काठमाडौँ, माघ १५ गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवं तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले राससलाई जानकारी दिनुभयो ।
“यस वर्ष बौद्ध स्तूपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रूपमा मनाइँदैछ । स्तूप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले शनिबार बौद्धका चार ढोका खोलिन्छ र दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ”, उहाँले भन्नुभयो ।
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गरिनेछ ।
रासस


