पोखराको खाल्टे मसिनामा बर्ड फ्लुको संक्रमण भएपछि मारिएका हाँस र कुखुरा डिस्पोजल गर्न लगिँदै । तस्बिरः कृष्णमणि बराल
कृष्णमणि बराल
पोखराः पोखराको माटेमसिना क्षेत्रमा बर्ड फ्लुको संक्रमण देखिएपछि त्यस क्षेत्रमा पालिएका कुखुरा, हाँस, बट्टाई, परेवा गरी करिब २२ सय पक्षी मारिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गरी जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले एक सय २२ हाँस, १४ सय ७१ बोइलर कुखुरा, ५ सय ६९ लोकल कुखुरा ६८ केजी मासु, बट्टाई चरा र परेवा मारिएको जानकारी दिए ।
यस्तै, पक्षीजन्य वस्तुमा ८ सय ६९ बोरा दाना, ३७ बोरा सुली, ३ सय अन्डासमेत नष्ट गरिएको छ । पशु स्वास्थ्य ऐन परिच्छेद २ दफा १५ को अधिकार प्रयोग गरी एक सय १६ घरधुरीका पक्षी र पक्षीजन्य सामग्री नष्ट गरिएको डा. त्रिपाठीले बताए । फागुन १४ गते त्यस क्षेत्रका घरका कुखुरा र हाँस बर्ड फ्लुले मरेको पुष्टि भएपछि संक्रमणकाल घोषणा गरी कुखुरा, हाँस र पक्षीजन्य सामान नियन्त्रणमा लिई डिस्पोजल गरी फर्म सफा गरिएको थियो । त्यसको एक साता नपुग्दै पुनः त्यस क्षेत्रनजिकै बर्ड फ्लुको संक्रमण देखिएपछि शनिबार र आइतबार पक्षी र पक्षीजन्य वस्तु नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय कास्कीका सूचना अधिकारी ठगेन्द्र अर्यालले बताए ।
बर्ड फ्लुका संक्रमण भएका हाँस, कुखुरा किसानले केही पर लगेर राख्दा पुनः यस्तो समस्या देखिएको बताउँदै किसानलाई यस्तो कार्य नगर्न र व्यवसायीलाई पनि पोखराका १८ वटै वडामा पक्षी र पक्षीजन्य वस्तु ओसार पसार नगर्न जिल्ला पशु सेवा कार्यालय कास्कीले अनुरोध गरेको छ । यो सरुवा रोग हो । बर्ड फ्लु बढी संक्रमण भए मान्छेलाई पनि सर्छ । संक्रमण भएको क्षेत्रमा स्थानीयले कुखुरा, हाँस लुकाइदिने, सार्ने गर्दा संक्रमण बढेर बर्ड फ्लु मानिसमा पनि सर्न सक्ने भएकाले बेलैमा सबै सम्बन्धित पक्ष सचेत भई यो अभियानमा सहयोग गर्न जिल्ला पशु सेवा कार्यालय पोखराका प्रमुख त्रिपाठीले अनुरोध गरे ।
बर्ड फ्लुको संक्रमण देखिएपछि पोखरा उपमहानगरपालिकाको एकदेखि १८ वडामा २५ फागुनसम्म पक्षी र पक्षीजन्य पदार्थ आयात-निर्यातमा रोक लगाइएको अर्यालले जानकारी दिए । जैविक सुरक्षा प्रक्रिया अपनाएर दाना आयातमा भने खुला गरिएको उनले बताए । फागुन ६ गते त्यस क्षेत्रका कुखुरा र हाँस मरेपछि पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट एचफाइभएनवान जीवाणु पुष्टि भएको हो ।
संक्रमणकाल घोषित क्षेत्रमा अब ४२ दिनसम्म हाँस, कुखरालगायत पक्षी पाल्न पाइन्नँ’, जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी अर्यालले भने, ‘वरपरका खोर पनि सफा गरिरहेका र्छाैं ।’ संक्रमित क्षेत्रका मानिसमा पनि समस्या हुन सक्ने भएकाले स्थानीएको स्वास्थ्यसमेत जाँच गरिएको र अहिलेसम्म मानिसमा संक्रमण नभएको जिल्ला जनस्वास्थ्य कास्कीका सूचना अधिकारी यम बरालले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयको नियमित रूपमा सोमबार पनि स्वास्थ्य परीक्षण गरिने उनले बताए । दुई वर्षदेखि पोखरामा मात्र बर्ड फ्लुको संक्रमण देखिएको हो । मारिएका कुखुरा, हाँसको क्षतिपूर्ति सरकारी नियम अनुसार दिइने पनि जिल्ला पशु सेवा कार्यालय कास्कीले जानकारी दिएको छ ।
annapurnapost


