×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मधेस मामिलामा एमालेले महसुस गरेका ४ कमजोरी

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुई नम्बर प्रदेशबाट पछि हट्ने निर्णय, अब के हुन्छ ?

    मात्रिका पौडेल/टिप्पणी
    २५ फागुन, सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान जारी भएपछि पहिलोपटक २ नम्बर प्रदेशको भूमीमा टेकेका थिए फागुन २३ गते सोमवार । एमालेका शीर्ष नेताहरुमध्ये माधवकुमार नेपाल र ईश्वर पोखरेल विभिन्न कार्यक्रम लिएर यसअघि २ नम्बर प्रदेशमा गए पनि ओलीले कतिपय निर्धारित कार्यक्रम अन्तिम समयमा रद्द गरेका थिए ।

    यसपटक ओली आफूमात्र होइन, सिंगो एमालेको नेतृत्व साथमा लिएर राजविराज, गोलबजार, जनकपुर, जितपुरजस्ता मधेस आन्दोलन प्रभावित शहरमा जाँदै थिए । उनले आफू २ नम्बर प्रदेश प्रवेश गर्नुअघि रणनीतिक रुपमा २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक रुपमा प्रवेश गराएका थिए । जसमा अधिकांश २ नम्बर प्रदेशकै स्थापित मधेसी नेतादेखि उदाउँदै गरेका युवासम्म छन् ।

    एक नम्बर प्रदेशमा उत्साहपूर्ण जनसहभागितापछि हौसिएका ओली करीव ५ हजारको लावा लस्कर लिएर कोशी ब्यारेज पार गर्दा भारदहमा एक सय जनाको संख्यामा मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाउदै उनकै विरुद्ध चर्का नारा लगाएका थिए । ५० मिटर दूरीबाट लगाइएका ‘मधेस विरोधी ओली मूर्दावाद’ ‘ओली चोर मधेस छोड’ जस्ता नारा उनले नसुन्ने कुरै भएन ।

    भारदहबाट हनुमाननगर हुँदै राजविराज प्रवेश गर्ने मार्ग ओलीले मधेसी मोर्चाकै बिरोधका कारण परिवर्तन गरेर कन्चनपुर,महुली,रुपनगर हुँदै राजविराज जाने नयाँ रुट तय गरेका थिए । राजविराज बजारमै प्रवेश गर्दा हुने तनाव टार्न बजारभन्दा यतै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेको सभा तय गर्नु भनेको ओलीले भिडन्त नचाहेको भन्ने बुझ्न सकिन्छ ।

    राजमार्गभित्र नपसेको भए यो मानवीय क्षति हुने अवस्था आउने थिएन कि ? कतिपयले यो प्रश्न गरेका छन् । तर एमाले र विशेष गरी ओलीका लागि राजविराज, जनकपुर जस्ता शहरमा आफ्नो उपस्थिति देखाउनु राजनीतिक रुपमा विजयको सन्देश पनि थियो । यहि राजनीतिक बिजय खोज्दा २ नम्बर प्रदेश प्रवेश गरेकै दिन अप्रिय घटना भयो ।

    पछिल्लो मधेस आन्दोलनका बेला ओलीलाई मधेसमा ‘खलनायक’का रुपमा प्रस्तुत गर्न आन्दोलनकारीले कुनै कसर बाँकी राखेनन् । ओली विरुद्ध प्यारोडी बनाउनेदेखि उनका भाषणलाई मधेस विरोधी अभिव्यक्तिका रुपमा गाउँ गाउँमा प्रचार गरिएका थिए । जसका कारण ओली मधेस विरोधी नेताका रुपमा मधेसमा एक हदसम्म स्थापित भए ।

    यसबीचमा ओली २ नम्बर प्रदेशमा नजानुलाई मधेसी मोर्चाले आफ्नो बिरोधका कारण ओली मधेस प्रवेश गर्न नसकेको अर्थमा प्रचार गरिरहेको थियो । अर्कोतिर माधव नेपाल गौर र सुनसरीको हरिपुराका सभामा गएबाहेक मधेसका मुख्य शहरमा शीर्ष नेताहरु नआउँदा एमाले कार्यकर्तामा निराशा मात्र होइन रक्षात्मक अवस्थामा थिए ।

