सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र एमाले नेताहरुका घरमा तोडफोड गरेका छन् ।
आज २५ फागुन विहान मोर्चाका कार्यकर्ताहरुको समूहले प्रमुख निर्वाचन आयुक्त यादवको राजविराज–५ स्थित घरमा तोडफोड गर्नुका साथै उनको घरमा लगाइएको बोर्ड निकालेर जलाएका छन् ।
त्यसैगरी राजविराज–४ स्थित एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुर्यालको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाइदिएका छन् भने राजविराज–९ स्थित एमाले नेता कमानन्द देवको घरमा पनि तोडफोड भएको छ ।
एमाले र केपी ओलीविरुद्ध नाराबाजी गर्दै हिंडेको मोर्चा कार्यकर्ताको समूहले राजविराज–५ स्थित एमाले जिल्ला कार्यालयमा रहेको झण्डा र बोर्ड निकालेर जलाएका छन् । उनीहरुले एमाले सांसद रञ्जु ठाकुरको राजविराज–९ स्थित घर अगाडि पुगेर नारबाजी गरेपनि घरमा कसैलाई नदेखेपछि तोडफोड भने गरेका छैनन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई गृहमन्त्रालयले फिर्ता बोलाएपछि नयाँ तोकिएका प्रजिअ र एसपीहरु अझै जिल्ला पुगिसकेका छैनन् ।
मोर्चाका कार्यकर्ताहरुले उत्तेजित भएर नारबाजी गर्दै एमाले नेताका घरहरुलाई निशाना बनाइरहँदा राजविराजको अवस्था तनावग्रस्त बनेको छ ।
श्रवणकुमार देव, राजविराज
himalkhabar


