- मिलेमतोमै बालुवा, माटो, ढुंगा धमाधम बिक्री
फाल्गुन १७, २०७३- तीन वर्षअघि चाबहिल–साँखु सडक खण्डको दायाँबायाँ निकै हरियाली देखिन्थ्यो । थलीदेखि साँखुसम्मको सडकखण्ड त झनै हरिया रुखले ढपक्क ढाकिएको थियो । तर, एक वर्षकै अन्तरमा जग्गा प्लटिङ व्यवसायीले अग्ला डाँडा सम्याएपछि अहिले कतै हरियाली देखिँदैन ।
जग्गा प्लटिङ व्यवसायी, बालुवा उत्खननले अग्ला डाँडा सम्याएर जमिनको स्वरूप नै बिग्रिन पुगेको छ । ‘रुख त छैनन् नै, खोलाको पानीसमेत पिउन योग्य छैन,’ सलमटारका एक स्थानीयले भने, ‘६/७ महिनाको अन्तरमा हरिया डाँडा उजाड भएका छन्, अग्लो डाँडामा डोजर चलेका छन् ।’ मणिचूड मन्दिरको फेदी, गागलफेदी र इन्द्रेणी क्षेत्रमा ४ वटाभन्दा बढी बालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेको उनले बताए ।

चाबहिल–साँखु (११ किमि) ४ लेन सडक विस्तार भएपछि त्यस क्षेत्रका डाँडामा डोजर चलाएर बालुवा बिक्री गर्ने अनि सम्याएर जग्गा प्लटिङ गर्ने क्रम बढेको छ । ‘इन्द्रेणी, थली ओरालोको दायाँबायाँ, साँखुको इट्टाखेल लगायतका डाँडा भत्काएर कहीं पनि हरियाली छैन,’ उनले भने, ‘यो त साह्रै भयो, जग्गा नै कुरूप बनायो । बालुवा प्रशोधन गर्नेले खोलामा सिधै पानी मिसाएका छन् बस्तीमा पिउन योग्य पानीसमेत छैन ।’ काठमाडौंको बूढानीलकण्ठ, टोखा, सुन्दरीजल, रामकोट, फर्पिङ, कीर्तिपुर, थानकोट र मातातीर्थ लगायतका क्षेत्रका डाँडामा जताततै डोजर देखिन्छन् ।

भक्तपुरको नगरकोट, सूर्यविनायक, चाँगुनारायण, मध्यपुर थिमि र अनन्तलिंगेश्वर नगरपालिकाका अधिकांश डाँडाको स्वरूप बिग्रिने गरी सम्याउने काम भइरहेको छ । त्यसैगरी ललितपुरको चापागाउँ, झरुवारासी, सुनाकोठी, भैंसेपाटी, छम्पी र धापाखेल लगायतका छेत्रका अग्लो ढिस्कोमा डोजर चलाएको देखिन्छ । यसरी उपत्यकाका अधिकांश स्थानमा वालुवा र जग्गा प्लटिङ व्यवसायीले डोजर चलाएर डाँडा भत्काउने गरेका छन् । तर, यसरी डाँडामा डोजर लगाएर स्वरूप बिगार्दा समेत स्थानीय प्रशासन मौन देखिन्छ । मिलोमतोमै बालुवा, माटो, ढुंगा धमाधम बिक्री भइरहेको स्थानीयको गुनासो छ ।
नगरकोट नगरपालिकाको विभिन्न चार स्थानमा अवैध रूपमा माटो उत्खनन गरी माटो बालुवा बिक्री धमाधम भइरहेको छ । नगरकोटस्थित खरिपाटी तपादम्फो ढिस्को, भातेढिकुर डाँडा नै भत्कने गरी डोजर सञ्चालन गरेको छ । प्रत्येक दिन पाँगोमाटो, बालुवा उत्खनन गरी बिक्री भइरहेको छ । ‘प्रशासनसँग पहुँच, र गुन्डा लगाएर स्काभेटरको प्रयोग गरी माटो निकालेर दर्जनौं ट्रिपरले माटो ओसारेका छन्,’ स्थानीय दीपेश खड्काले भने, ‘जिविस, नगरपालिका, प्रहरी प्रसाशन मूकदर्शक बनेको छ,’ व्यापारीले स्वीकृति लिएको छैन, न त माटो किन्नेले जिविसलाई कर तिरेको छ,’ उनले भने ।
नगरकोटबाट २ मिटर दूरीमा रहेको डाँडा नै सकिने गरी माटो निकालेर बिक्री गर्दासमेत स्थानीय प्रशासन बेखबर छ । खानी सञ्चालन तथा उत्खनन कार्य गर्दा जिविसको स्वीकृति लिनुपर्ने हुन्छ । तर, खानी सञ्चालक तथा व्यापारीले बिनास्वीकृति माटो उत्खनन गरी अवैध रूपमा बिक्री गरेका छन् । करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको भातेढिकुर डाँडामा डोजर चलेको छ । अधिकांश स्थानमा सार्वजनिक जग्गासमेत प्लटिङ व्यवसायीले अतिक्रमण गरेको पाइन्छ । त्यसक्षेत्रका साँघुरा सडकसमेत भत्केका छन् भने, दिउँसो पूरै वातावरण धुलाम्मे देखिन्छ ।

माटो ओसार्ने ट्रिपरले पर्यटकीय गन्तव्य नगरकोट जाने वैकल्पिक सडक जीर्ण बनाएको स्थानीय दामोदर दंगालले बताए । जिविसले माटो उत्खननको अनुमति नदिँदासमेत मिलोमतोमा खानी सञ्चालन भइरहेका छन् । जिविसले अवैध रूपमा सञ्चालित माटो उत्खनन तथा बिक्री–वितरण गर्ने काम नरोकेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । ‘प्रहरीलाई पत्राचार गरेका छौं,’ उनले भने । काठमाडौं जिविसका सूचना अधिकृत प्रवीण प्याकुरेल बालुवा–माटो उत्खनन गर्ने काममा जिविसले अनुगमन गरिराखेको बताए । ‘प्लटिङको अनुमति दिने काम जिविसको होइन,’ उनले भने, ‘प्लटिङ अनुमति दिने काम उपत्यका विकास प्राधिकरणको हो ।’

उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जथाभावी डोजर चलाएर जमिन सम्याउनेलाई कारबाही गरिने बताए । ‘आकाश र जमिनमुनिको सबै चिज सरकारको हो, जमिनको कर तिरेर जनतालाई गरिखाऊ भनेको हो, दोहन गरेर खाऊ भनेको होइन,’ उनले भने, ‘तर सदपुयोगको सट्टा जग्गा जमिनको दुरुपयोग भइरहेको छ ।’
ललितपुरका स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जनप्रतिनिधि नभएकाले सबै स्थानमा जिविसले अनुगमन गर्न नसक्ने बताए । ‘सम्बन्धित नगरपालिका आफैंले अनुगमन गर्नुपर्छ,’ उनले भने, ‘जिविसको एक्लो प्रयासले सम्भव छैन ।’






















