- प्रहरीद्वारा तस्करीमा संलग्न १२ जनाको नाम सार्वजनिक
फाल्गुन २२, २०७३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक गरेको छ ।
३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीबारे तथ्य बाहिर ल्याएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अहिलेसम्म ३३ किलो सुन प्रकरणमा १२ जना पक्राउ परेका छन् ।
ब्युरोका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)गुल्मीका श्यामबहादुर खत्रीले सुन तस्करीका लागि विमानस्थलमा सुरक्षा सेटिङ मिलाउने, धनुषाका सन्तोष काफ्लेले दुबईबाट सुन पठाउने, नेपालमा मोरङका दिलबन्धु थापाले रिसिभ गर्ने, क्यारियरको काम सुर्खेतका गोपालबहादुर शाहीले गरेका थिए । त्यस्तै, काभ्रेपलाञ्चोकका रामहरि कार्की मुख्य वितरक र रकम संकलक, सिराहाका श्रीनारायण यादवले विमानस्थलमा सेटिङ मिलाउने, काभ्रेपलाञ्चोकका राजकुमार ढकाल र भक्तपुरका कृष्ण श्रेष्ठ (च्वामु) विमानस्थलको स्क्रिन पास गराउने काम गरेका थिए ।
त्यस्तै सुनसरीका रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, धनकुटाका मनोज श्रेष्ठ अवैध सुन खरिद कार्यमा संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ । संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरेको थियो ।
उनीहरुले उक्त सुन वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट संकलित रकम र नेपालमा रहेका सुन व्यापारीहरुबाट प्राप्त रकमबाट खरिद गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । ३३ किलो सुन प्याकिङ तथा क्यारियर व्यवस्थापनका लागि ३ देखि ५ जना व्यक्ति परिचालन गरेको, सुन बोकी ल्याउने क्यारियर र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको, क्यारियर र लगेजको फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जरमार्फत पठाउने गरेको प्रहरीले जनाएको छ ।
अब सुन तस्करीको मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्नेछ । सरकारी वकिलको कार्यालयमा मुद्दासम्बन्धी सबै फाइल शुक्रबार नै बुझाइसकिएको ब्युरोले जनाएको छ । प्रहरीले गत पुस २१ मा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन बरामद गरेको थियो ।
सरकारी प्रक्रियाअनुसार १ किलो सुन ल्याउँदा ४ लाख २० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । विमानस्थलबाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँबराबरको थियो । ब्युरोका अनुसार यही तस्करीको सञ्जालले यसअघि पनि बारम्बार अवैध सुन ओसारिरहेको थियो ।
ekantipur




















