा संस्थाका बैंकको पासकोड अनधिकृत रूपमा हात पार्ने र त्यसलाई बेच्ने काममा डिजिटल दुनियाँमा हयाकरका केही समूह सक्रिय छन् । यो गिरोहले पनि यही तरिकाबाट पासकोड फेला पारेको देखिन्छ ।
आइतबार बिहान दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको एटीएमबाट फरक–फरक कार्ड प्रयोग गरी एक विदेशी नागरिकले रकम निकालेको सीसीटीभी फुटेज बैंकका कर्मचारीले शंकास्पद ठहर्याएपछि ब्युरोमा सूचना दिएका थिए ।
सूचनाका आधारमा ब्युरोले ठमेलको एक होटलमा बसिरहेका चार जनालाई पक्राउ गरेको थियो । ब्युरोका एसएसपी शेरबहादुर बस्नेतका अनुसार चारैजनासँग मोल्दोभा र रोमानियाको पासपोर्ट छ । ‘चारमध्ये एक जना पहिलो पटक नेपाल आएको देखिन्छ भने दुई जना दुई पटक र एक जना तीन पटकसम्म नेपाल आएको देखिन्छ,’ एसएसपी बस्नेतले भने ।
सोभियत संघबाट छुट्टिएको पूर्वी युरोपको मोल्दोभाबाट नेपाल आएका निकु देकोरदिजा, भ्साली फेतुस्का, युरे देर्मेन्जी पा र युजेन्यु देओरिजाको एउटै उद्देश्य थियो, अनधिकृत रूपमा हात पारिएका पासकोडको दुरुपयोग गरेर रकम निकाल्नु । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने भए पनि यसमा दुई वर्षसम्मको मात्रै सजायको व्यवस्था आफैंमा अपुग भएको बस्नेतले बताए । ‘कमजोर कानुन भएकै कारण विदेशीको टार्गेटमा नेपाल परेको हुन सक्छ,’ उनले भने ।
टार्गेटमा एटीएम कार्ड
ब्युरोले मात्रै २०७० यता एटीएमको माध्यमबाट हुने आर्थिक अपराधका आठ विभिन्न घटनामाथि कारबाही गरिसकेको छ । त्यसमा ४ रोमानियन, ३ टर्किस, २ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन नागरिक पक्राउ परिसकेका छन् । फरक–फरक घटनामा ८४ लाख २८ हजार रुपैयाँ, ६३ हजार ८ सय ५५ अमेरिकी डलर र ६२ हजार ९ सय ५० युरो बरामद गरिसकेको छ । त्यसक्रममा १ हजार १ सय ३९ अवैध एटीएम कार्डसमेत बरामद भएका छन् । प्रविधि प्रयोग गरेर निरन्तर भइरहेको आर्थिक अपराधका यस्ता घटनाले अन्तर्राष्ट्रिय गिराहको टार्गेटमा नेपाल परिरहेको देखिन्छ ।
कल बाइपासमा संलग्न पक्राउ
प्रहरीले कल बाइपासमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ‘अपरेसन भोइस फक्स’ अन्तर्गत झापा बिर्तामोडमा सुन थापाको घरमा डेरा गरी बस्ने झापा शनिअर्जुन नगरपालिकाका १७ वर्षीय सुमितकुमार सिंहलाई पक्राउ गरेको हो ।
सिंहलाई एक थान इन्टरनेट मोडेम, ७ वटा नेपाल टेलिकमका सिम र १८ वटा एनसेलका सिमसहित चैत १० मा पक्राउ गरिएको हो । उनको साथबाट ६४ पोर्ट र १६ पोर्टको जीओआईपी गेटवे १/१ वटा र ८ पोर्टको दुइटा बरामद गरिएको छ । कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको र उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ ।
कसरी भित्रियो स्किमिङ मेसिन ?
एटीएम प्रयोग गरेर अनधिकृत रूपमा रकम निकाल्ने गिरोहले पछिल्लो समय म्याग्नेटिक स्टिप कार्ड रिडर (एमएसआर) मेसिनको प्रयोग गरेको देखिन्छ । आइतबार पक्राउ परेका मोल्दोभियन नागरिकबाट ब्युरोले एकथान एमएसआर भनिने कार्ड स्किमिङ मेसिन बरामद गरेको छ । यस्तै मेसिन ८ चैतमा पक्राउ परेको टोलीबाट पनि बरामद भएको थियो । अधिकांश यस्ता घटनामा प्रयोगमा आएका एमएसआर मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सजिलै भित्रिएका देखिन्छन् ।
विमानस्थलको बाटो हुँदै नेपाल आएका ती विदेशीबाट यस्तो मेसिन विमानस्थलमै किन बरामद हुन सकेन भन्नेबारे ब्युरोको अनुसन्धान अधिकारीको चासो बढेको छ । एक अनुसन्धान अधिकारीले विमानस्थल भन्सारका कर्मचारी यस्तो मेसिनको उपयोगिताबारे जानकार नहुनु र सामान्य अन्य सामग्री जस्तै गरेर भित्रिन दिनु कारण हुन सक्ने बताए । ‘केही व्यक्तिले सयौं थान खाली एटीएम ल्याएर आउँदासमेत भन्सार अधिकारीले चेकजाँच नगर्नु वा त्यस्तो सूचना प्रहरीलाई नदिनु अचम्म हो,’ उनले भने ।
भारतीय बजारमा सजिलै किन्न सकिने एमएसआर यस्तो मेसिन हो, जसको माध्यमबाट अनधिकृत रूपमा हयाकरको समूहबाट किनिएका डाटालाई खाली एटीएम कार्डमा भरिन्छ । यो मेसिनको सहायताले एटीएम कार्डको डाटा मेट्ने र नयाँ डाटा भर्ने कामसमेत हुन्छ । २०७३ कात्तिक ११ मा पक्राउ परेका बुल्गेरियन नागरिक डिमो आतानासोभ स्टेफ्यानोभबाट पनि प्रहरीले एमएसआर बरामद गरेको थियो । त्यस्तै कात्तिक १९ मा पक्राउ परेका तीन रोमानियन नागरिकले पनि एमएसआर मेसिनकै सहयोगमा अवैध रूपमा हात परेको बैंक खाताबाट पासकोडलाई खाली एटीएम कार्डमा राखेका थिए ।
ekantipur