    ईश्वर पोखरेल र बामदेव गौतम सप्तरी, सिराहा र धनुषाका चियापन कार्यक्रममा जाँदा समेत मोर्चा कार्यकर्ताको अवरोध सामना गर्नु परेको थियो । स्थानीय चुनाव घोषणा भइसकेको र एमालेलाई मधेस विरोधी भनेर एकोहोरो ढंगले स्थापित गर्न खोजिएको अवस्थामा मेची महाकाली अभियानको मूल लक्ष्य भनेको मधेसमा एमालेको धारणा राख्नु नै थियो ।

    एमालेको अभियान शुरु हुनै लाग्दा मधेसी मोर्चाले सप्तरी र जनकपुरमा बन्द आह्वान गरेर एमालेलाई मधेस पस्न नदिने घोषणा गर्‍यो । मोर्चाका नेताहरुले एमालेलाई भन्दा पनि ओलीलाई मधेसमा पस्न नदिने बताए । सोमवार पनि राजविराजमा जब ओलीले बोल्न थाले त्यसपछि मोर्चाका प्रदर्शनकारीहरु ढुंगामुढामा उत्रिए ।

    प्रदेश नम्बर २ का सन्दर्भमा एमाले नेतृत्वले समीक्षा गर्दैछ । तर, प्रदेश सीमांकनदेखि सप्तरी घटनासम्म पुग्दा एमालेले यो प्रदेशका सन्दर्भमा केही कमजोरी भएको महशुस गर्न थालेको छ । एमाले नेताहरूसँगका अनौपचारिक कुराकानीका क्रममा आफ्ना केही कमजोरी महशुस गरेको बुझ्न सकिन्छ ।

    कमजोरी १

    एमाले महासचिव ईश्वर पोखरेलसँग इटहरीको गोर्खा डिपार्टमेन्ट गेष्टहाउसमा हामीले कुरा गर्दा उनले पार्टी बिधानमै केही त्रुटी भएको स्वीकार गरे । विधानमा ५ उपाध्यक्ष र ५ सचिव व्यवस्था गर्दा कम्तिमा एक उपाध्यक्ष र एक सचिव मधेसीका लागि आरक्षण हुनुपर्थ्यो भन्ने महशुस अहिले आएर भएको पोखरेलले स्वीकार गरे ।

    एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा लालबाबु पण्डितले माधव नेपाल प्यानलबाट र धर्मनाथप्रसाद साहले ओली प्यानलबाट प्रतिस्पर्धा गरेका थिए ।

    तर, पाँचै उपाध्यक्ष खुला प्रतिस्पर्धा हुँदा बामदेव गौतम, विद्या भण्डारी, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जस्ता नेतासँग उनीहरु टिक्न सकेनन् र पराजित भए । यदि आरक्षण गरिएको भए दुईमध्ये एक उपाध्यक्ष हुने थिए ।

    त्यस्तै सचिवमा पनि एमालेका चर्चित मधेसी नेता रघुवीर महासेठ पराजित भए । बिधानको त्रुटीकै कारण एमालेका १५ जना पदाधिकारीमा एकजना पनि मधेसी नेता जित्न सकेनन् । त्यसले गर्दा एमालेमा मधेसीलाई स्थान छैन भन्ने गलत सन्देश प्रवाह भएको महशुस एमाले नेतृत्वले गरेको छ । अब बिधानमा केन्द्रीय सदस्य मात्र होइन, पदाधिकारीमा पनि मधेसीका लागि आरक्षण राखिनुपर्छ भन्ने महशुस भएको महासचिव पोखरेलले बताए ।

    कमजोरी २

    एमालेको नवौं महाधिवेशनमा पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको स्वतः उम्मेदवार बन्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार लालबाबु पण्डित उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जिते । तर धर्मनाथ साह र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भए ।

    मधेसीका लागि छुट्याइएको आरक्षण कोटा बाहेक खुलातर्फ नागेन्द्र चौधरी र लालबाबु पण्डितमात्र केन्द्रीय सदस्य बने । धेरै मधेसका स्थापित नेता केन्द्रीय सदस्यमै पराजित भएपछि एमालेमा मधेसीको प्रतिनिधित्व कम भयो । मधेसकै एमाले नेताहरु पार्टीभित्र निराश बन्दै निष्कृय हुन थाले ।

    एक वर्षअघि केन्द्रीय सदस्य मनोनयनमा पनि मधेसी नेताहरु परेनन् । जुली महतोलाई विद्या भण्डारीले मनोनयन गर्न खोज्दा पनि विवाद भयो । उतिबेलै मधेसका स्थापित नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेर मधेसमा क्रियाशिल बनाउनुपर्ने रहेछ भन्ने महशुस एमालेले अहिले आएर गरेको देखियो ।

