- बिनागल्ती पक्राउ गरेर बेइज्जत गरिएको भन्दै पीडितद्वारा क्षतिपूर्ति माग
माघ ९, २०७३- जिल्ला अदालतको कमजोरीले निर्दोषले सजाय भोग्नु परेको खुलासा भएको छ । जिल्ला अदालत खोटाङले डिकुवा–६ का नरबहादुर मगरलाई पक्राउ गरी लागूऔषध (गाँजा) मुद्दामा कानुनी कारबाही चलाउन प्रहरीलाई निर्देशन गरेपछि पुस २४ गते पक्राउ गरी कारागार पठाएको थियो ।
जिल्ला अदालतका श्रेस्तेदार प्रदीपकुमार उपाध्यायका अनुसार डिकुवा–२ का नरबहादुर मगर हुनु पर्नेमा अदालतको कमजोरीका कारण डिकुवा–६ का नरबहादुरलाई पक्राउपछि कारागार चलान हुन गएको बताए । उनका अनुसार डिकुवा–२ का नरबहादुरविरुद्ध परेको लागूऔषध (गाँजा) मुद्दामा अदालतले २०५९ साल असोज १ गते उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला भएपछि लगत राख्ने क्रममा अदालतको कमजोरी भएको हो ।
कमजोरी थाहा हुनासाथ अदालतकै निर्देशनमा कारागारमा रहेका निर्दोष मगरलाई शनिबार साँझ छाडिएको श्रेष्तेदार उपाध्यायले सुनाए । प्रहरीचौकी च्यास्मिटारको टोलीले पुस २४ गते पक्राउ गरेको मगरलाई तीन दिनपछि पुस २९ गते कारागार चलान गरिएको थियो । प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले प्रहरीले अदालतको निर्देशनलाई पालना गर्ने भएकाले प्रहरीको दोष नभएको बताए । ‘हामीले अदालतको आदेश पालना गर्ने हो’ प्रधानले भने– ‘निर्दोषलाई पक्राउ गर्न हुन्न भन्ने विषयमा प्रहरी सचेत छ ।’
बिनाकारण कारबाही भोगेका निर्दोष मगरले कारबाही भोगेबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । ‘गल्तीबिना पक्राउ गरेर मेरो बेइज्जत गरिएको छ’ मगरले भने–‘यस्तो निकायप्रति कारबाही हुनु पर्छ ।’
ekantipur




















