- करोडौंको धनमाल क्षति भएको प्रहरी अनुमान
चैत्र २०, २०७३- क्षेत्रीय सदरमुकाम दिपायलको पिपल्ला बजारमा आइतबार ठूलो आगलागी भएको छ । पिपल्लामा रहेको जेभी आयल स्टोरबाट सुरु भएको आगलागीबाट चार पसल जलेर नष्ट भएका छन् । नेपाली कांग्रेसकी सांसद कल्पना सोवको निवाससहितको सुनचाँदी पसल समेत आगलागीबाट नष्ट भएको छ । दुई मोटरसाइकल पनि जलेका छन् ।
आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । आगलागीको यथार्थ कारण भने बाहिर आउन सकेको छैन ।
आइतबार दिउँसो सवा एक बजेबाट सुरु आगलागी प्रहरी, व्यापारी र स्थानीयवासीको सहयोगले दिउँसो पौने ३ बजे मात्रै नियन्त्रणमा आएको हो । समयमै दमकल नआउँदा आगलागी नियन्त्रणमा आउन सकेको थिएन । आयल स्टोरमा पेट्रोल भरिएका ड्रमहरु पड्कँदा आगलागी नियन्त्रण गर्न कठिनाई भएको थियो ।
राष्ट्रिय बाणिज्य बैंक दिपायल शाखाको कार्यालय रहेको भवन भने आगलागीबाट बचेको छ । दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेकाले डडेल्धुरा र क्षेत्रीय प्रहरी कार्यालयको दमकलले आगो नियन्त्रण गरेको थियो ।

ekantipur




