    जब मेची महाकाली राष्ट्रिय अभियान लिएर २ नम्बर प्रदेश प्रवेश गर्ने बेला भयो, तब एमाले नेताहरुले बिधान बिर्सिएर मधेसीहरुको सामुहिक प्रवेश गराए केन्द्रीय कमिटीमा । ठूला नेता मिलेपछि बिधान बिर्सन सकिन्छ भन्ने मान्यता पनि स्थापित गरे शीर्ष नेताले । तर मनोनित केन्द्रीय सदस्यहरु मध्ये रघुवीर र लालबाबु यादवले बाहेक अरुले सपथग्रहण नगर्दै सप्तरी घटना हुन पुग्यो । अहिले मनोनित मध्येकै कतिपय नेताहरु मोर्चाको धम्कीका कारण बिस्थापित भएका छन् ।

    कमजोरी ३

    एमालेले अलि पहिले नै महशुस गरेको अर्को कमजोरी भनेको २ नम्बर प्रदेशको सिमांकनमा ध्यान नदिइएको हो । प्रदेश नम्बर २ मा सप्तरीदेखि पर्साका ८ जिल्लामात्र राख्ने कांग्रेस र एमालेको सहमतिमा तत्कालै एमालेका मधेसी नेताहरुले आपत्ति जनाएका थिए । उनीहरुले यसो गर्दा २ नम्बर प्रदेशमा एमालेको राजनीति गर्न नसकिने गुनासो गरेका थिए ।

    संविधान जारी गर्ने सन्दर्भमा कांग्रेससँग मिलेको एमाले नेतृत्वले त्यसबेला उनीहरुको कुरा सुनेन । अहिले आएर एमाले नेताहरु २ नम्बर प्रदेश सीमांकनमा गल्ति भएकै हो भन्छन् । २ नम्बर प्रदेशमा मकवानपुर, सिन्धुली र उदयपुरको कम्तिमा भित्री मधेस क्षेत्र समावेश गरिनुपथ्र्यो भन्ने निष्कर्षमा एमाले नेताहरु पुगेका छन् ।

    एक सन्दर्भमा एमाले अध्यक्ष ओलीले हामीसँग भनेका थिए-२ नम्बर प्रदेशको सीमांकनमा हाम्रोतर्फबाट कांग्रेसलाई मनाउने नाममा कमजोरी भएकै हो । उपयुक्त समयमा उपयुक्तः विधिबाट २ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्न सकिन्छ । सप्तरी घटनापछि एमालेले प्रदेश २ आफ्नो लागि प्रतिकुल बनेको ठहर सायद गर्नेछ ।

    कमजोरी ४

    एमाले नेतृत्वले खुलेआम स्वीकार गर्न नसकेको तर कहीँ न कहीँ अन्तर कुन्तरमा महशुस गरिएको कमजोरी हो-नेताहरुले मधेस र मधेसीका सन्दर्भमा बेला बखत दिएका अभिव्यक्ति । एमाले अध्यक्ष ओलीले मोर्चा सहितको बालुवाटार बैठकमा मोर्चाका नेताहरुलाई भनेका थिए-समथर भूभाग जति सबै मधेस प्रदेश बनाउने हो भने युपी विहार पनि समथर छ,त्यो पनि चाहियो भन्ने ? मेरो घरको आँगन पनि समथर छ,त्यो पनि मधेस भन्ने ?

    ओलीको यो अभिव्यक्ति मधेसम्म पुग्दा मधेसीहरुलाई युपी विहार जाऊ भनियो भनेर प्रचार भयो । उनले त्यसको तत्कालै खण्डन गर्न छाडेर मोर्चाका सांसदलाई आँपको संज्ञा दिए । उनले संविधान जारी गर्ने सन्दर्भमा केही सांसदले बहिस्कार गरेको घटनालाई रुखबाट आँप झरेको अर्थमा अभिव्यक्ति दिए । तर उनले यसो भन्दा मधेसमा मान्छे मरिरहेका थिए । मधेसी मारिदा आँप झरेको कुरा गर्दा उनी विरुद्ध मधेसमा ठूलो आक्रोस बढ्यो ।

