फागुन २९ गते । गोरखापत्र संस्थानका फोटो सम्पादक राजेश ढुङ्गानाका तस्बिरहरू अमेरिकाको क्यालिफोर्नियामा आयोजित फोटोग्राफी सम्वन्धी दशौँ अन्तराष्ट्र्रिय कलर अवार्ड प्रतियोगिता सन् २०१७ मा चयन भएका छन् । प्रतियोगितामा विश्वका ७५ राष्ट्रका फोटो पत्रकार सहभागी थिए।
प्रतियोगितामा राखिएका ६ हजार १७८ फोटोमध्ये ढुङ्गानाका नौविधामा खिंचिएका तस्बिर मनोनयनमा परेका हुन । काठमाडौँको सडक बत्ती अमूर्त फोटोग्राफी विधामा एरियल भ्यूमा बौद्ध स्तुप, विश्वका बालबालिकामा कोक्रोमा सुतेको बालक र खोकनाको घरको झ्यालमा देखिएको बच्चाको तस्बिर पनि मनोनयमा परेको संस्थाले उहाँलाई इमेलमार्फत् जानकारी दिएको छ ।
प्रकृति विधामा पानीको थोपा, फोटो पत्रकारितामा खानेपानीको समस्या, सिलोट विधामा फेवातालमा साँझपखको नौका विहार, खेलकुद विधामा घोडा दौड, स्टिल लाइफमा कोपिला र वाइल्ड लाइफमा अण्डाबाट निस्केको चल्लाको फोटो चयनमा परेका छन् । आयोजक दशौँ अन्तर्राष्ट्रिय कलर अवार्डले धन्यवाद पत्रसहित सोको जानकारी गराएको छ ।


