नेपालीसहितका झण्डै एक करोड २० लाख बढी आप्रवासी प्रभावित
फाल्गुन ११, २०७३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्वजनिक भएको छ ।
मंगलबार जारी नयाँ नीतिले राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति बताइएको छ ।
अमेरिकामा झण्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिकरुपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासन सम्बन्धी सर्वाेच्च निकाय ‘डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटी’ ले मंगलबार जारी गरेको नीतिअनुसार संघीय सरकारले लाखौं कागजविहीन आप्रवासीहरुलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियानलाई दु्रतरुप बढाउने छ । त्यसका लागि दशहजार ‘फोर्स’ थपिनेछ ।
‘त्रासको स्थिति सिर्जना भएको छ । यसबाट नेपाली आप्रवासी पनि अछुतो छैन्,’ आप्रवासी कानुनी सम्बन्धी अधिवक्ता विनोद रोकाले भने, ‘मेक्सिको सिमानाबाट आउनेलाई यसले संकटमा पार्न सक्छ ।’
ट्रम्प नीतिले कागजविहीन आप्रवासीबाट हुने अपराधलाई रोकथाम गर्ने, संघीय एवम् स्थानीय सुरक्षाकर्मीको सक्रियतालाई अत्यधिकरुपमा बढाउने, छापा मार्ने र देश निकालाको गतिलाई बढाउनेमा केन्द्रित हुनेछ । यसअघि ओबामा प्रशासनले गम्भीर अपराधमा संलग्न, सामाजिक सुरक्षामा खतरा पैदा गर्न सक्ने एवम् अवैधानिकरुपमा भर्खरै अमेरिका पसेकालाई देश निकाला गर्ने नीतिलाई कार्यान्वयनगर्दै आएको थियो । तर ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीको हकमा ‘अपराध’को परिभाषालाई बदलेको छ ।
ट्राफिक उल्लंगनको घटना, नक्कली कागजातको प्रयोग, अर्कैको ‘सोसल सेक्युरिटी’ नम्बर प्रयोग गरेर रोजगारी लिने जस्ता सामान्य घटनामा संलग्नलाई समेत देश निकालाको प्रक्रियामा राख्ने ट्रम्प प्रशासनको नीति रहेको आप्रवासी कानुनी सम्बन्धी अधिवक्ता विनोद रोकाले कान्तिपुरलाई बताए । ‘त्रासको स्थिति सिर्जना भएको छ । यसबाट नेपाली आप्रवासी पनि अछुतो छैन्,’ रोकाले भने, ‘मेक्सिको सिमानाबाट आउनेलाई यसले संकटमा पार्न सक्छ ।’
कुनैरुपमा ‘सोसल वेलफेयर’ बाट फाइदा लिन पुगेका कागजविहीन आप्रवासीहरु पनि नयाँ नीतिबाट प्रभावित बन्नेछन् ।
यसअघि सिमानाबाट छिरेका आप्रवासीलाई अमेरिका प्रवेश गरेको १४ दिन ननाघेको एवम् सिमानाको एक सय माइलभित्र रहेको अवस्थामात्र सिमाना सुरक्षा दस्ताले देश निकालाको प्रक्रियामा राख्न सक्ने नियम थियो । तर अहिले ट्रम्प प्रशासनले अमेरिका छिरेको दुई बर्ष भित्र पनि कागजविहीनहरुलाई पक्राउ गर्दै देश निकालाको प्रक्रिया राख्ने नीति सार्वजनिक गरेको छ । अधिवक्ता रोकाले भने, ‘यसअघि पक्राउ परेपछि अदालती प्रक्रिया जान सकिन्थ्यो तर अब त्यो अधिकारलाई बन्द गर्ने यो प्रशासनको नीति देखिन्छ ।’
सिमानाबाट प्रवेश गर्नेको हकमा समेत अब पक्राउ परेपछि, तुरुन्तै जताबाट प्रवेश गरेको त्यतै तर्फ फर्काउने नीति ट्रम्प प्रशासनको हुनेछ । यसअघि सिमानाबाट प्रवेश गर्नेहरु पक्राउ परेपनि, धरौटी तिरेपछि बन्दी गृहबाट रिहा हुँदै अवैधानिकरुपमा भएपनि अमेरिकी श्रम बजारमा काम गर्दै आएका थिए । त्यसैगरि कुनैरुपमा ‘सोसल वेलफेयर’ बाट फाइदा लिन पुगेका कागजविहीन आप्रवासीहरु पनि नयाँ नीतिबाट प्रभावित बन्नेछन् । चुनावी अभियानमा ट्रम्पले कागजविहीन आप्रवासीलाई डिपोर्टेसन गर्ने बताउँदै आएका थिए ।
अवैधानिकरुपमा बसोबास गर्दै आएका लाखौं आप्रवासीको हकमा ट्रम्पको रिपब्लिकन पार्टी पनि कडा रहँदै आएको छ । तीन साता अघि ट्रम्पले आप्रवासीमाथि कडा रवैयामा प्रस्तुत हुँदै मुस्लिम बाहुल्य रहेका सात देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध एवम् शरणार्थी कार्यक्रम स्थगित गरेका थिए । यद्यपी अदालती आदेशले प्रतिबन्ध कार्यान्वयन हुन पाएन ।
ekantipur