    त्यस्तै हुलाकी राजमार्गको मानव साङ्लोलाई उनले माखे साङ्लो भने । आँप, युपी विहार र माखे साङलोले ओलीलाई मधेसमा मधेस विरोधी नेताको रुपमा स्थापित गरेकै हो । पछिल्लो समयमा उनले आफ्नो अभिव्यक्तिको आसय ब्याख्या गरे पनि ढिला भइसकेको थियो । यो कुरालाई मधेसका एमाले नेताहरुले पनि महशुस गरेका छन् ।

    मधेस आन्दोलनमा सबैभन्दा धेरै मान्छे सुशील कोइराला प्रधानमन्त्री हुँदा मारिए । तर, मधेसमा आक्रोश ओली विरुद्ध नै चल्यो । अहिले प्रचण्ड सरकारको पालामा सप्तरीमा ४ जना मान्छे मारिए । तर मधेसी आन्दोलनकारीको आक्रमणको तारो ओली नै बनेका छन् । मधेसमा ओलीको बोलीका कारण पनि एमाले कार्यकर्ताले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको स्थानीय कार्यकर्ता बताउँछन् । ‘मान्छेलाई गोलीले भन्दा बोलीले दुखाउँछ, नेताहरुले बोल्दा शब्द चयनमा बिचार नगर्दा पनि हामीले तल दुःख पाउछौं’ एक जिल्ला नेताले भने ।

    अब २ नम्बर प्रदेशमा के हुन्छ ?

    एमालेले मधेसका सन्दर्भमा आफ्ना कमजोरी महशुस गरेरै मधेस केन्द्रित अभियान सन्चालन गर्न लागेको थियो । मधेसी नेताहरुको सामुहिक मनोनयन, सबै नेताहरु एकजुट भएर अभियानमा हिड्दा र चुनाव घोषणा भइसकेको अवस्थामा मधेसको एमाले पंक्तिमा उत्साह पनि जागेको थियो । तर, यो उत्साह तीन दिन पनि टिक्न सकेन ।

    सप्तरी घटनापछि मधेसी आन्दोलनकारीको आक्रमणको तारो स्थानीय एमालेका मधेसी नेता कार्यकर्ता नै बनेका छन् । ठाउँ ठाउँमा उनीहरुमाथि धम्की,आक्रमण र कालोमोसो दल्ने कार्य भइरहेका छन् ।

    मोर्चाले एमालेका स्थानीय नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने केन्द्रीय कार्यक्रम नै बनाएपछि जिल्लामा एमालेका नेता कार्यकर्ता असुरक्षित बनेका छन् ।

    यसबीचमा पार्टीले पनि सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा निर्धारित मधेस अभियानका कार्यक्रम स्थगित गरेर हेटौंडाबाट पश्चिम लाग्ने निर्णय गरेको छ । यसबाट एमाले २ नम्बर प्रदेशमा थप रक्षात्मक बन्न पुगेको छ ।

    यद्यपि एमाले सचिव प्रदीप ज्ञवाली भने रक्षात्मक बनेर भन्दा पनि मोर्चाले हिंसाको साहारा लिएकाले एमालेले त्यस क्षेत्रका कार्यक्रम स्थगन गरेको बताउछन् ।

    ज्ञवालीले भन्छन्-मोर्चा जुन ढंगले हिंसात्मक ढंगले आएको छ, हिंसा उसको नीति हो भने प्रष्ट भनोस् । होइन भने सप्तरीमा मान्छेको ज्यान लिने काम मोर्चाले गरेको हो । यस्तो अवस्था एमाले हिंसाको हिस्सेदार बन्न चाहँदैन । २ नम्बर प्रदेशमा हाम्रा कार्यक्रम स्थगित भएका हुन् रद्द भएका होइनन् ।

    स्रोतका अनुसार एमाले शीर्ष नेतृत्व समक्ष सरकारी संयन्त्रबाटै पुगेको सूचना निकै गम्भीर छ । स्रोतका अनुसार एमालेका नेतृत्वकै सामुहिक हत्या गर्ने वा जनकपुरसम्म पुग्दा रौतहटको गौरमा २०६३ सालमा भएजस्तै कत्लेआम गर्ने योजना बनेको सूचना एमालेले पायो । एमालेका एक नेता भन्छन्-मधेसमा हाम्रो पार्टी संगठन जस्ताको त्यस्तै छ, राजनीति त जहिले पनि गर्ने मैदान खाली छ, तर नरसंहारको योजना सफल हुन नदिन पार्टी २ नम्बर प्रदेशबाट पछि हटेको हो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.