निरज थकाली
मुस्ताङ २३ माघ । मुस्ताङका कृषकहरुलाई यस वर्ष एक्काईस हजार स्याउका बिरुवा वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय मुस्ताङले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरेको हो । ४४ रुपैया पर्ने प्रति बिरुवा कृषकलाई २२ रुपैया प्रतिगोटाका दरले वितरण गरिएको कार्यालयले जनाएको छ । एक लाख पचास हजार बिरुवाको माग भएकोमा एकाईस हजार मात्र वितरण गरेको बरिष्ठ कृषि विकास अधिकृत साबीत्री बरालले जानकारी दिनुभयो ।
मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसंगै कृषकहरु स्याउ खेतीप्रती आकर्षित भएका छन् । मुस्ताङको लेते र कुञ्जो बाहेकको गाविसमा ब्यवसायीक स्याउ खेती हुन्छ । मुस्ताङमा मार्फा स्थित शितोष्ण बागबानी विकास केन्द्रले स्याउ लगायत फलफूल र तरकारीको बिरुवा तथा विउ उत्पादन गर्दै आएको छ । केन्द्रमा उत्पादीत छ हजार स्याउका बिरुवा यस वर्ष रसुवा निकासी भएको छ ।
यतिबेला मुस्ताङका कृषकहरु स्याउको बगैचाको ब्यवस्थापनमा जुटेका छन् । स्याउ बगैचा व्यवस्थापनका लागि कृषि विकास कार्यालयले औजार, बिषाधी,नीलाे तुथाे ,स्प्रे, चुना, सर्व आयल , आलुकाे बिउ आदीमा सहयोग गरेको छ ।


