२२ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल पहाड तराई मधेशलाई मिलाएर राख्नु नै राष्ट्रवाद भएको बताएका छन् । उनले राष्ट्रवादको चुरो मधेशमा भएको समेत स्पष्ट पारे ।
कांग्रेस निकट मगर संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै बरिष्ठ नेता पोडेलले राष्ट्रवादको चिन्ताले मधेशलाई नजिक राखेको स्पष्ट पारे । उनले संविधान संसोधन प्रस्ताव सन्तुलित गरेर प्रस्ताव अगाडि बढाउनुपर्नेमा जोड दिदै मधेशी दलहरुले पनि संविधान संसोधन प्रस्ताव टेबुल गरेपछि स्वीकार गरेर निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।
कांग्रेस बरिष्ठ नेता पौडेलले विश्वमा राष्ट्रवादको हावा चलेको भन्दै अब नेपाल आफैले विचार गरेर रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वमा चलेको राष्ट्रवादको लहरलाई नेपालले विचार गरेर रोजगारीको अवसर सृजना गर्ने र सवै जनतालाई उद्योगी र व्यवसायी बनाउन जरुरी छ ।’ उनले नेपालका राजनीति स्थितरता हुन नसकेका कारण विकास र समृद्धिको बाटो पुरा गर्न नसकेको बताउदै ७० वर्ष देखि नेपाली कांग्रेस यो मुलुकमा स्थिरताको लागि लडेको बताए । उनले राजनीति स्थिर हुन नभएसम्म विकास संभव नहुने बताए ।
वरिष्ठ नेता पौडेलले उग्रदक्षिणपन्थी र दरवारिया शक्तीले संसदीय लोकतन्त्रलाई स्वीकार नगरेका कारण राजनीति अस्थिरता तर्फ गएको दाबि गरे । उग्रदक्षिणपन्थी र बामपन्थीहरुले संसदीय समयमा नै स्वीकार गरेको भए मुलुकले आजसम्म मुलुकले फडको मार्ने उनको भनाई थियो । तर ढिलो भएपनि उनीहरुले सवै नेपाली कांग्रेसको संसदीय प्रजातन्त्रको सिद्धान्तको बाटो स्वीकार गरे आएका भन्दै यो देशमा स्थीरताको टुंगो लागेपछि आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताए ।
बरिष्ठ नेता नेपाली कांग्रेसले आन्तरिक प्रतिस्पर्धा होइन विपक्षीसंग फेस गर्नु जरुरी भएको बताए । नेपाली कांग्रेसले सिंगो समाजलाई कसरी प्रभावमा पार्न सक्छौ त्यसैमा नेपाली कांग्रेस जानुपर्छ जनतालाई प्रभावमा पार्ने भनेको विकास भएकाले कांग्रेस त्यता तर्फ केन्द्रीत हुनुपर्ने बताए । उनले पार्टीमा बढ्दै गएका गुट उपगुटका कारण कार्यकर्ताको उचित मुल्यङकन हुन नसकेको बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेसले वीपीको पाला देखि नै समावेशीता लागु गरेको भन्दै उनले समावेशीतालाई अब स्वीकार गर्नुपर्ने बताए । पौडेलले अहिले नेपालको राजनीति चुनाव गराउनका लागि सवै एकनासले नलागेको भन्दै कोहि नेताहरुले सत्ता मात्रै हेरेका चुनावलाई टार्न खोजेको बताए ।



