नेपाली भूमिमा निर्वाध प्रवेश गरेका भारतीय सुरक्षाकर्मी । स्थानीय ।तस्बिर : डीआर पन्त/कान्तिपुर
, काठमाडौं
फाल्गुन २७, २०७३- भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी नेपाली नागरिकको मृत्यु भएको एक दिनपछि भारतले अनुसन्धान सुरु भएको जनाएको छ ।
बिहीबार भारतीय दूतावासले एसएसबीले गोली नचलाएको दाबी गरेको थियो । अनुसन्धान नै नभइ दूतावासले सामान्य सूचनाको अधारमा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको धारणा व्यक्त गरेको भन्दै सरकारले भारतीय कार्यवाहक राजदूत विनयकुमारलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट नै हस्तान्तरण गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कार्यवाहक राजदूतलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कूटनीतिक नोट हस्तान्तरण गरिएको हो । परराष्ट्र सचिवले कार्यवाहक राजदूतलाई नोट हस्तान्तरण गरेका हुन । नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । राजनीतिक निर्देशन कुर्दा एक दिन ढिला भएको परराष्ट्र अधिकारीले बताए ।
नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह समेत गरिएको छ । भारतीय कार्यवाहक राजदूतले घटनाबारे सुक्ष्म अध्ययन हुने बताएका थिए । दूतावालाई आएको जानकारीअनुसार घटनामा भारतीय एसएसबीले फाइरिङ नगरेको नै रहेको तर स्थानीयस्तरबाट छानबिन भइरहेको जानकारी दिएको पनि स्रोतले बतायो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीले निर्माण गरिरहेको कल्भर्टमा भारतीय पक्षले भत्काउन थालेपछि दुई पक्षीय झडप हुँदा एसएसबीले चलाएको गोलीले ३२ वर्षीय गोविन्द गौतमको बिहीबार बिहान मृत्यु भएको थियो । मृत्यु भएको दिनभर सरकार मौन रह्यो र भारतीय दूतावासले भारतको तर्फबाट गोली नचलाएको बताएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महत र भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीसमेत राखेर छलफल गरे । सोही स्थानबाट निधिले भारतीय विदेशमन्त्री स्वराजसँग बिहीबार बेलुकै टेलिफोन वार्ता गरे । त्यसपछि भारतले भारतले यस सम्बन्धमा अनुसन्धान सुरु भएको बताएको हो ।
भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति नै जारी गरेर उक्त घटनाको अनुसन्धानको लागि नेपाल सरकारलाई कूटनीतिक माध्यमले पोस्टमार्टम रिपोर्ट र घटनाको वास्तविक प्रतिवेदन माग गरेको छ । उक्त माग गरेलगत्तै शुक्रबार परराष्ट्रमन्त्री महतले पनि विदेशमन्त्री स्वराजसँग टेलिफोन वार्ता गरे ।
गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएको भन्दै उनले पुन: स्वराजलाई फोन गर्दै घटनाबारे ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, भारतीय विदेश मन्त्रालयले छानबिन थालिएको जानकारी दिइसकेको छ । गृहमन्त्रीसँग भएको कुराकानीपछि विदेशमन्त्री स्वराजले च्यानलमार्फत निर्देशन दिएकी थिइन् ।
केहीले बिहीबार नै परराष्ट्रमन्त्रीले स्वराजलाई फोन गरेको भनेर हल्ला गरिदिएपछि महतले शुक्रबार फोन गरेका हुन् । भरतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको जानकारी दिए ।
ekantipur


