टिभी अन्नपूर्ण
काठमाडौं, १२ माघ । दुई चार दिनदेखि सीमित नेपाली मिडियाहरुले कतै तपाईंको नांगो साबुनमा बोसो त छैन ? भनेर विज्ञापन प्रकाशित र प्रसारित गरिरहेका छन् । कुनै बहुराष्ट्रिय कम्पनीको योजनामा केही सीमित पत्रिकाहरुमा विज्ञापन प्रकाशित गर्न लगाएर त्यो कम्पनीले एकलौटी नेपाली बजारको हिस्सा ओगट्न यस्तो प्रपञ्च रचिरहेको छ ।
उक्त कम्पनीको मोहरा बनेका छन् केही सीमित राष्ट्रिय दैनिक पत्रिका र केही मिडियाहरु । भारतीय युनिलिभर कम्पनीको योजनामा नेपालमा सञ्चालित भएका केही घरेलु उद्योगहरुलाई बन्द गराउने उद्देश्यले उक्त कम्पनीहरुले केही नेपाली पत्रिका र मिडियाहरुको प्रयोग गरी प्रोपोगाण्डा गरिरहेको छ । पैसाको लोभमा केही मिडियाहरुले साबुनबारे तथ्यहीन विज्ञापन गरेर समाजमा भ्रम फैलाउन खोजेको छ ।
नेपालमै उत्पादित भएका साबुनहरुलाई उक्त कम्पनीले गुणस्तरहीन देखाएर करोडौंको विज्ञापन गरी नेपालमा आफ्नो मात्रै बजार हिस्सा स्थापित गर्न खोजेको छ । उक्त कम्पनीले आयातित साबुनहरुको बजार प्रबद्र्धन गर्न यस्तो रणनीति अपनाएको हो । पैसाको आडमा केही मिडियाहरु प्रयोग गरेर त्यस्ता कम्पनीहरुले करोडौं रुपैंयाँ खर्च गरेका छन् ।
साबुनमा बोसो नै हुन्छ भनेर एकतर्फी नेपाली उपभोक्ताहरुलाई भ्रममा पारी उक्त कम्पनीले अर्बौंको व्यापार गर्न खोजेको छ । नेपालमा उत्पादित भएका लुगा धुने र नुहाउने साबुनमा बोसो मात्रै नभएर अरु नै कच्चा पदार्थ प्रयोग गरिएको हुन्छ । साबुनमा मोनोपोली अर्बौंको व्यापार गर्न केही ठूला कम्पनीले नेपालका साबुन उद्योगहरु बन्द गराउन यस्तो विज्ञापन गरिरहेका हुन् । स्वदेशी साबुन उद्योगलाई धरासायी बनाउने उद्देश्यका साथ उपभोक्तालाई सचेत गराउने नाममा केही विदेशी कम्पनीले भ्रमपूर्ण विज्ञापन गरेको साबुन उद्योगीहरुले बताएका छन् ।
साबुन बनाउने कच्चा पदार्थको रुपमा बोसोको प्रयोग विश्वव्यापी रुपमा स्वीकृत भएको र सरकारले पनि बोसो आयातमा रोकतोक नलगाएको अवस्थामा लुगा धुने साबुनमा बोसो हुन्छ भनेर उपभोक्तालाई आतंकित पार्ने विज्ञापन कहाँबाट, कसले दियो ? भनेर स्वदेशी साबुन उद्योगीहरुले प्रश्न उठाएका छन् ।
विराटनगरस्थित हिमगिरी सोप एण्ड केमिकल इन्डष्ट्रिजका कार्यकारी निर्देशक महेश जाजुले बहुराष्ट्रिय कम्पनीहरुले स्वदेशी साबुनसँग प्रतिस्पर्धा गर्न नसकेर यस्तो भ्रामक प्रचारमा लागेको बताए । स्वदेशी साबुनको राम्रो व्यापार भएको देखेपछि बहुराष्ट्रिय कम्पनीहरुले प्रतिस्ष्पर्धा गर्न नसकेपछि यस्तो रणनीति अपनाएको उनले बताए । नेपाली बजारको माग धानेर भारत, भुटानजस्ता देशमा पनि साबुन निर्यात गरिरहेका नेपाली उद्योगको सफलता कमजोर पार्न कुनै समूहले नियोजित रुपमा उपभोक्ता भड्काउने काम गरेको भन्दै आपत्ति जनाए ।
‘हामी सरकारले निर्धारण गरेका गुणस्तरका सबै मापदण्ड पुरा गर्न तयार छौँ’ जाजुले भने, ‘तर उपभोक्तालाई सचेत गराउने नाममा उत्पादनप्रति नकारात्मक प्रचार गर्ने अधिकार कसले दियो ?’
