कृष्ण थापा, नुवाकोट
माघ ७, २०७३- स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली प्रहार भएको छ । झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलन थालेका स्थानीयबासी र प्रहरीबीच जिविस नजिक सडकमा झडप भएको हो ।
आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र ४ राउण्ड रबरभन्दा बढी गोलीसमेत प्रहार गरेका थिए । रबरको गोली लागेर थानसिङका विनोद पाठक, चौघडाका राजन भट्ट, खानीगाउँका कृष्ण गजुरेल, गौरव लामिछाने, रुपक ढुंगाना सहित अन्य दुई जना छन् ।
पाठकको पेट र देब्रे तिघ्रामा र भट्टको देब्रे तिघ्रामा गोली लागेको छ भने अन्यको हात र गोडामा गोली लागेको चोट छ । स्थानीय प्रशासनले ‘रबरको गोली हानेर जनतामार्न खोजेको छ,’ गोली लागेको भाग देखाउँदै पाठकले भने, ‘शान्तिपूर्ण माग सम्बोधन होस् भनेर आएको त । यसरी गोली हान्ने ?’
उनीहरुलाई नेपाल रेडक्रस सोसाईटीले दुखाई कम गर्ने औषधी र ब्यान्डेज लगाएर सडकमा उपचार गरेको थियो । त्यसैगरी प्रर्दशकारीबाट घाइते भएका कृष्णकुमार यादव छन् भने अन्य ५ जना सामान्य छन् ।
पहिलो निशानामा पत्रकार
दुई पक्षबीच झडप हुँदा प्रहरीले तस्बिर लिई रहेका पत्रकारमाथि लाठी चार्ज गर्दै घोक्र्याएका थिए । पत्रकार हुँ, तस्बिर लिन आएको भन्दा पनि प्रहरीले आन्दोलनकारीलाई भगाउनुको साटो पत्रकारमाथि लाठी चार्ज गरेका थिए । प्रहरीले कान्तिपुर संवाददाता कृष्ण थापालाई प्रहारगरेपछि पुन: जालपा एफएमका जगदिश खनाल र त्रिशूली टिभीका नवराज सुवेदीलाई निसाना बनाई लाठी चार्ज गरेका थिए । थापालाई तस्बिर लिने क्रममा आन्दोलनकारीले हानेको ढुंगा लागेर देब्रे घुँडामा लागेको छ ।
सुरुमा आन्दोलनरत पक्षलाई जिविसको मूल ढोका खोल्न आग्रह गरेका थिए । तर आन्दोलनरत पक्ष आउँदै छ भन्ने जानकारी पाएर स्थानीय विकास अधिकारी केसरबहादुर पण्डितले एकदर्जन प्रहरी जिविसभित्र तैनाथ गराएका थिए ।
ढोका नखोलुपछि आक्रोसित आन्दोलनकारीले ढुंगाले ढोका तोडेर भित्र छिरेपछि तोडफोडमै गर्दै भवनका झ्यालका सिसा, मेचकुर्सी र दुई वटा गाडी तोडफोड गरेका थिए । त्यसरी तोडफोड हुँदा पनि प्रहरीले स्थानीय प्रशासनको आदेश पर्खी मुकदर्शक भएर बसेका थिए । ‘हामी गेट खोलिदिनुस् । यही जिविस प्रांगणमा कोणसभा गरी फर्किन भनेर आएका थियौं,’ एमाओवादी केन्द्रीय सदस्य धर्म अधिकारीले भने, ‘शान्तिपूर्ण जुलुसमाथि गोली हानेर तर्साउने काम भो ।’
शुक्रबार सदरमुकाम केन्द्रित आन्दोलनमा ५ सयभन्दा बढीको संख्यामा आन्दोलनकारी सदरमुकाम आएका थिए । शुक्रबार अपरान्ह बालमन्दिर छेउको सडकमा कोणसभा गर्दै एमाओवादीकी पूर्वसभासद विमला सुवेदी, नेपाली कांग्रेसका सुरेन्द्र अधिकारी, राप्रपा सहअध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताका जायज मागलाई सरोकारवाला निकायले सम्बोधन गर्नुपर्ने बताएका थिए ।
लिखु गाउँपालिकाको माग पूरा नभएसम्म आन्दोलन र बन्द जारी रहने आन्दोलनरत पक्षले जनाएका छन् ।
आन्दोलन चर्केने छाँट देखेपछि स्थानीय प्रशासनले चौघडा, खानीगाउ, सूर्यमति र थानसिङ गाविसमा थप प्रहरी बल पठाएको छ । शुक्रबार सुरक्षा व्यवस्थाबारे बसेको बैठकमा जिविस र आफ्नै कार्यालय वरिपरि समेत कडा सुरक्षा व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेल प्रहरीलाई निर्देशन दिएका छन् ।
आन्दोलनका कारण चारगाविसमा ६ दिनदेखि दुई दर्जन स्कुल बन्द
जिल्लाका पूर्वी भेगमा थानसिङ, चौघडा, खानीगाउँ र सूर्यमतिका स्थानीवासी शान्तिपूर्ण तरिकाले लिखु गाउँपालिका कायम गर्नुपर्ने माग गरिरहेका थिए । आन्दोलनका कारण ती गाविसमा शैक्षिक संस्था समेत ६ दिनदेखि बन्द छन् ।
स्कुल खोलेपनि विद्यार्थी नआएको गुनासो शिक्षकले गरे भने शिक्षा कार्यालयले भने शैक्षिक संस्था संचालनम रहेको जनाएको छ । चार गाविसमा दुई दर्जन स्कुल बन्द छन् भने यातायातका साधन चलेका छैनन् ।
ekantipur


