चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी वितरण गरिने भएको छ। यातायात व्यवस्था कार्यालयले चैत २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी गरिरहेको जनाएको छ।
सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई एक हजार पाँच सय ट्याक्सी नम्बर उपलब्ध गराउने घोषणासहित गत साउनमा आवेदन खु्ला गरेको थियो तर त्यसका लागि एक लाख ४९ हजार जनाको आवेदन परेपछि विभागले गोलाप्रथाद्धारा वितरण गर्न लागेकाे हो।
विभागले हाल ती आवेदनहरु प्रमाणीकरणका लागि सम्बन्धित जिल्लामा पठाएको छ। विभागका प्रवक्ता टोकराज पाण्डेले भन्नुभयो ‘सबै आवेदन सम्बन्धित जिल्लामा भेरिफिकेशनका लागि पठाएका छौं, फागुन २४ गतेसम्म आवेदन जिल्लामै छानविन हुन्छ त्यसपछि केन्द्रमा आएपछि हामीले अन्तिम नामावली सार्वजनिक गर्छौ र गोलाप्रथाबाट छनोट हुन्छ।’
पाण्डेका अनुसार चैत्र २६ गतेसम्म काम सम्पन्न गर्ने योजनामा यातायात व्यवस्था विभाग छ। गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सीका लागि आवेदन खुला गरिएको थियो। विभागका अनुसार काभ्रे, दोलखा, सिन्धुपाल्चोक र धादिङ जिल्लाबाट धेरैको संख्याले आवेदन दिएका छन् भने अन्य जिल्लाहरुको आवेदन संख्या न्यून छ। काठमाडौँ, ललितपुर र भक्तपुरबाट भने निक्कै कम आवेदन परेको विभागले जनाएको छ। विभागले अन्तिम नामावली सर्वाजनिक गरेपछि उनीहरुलाई बैंकले ऋण उपलब्ध गराउने छ।
gorkhapatraonline




