यसले नकारात्मक प्रभाव पारेको बारे जानकारी दिनु राम्रो कुरा भएपनि त्यसका नाममा व्यापार गरिनु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको समेत भनाई छ । उनी भन्छन्, ‘यो प्रतिष्पर्धी बजारलाई कुण्ठित बनाउने विज्ञापन हो । यस्तो विज्ञापन आचारसंहिता विपरीत पनि हो । राज्य सजग रहनुपर्छ । राज्यले यसलाई नियन्त्रण गर्न सक्नुपर्छ । ब्रोडसिट पेपरले यस्ता विज्ञापन हाल्ने की नहाल्ने भन्नेबारे सोच्नु आवश्यक छ ।’
साबुन नांगो हुने, बोसो हुने वा नहुने भनेर मापदण्ड सरकारले तोक्नुपर्ने र सरकारले तोकेका हरेक मापदण्ड नेपाली उद्योगले पालना गरिरहेको भन्दै महर्जनले कुनै गिरोहले जनहितको नाममा स्वदेशी उद्योगमाथि धावा बोल्ने खेल खेलेको बताए ।
साबुनमा प्रयोग हुने कच्चा पदार्थ बोसो झनै प्राकृतिक भएको व्यवसायीहरुको भनाई छ । बोसो त प्राकृतिक रुपमा बनाईने चिज हो यसलाई हानिकारक भन्नु स्वदेशी व्यवसायीसँग प्रतिष्पर्धा गर्न नसकेर उनीहरुको दिमागले काम गर्न छोडेको जाजुले बताए । केमिकलयुक्त साबुन बनाउनेहरुले यस्तो अफबाह फैलाईरहेको उनको आरोप छ । ‘बोसोको प्रयोग औषधिमा पनि हुन्छ’ जाजुले भने, ‘बरु हानिकारक केमिकलको प्रयोग गर्ने चिल्लो प्याकेजवाला साबुन पो बजारबाट हटाउनुपर्ने छ ।’
अहिले बजारमा बहुराष्ट्रिय कम्पनीले स्वास्थ्यमा हानिकारक असर गर्ने केमिकल मिसाएर साबुन बनाउने गरेका छन् । तर नेपाली साबुनहरु हरियाली बनस्पतिबाट बढी बन्छन् । स्वदेशी साबुन उद्योगलाई बर्बाद बनाउनको लागि पैसाको र पहुँचको भरमा मिडियालाई दुरुपयोग गरेर उपभोक्तालाई भ्रमित बनाउन यस्तो खेल भईरहेको भन्दै सरकारले यसलाई निरुत्साहित गर्नुपर्ने जाजुको भनाई छ ।
प्रतिस्पर्धी बजारमा कुनै पनि अर्को वस्तुलाई नराम्रो देखाउने खालको कुनै पनि गतिविधि गर्न नपाईने व्यवस्था भएपनि नियमनकारी निकाय मौन बस्नु स्वदेशी उद्योगको लागि खतरा भएको उनको भनाई छ । वस्तुको गुणस्तर निर्धारण तथा अनुगमन गर्ने जिम्मेवारी पाएको नापतौल तथा गुणस्तर विभाग भने यसबारेमा प्राविधिक अध्ययन गरिरहेको बताएको छ । तर साबुनमा बोसो कच्चा पदार्थको रुपमा प्रयोग गर्नलाई भने कुनै रोकावट नभएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
tvannapurna


