- एयर रुट लगायतका हवाई एजेण्डाकाे वार्तामा भारतले राखेकाे थियाे ‘काउन्टर एजेन्डा’
माघ ७, २०७३- भारतबाट आउने जहाज काठमाडौंमा रोकिनुपरे त्यसमा चढेर आउने गरेका हतियारधारी सुरक्षाकर्मी (एयर मार्सल) लाई बासको व्यवस्था गरिदिन भारत सरकारले आग्रह गरेको खुलासा भएको छ ।
भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीहरूको बैठकमा यस्तो आग्रह गरेको हो । हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँदिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागि उड्ने जेट एयरवेजमा आउने ‘इन–फ्लाइट सेक्युरिटी अफिसर’ (एयर मार्सल) लाई यदि रात्रि विश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाइ हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए ।
दुई मुलुकका अधिकारीले गरेको सैद्धान्तिक सम्झौतापत्रमा पनि उक्त विषयबारे उल्लेख गरिएको छ । ७ पृष्ठ लामो सम्झौतापत्रको ५ नम्बर बुँदामा भारतबाट काठमाडौं आउने जेट एयरवेजको विमानले राति काठमाडौंमै बास बस्नुपर्ने अवस्था आइपर्दा जहाजमा खटिएका एयर मार्सल विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था रहेको जनाइएको छ ।
यस विषयलाई लिएर बिहीबार संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई सोधेका थिए । बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली टोली वार्ताको एजेन्डामै नरहेको विषयलाई भारतीय अधिकारीले ‘काउन्टर एजेन्डा’ का रूपमा राखेपछि चकित परेको अनुभव सुनाए ।
‘एयर मार्सल पूर्वनिर्धारित सूचीमै थिएन, भारतीय अधिकारीले काउन्टर एजेन्डाका रूपमा एयर मार्सलको विषय राखेपछि अप्ठ्यारो अवस्था आइपर्यो,’ परराष्ट्र र कानुन मन्त्रालयका सरकारी अधिकारीसहित भारत पुगेका सहसचिव आचार्यले भने, ‘हामीले वार्ता विफल हुने र केही पनि उपलब्धि नहुने देखेपछि यो विषय उच्च राजनीतिक तहको भएको बताउँदै नेपालले हालै हवाई सुरक्षा नियमावली ल्याइसकेको र त्यस नियमावलीअनुसार प्रक्रिया थालेमा भारतीय चासो समाधान हुने बतायौं ।’
सहसचिव आचार्यले वार्तामा एयर मार्सल नभनी भारतीय पक्षले ‘इन–फ्लाइट सेक्युरिटी अफिसर’ भनेको बताए । तर यी दुवै भनेको एउटै हो । जहाजमा सादा पोसाकमा तैनाथ रहने यस्ता सुरक्षाकर्मीसँग हतियार पनि हुन्छ । जहाजभित्र अवाञ्छित तथा आतंक फैलिने गतिविधि हुन नदिन यी सजग रहन्छन् । कमर्सियल विमानमा उड्ने यस्ता सुरक्षाकर्मीलाई यात्रुले खुट्याउन सक्दैनन् । यिनले हतियार लुकाएको स्थान र बस्ने सिटबारे प्राय: जहाजको कमान्ड सम्हाल्ने क्याप्टेनलाई मात्रै जानकारी हुने गर्छ । यिनीहरू आफ्नो मुलुकबाट उडेपछि सामान्यत: विदेशी भूमिमा अवतरण गर्दैनन् ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीले हवाई मार्सलबारे पहिलोपटक नेपाली अधिकारीले लिखित सम्झौता गरेकामा आश्चर्य व्यक्त गरेका छन् । ‘नेपाली अधिकारीलाई हवाई मार्ग लगायतका विषयमा छलफल गर्ने मात्रै म्यान्डेट थियो, सूचीमै नभएको विषयमा लिखित सहमति देखेर चकित परेका छौं,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने । यो सम्झौताले भारतीय विमानमा एयर मार्सल आउने गरेको पुष्टि गरेको ती अधिकारीले बताए । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले ०७३ असोजयता कुनै पनि एयरलाइन्सले बास माग्ने वा अन्य सुविधाका लागि आवेदन नदिएको बताए । हालै मन्त्रिपरिषद्ले संशोधन गरेको हवाई सुरक्षा नियमावलीले नेपालले कुनै पनि मुलुकसँग पारस्परिक समझदारीमा कमर्सियल उडानमा सुरक्षाकर्मी राख्न सक्ने व्यवस्था गरेको छ । तर यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्छ ।
ekantipur




















