काठमाडौ, २७ माघ । सामुदायीक अस्पतालका नाममा करोडौ रुपैया मनपरी वितरण गर्ने प्रबृत्ति अव नियन्त्रण हुने भएको छ । अहिले सम्म बर्षेनी झण्डै ५० करोड रुपैया कुनै मापदण्ड विना वितरण हुदै आएकोमा अव भने मापदण्ड अनुसार मात्रै वितरण गरिने भएको हो ।
स्वास्थ्य मन्त्रालयले बनाएको सामुदायीक अस्पताल अनुदान निर्देशीका लागु भईसकेकाले राज्यकोषको दुरुपयोग धेरै न्युनिकरण हुने स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवालाई स्तरिय बनाउन, अनुदान दोहोरो हुन नदिन र अस्पताललाई जिम्मेबार बनाउ नयाँ निर्देशीका ल्याइएको उहाँले बताउनु भयो ।
अनुदान दिदाँ संस्थाको अनुभव, मानवीय श्रोत, अस्पतालबाट निशुल्क दिईने सेवा, अस्पतालले लिने शुल्क लगायतलाई हेरेर दिइने पनि उहाँले जानकारी दिनुभयो ।
नयाँ निर्देशिका अनुसार अवदेखि कम्तीमा १५ शैया रहेका अस्पताललाई मात्रै अनुदान दिईने छ ।
अनुदान वितरण गर्दा सरकारी अस्पतालबाट टाढा रहेका सामुदायीक अस्पताललाई प्राथमिकता दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । साथै सरकारी अस्पतालमा नपाईने सेवा दिएका सामुदायीक अस्पतालहरु पनि अनुदानका लागि प्राथमिकतामा पर्ने भएका छन् ।
अनुदान पाउनका लागि अस्पतालको तर्फबाट कार्ययोजना पेस गर्नु पर्ने र अन्य आम्दानीको श्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
सामुदायीक भएपनि महानगर र उपमहानगरपालिकामा भएका अस्पतालहरुले भने अनुदान नपाउने भएका छन् ।
सरकारी कुनै अनुदान पाएकाले फेरी अनुदान नपाउने भएका छन् भने यसअघि अनुदान लिएकाले सम्झौता बमोजिम काम गरे नगरेको अनुगमन कडाइका साथ गरिने प्रमुख सल्लाहकार पौडेलले बताउनु भयो ।
अहिले सम्म एकमुष्ट दिने गरिएकोमा अवदेखि अनुदान दिदा दुई किस्तामा दिइने र पहिलो किस्ताको रकमले गरेको कामको मुल्यांकन गरेर सवै काम सकिएपछि मात्रै दोस्रो किस्ताको रकम दिइने भएको छ ।
मुनाफा वितरण नगर्ने र नाफा कमाउने उद्धेश्य नभएका अस्पतालहरुलाई सामुदायीक अस्पताल अन्तर्गत राखिएको छ । नेपालमा अहिले झण्डै पाँच सय ओटा सामुदायीक अस्पतालहरु रहेका छन् ।


