काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। आगामी चैत १० गतेदेखि चीन भ्रमणमा जानका लागि प्रधानमन्त्री प्रचण्डले भ्रमणको तयारी थालेका छन्।
आफूलाई चीनबाट भ्रमणका लागि निमन्त्रणा आएको जानकारी प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई सोमबार अनौपचारिक रुपमा जानकारी गराएका थिए। यसबारेमा चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले गृहकार्य गरी औपचारिक रुपमा भ्रमणको मिति तय हुने प्रधानमन्त्री प्रचण्डका एक सल्लाहकारले जानकारी दिए।
चिनियाँ राजदूतावास स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भ्रमण गर्ने निश्चित भएपनि मिति तय भइसकेको छैन। प्रधानमन्त्री हुने वेलामा प्रचण्डका कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएको चीन पछिल्ला दिनमा नरम बनेको थियो। प्रचण्ड प्रधानमन्त्री भएपछि सेप्टेम्बर १५ मा भारतको औपचारिक भ्रमणमा र अक्टुबर १५ मा ब्रिक्स सम्मेलनमा भाग लिन भारत गएका थिए।
चीनले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि चीन भ्रमणको निमन्त्रणा दिएको छ।
annapurnapost


