, काठमाडौं
माघ ९, २०७३- जेपी प्रतिष्ठानले बृद्धबृद्धाका लागि पाँच सय रोपनी जग्गामा ‘जेष्ठ नागरिक ग्राम’ निर्माण कार्य अघि बढाएको छ । काठमाडौंको उत्तर पूर्वमा पर्ने शंखरापुर नगरपालिकाको लप्सेफेदी ४ मा २ देखि ३ हजार बृद्ध बृद्धाको लागि सुविधासम्पन्न अस्पताल, अध्यात्मिक केन्द्र, पुस्तकालय र अनुसन्धान केन्द्र सहितको बृद्धाश्रम निर्माण कार्य अघि बढाएको हो ।
प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले पहिलो चरणमा ३० वटा सुविधा सम्पन्न भवन निर्माण भइसकेको जानकारी दिए । सरकारको सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडल अनुसार ९ वटा, नेपाली सेनाको कल्याणकारी कोषको सहयोगमा १० वटा र प्रतिष्ठानद्धारा ११ वटा भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।
‘मुख्य त बृद्धबृद्धाका लागि निर्माण गरिए पनि अनुसन्धान गर्न चाहने व्यक्तिका लागि पनि मैत्री सेवाश्रममा बस्न सक्छन्’ उनले भने, ‘त्यसै किसिमले बृद्धाश्रमको स्तर निर्धारण गरेका छौं ।’ परम्परागत नेपाली शैलीका भवन निर्माण गरिएको उनले बताए । ‘राष्ट्रलाई अतुलनीय योगदान पुर्याएका तर आर्थिक विपिन्न जो सुकै पनि बृद्धाश्रममा बस्न सक्छन’ उनले भने, ‘जीवनभर राष्ट्रलाई योगदान गरेका हुन्छन् आर्थिक सम्पन्नता हुन्न, त्यसपछि जाने कहाँ ? बुढेशकालमा सहरा त चाहिन्छ, त्यसकारण यसको मुख्य उद्देश्य ‘माता पिता भक्ति भूमि पूजन गीता ज्ञान’ हो ।
अस्तपतालमा बुढाबुढीका लागि विशेषज्ञ चिकित्सकको व्यवस्थासहित गरिने उनले बताए । २ सय २ वर्गफिट देखि दुई तले, तीन तले र साँढे चार तले अग्ला ‘कुटी’ निर्माण गरि सकेको उनले बताए । प्रत्येक भवनलाई ‘कुटी’ नामकरण गरेको छ ।
ति कुटीलाई सामन्य, विशिष्ठ र अति विशिष्ठ गरि तीन समूहमा विभाजन गरिएको छ । समान्य कुटीमा आवास, बैठक कक्ष र भान्छा सहित शौचालयको व्यवस्था गरिएको छ ।
विशिष्ठ र अति विशिष्ठमा आवस, बैठक कक्ष, भान्छा, अट्याच्च र सामन्य शौचलायको व्यवस्था गरिएको छ । पहिलो चरणमा १ सय रोपनी उक्त ३० वटा भवन निर्माण गरिएको उनले बताए । दोस्रो चरणमा चार सय रोपनीमा भवन निर्माण प्रक्रिया अघि बढाइने उनले बताए ।
हाललाई निर्माण सम्पन्न गरिएका ३० भवनमा एक सय जति बृद्धबृद्धालाई राख्न सकिने उनले बताए । ३० वटा भवन निर्माणस्थल र त्यसको भौतिक पूर्वाधार निर्माणका लागि करिव १५ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । खुला स्थान, मन्दिरको निर्माण पनि गरिने उनले बताए । बृद्धाश्रम निर्माणको अवधारण नेपालमा पनि बढै गएको भन्दै उनले बाल्य अवस्था र बृद्धा अवस्थामा विशेष सहरा आवश्यकता पर्ने बताए । फागुनको पहिलो साताभित्र ३० वटा भवनको उद्घाटन गरिने भन्दै उनले त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । ‘शिवपुरी बन्यजन्तु आरक्षसँगै जोडिएको यो स्थानको वातावरण रमणीय छ’ उनले भने, ‘ दस वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने योजना छ ।’
ekantipur


