तस्विर: एनअारएन अष्ट्रेलियाको फेसबुकबाट ।
माघ ३, २०७३- अष्ट्रेलियाको गैरअवासीय नेपाली संघ (एनआरएन) ले पछिल्लो समयमा सामाजिक कार्यका लागि धेरै रकम संकलन गर्दै आएको छ । पाँच बर्षअघि शुरु भएको सामुदायिक सहायता कोषको स्थापनादेखि शुरु भएको यो क्रम अहिले विराटनगरमा बन्दै गरेको पाथीभरा श्रद्धाश्रमको निर्माणसम्म जारी छ । र यो क्रम अवश्य चलिरहने छ र चल्न पनि आवश्यक छ । तर, एनआरएनले अहिलेसम्म विस्तृत रुपमा उठाइएको रकमका बारेमा सार्वजनिक रुपमा खर्च विवरण अद्यावधिक र सार्वजनिक गर्न गरेको छैन ।
विश्वमा ७० वटाभन्दा बढी देशहरुमा स्थापना भइसकेको एनआरएन संस्थाहरुमा अष्ट्रेलियाको एनआरएन दरिलोमध्येको मानिन्छ । यसले ल्याउने सामाजिक कार्य र उठाइने रकमकै हिसाबमा पनि । तर किन एनआरएन अष्ट्रेलियाले आफुले संकलन गरेको रकम र यसको वास्तविक खर्च सार्वजनिक गर्दैन भन्ने बारेमा सामाजिक सञ्जालहरुमा प्रश्न समेत उठाइदै आएको छ । समाचारहरुमा लाखौं रुपैया संकलन भएको पढ्न पाइएपनि यी रकमहरुको बारेमा न यसको वेबसाईटमा अद्यावधिक रुपमा विस्तृत तथ्यांक र सूचना राखिएको छ न यसको आधिकारिक सामाजिक सञ्जालका पेजहरुमा नै विस्तृत जानकारी छ ।
‘हो, हामीले मान्नुपर्छ कि यस बारेमा बिस्तृत मेकानिजम बनाउन सकेका छैनौं’ एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल स्वीकार गर्छन् । खरेलकै अनुसार यसबारेमा काम भइरहेको भएपनि समय अनुसार सार्वजनिक गर्न नसकिएको मात्रै हो । जसको लागि आफुहरुले दीर्घकालिन रुपमा काम गरिरहेको दाबी गर्छन् । सन २०१२ मा अष्ट्रेलियामा रहेका नेपालीहरुलाई अप्ठयारो अवस्था सृजना भएको बेला सहयोग गर्न नेपालका पण्डित दीनानाथ पोखरेल ल्याएर महापुराण लगाइएको थियो । त्यसबेला १ करोड बढी रकम संकलन गरिएको भनिएपनि त्यसबारेमा समेत यथार्थ र विस्तृत जानकारी उपलब्ध छैन् ।
एनआरएन अष्ट्रेलियाले संकलन गरेको रकम अपारदर्शी छ भनेर कसैले पनि प्रश्न उठाउन सक्तैन् । सबैले स्वयंसेवकको रुपमा काम गरेको हुँदा यसमा कसैले नराम्रो काम गरेको छ भनेर मान्न कोही पनि तयार छैनन् र हुदैनन् । तर पनि, किन एनआरएनले सहयोग संकलन गर्ने समयमा सबैसँग सहयोग माग्ने तर सुचना सार्वजनिक पहुंचमा पुर्याउने सवालमा भने ढिलाई गर्ने ? अष्ट्रेलियाका ६ हजारबढी नेपालीहरु सदस्य रहेको यस संस्थाले नेपालको शिक्षा, स्वास्थ्यलगायतका सामाजिक कार्यहरुमा राम्रै सहयोग पुर्याइरहेको छ आपसी सहयोग मार्फत नै । यद्यपी कहाँ के गरियो, कति रकम खर्च भयो र कति रकमको कस्तो योजना बनिरहेको छ यसबारेमा ताजा सुचना र जानकारीको अभाव छ ।
पछिल्लो समयमा विराटनगर उपमहानगरपालिकासँग मिलेर २ करोड ६६ लाख लगानी गर्ने गरि ५० जनाको क्षमता भएको बृद्धाश्रम निर्माणमा एनआरएन अष्ट्रेलिया लागिपरेको छ । जसका लागि सिड्नी, मेलबर्न, पर्थ लगायतका शहरहरुमा सहयोग संकलन गर्ने उद्देश्यले गाला डिनरलगायतका कार्यक्रमहरु भइरहेका छन् र रकम संकलन भइरहेको छ । केहीदिनअघि मात्र पर्थमा २३ लाख रुपैया संकलन भएको जानकारी आएपनि उक्त रकमको बारेमा समेत एनआरएनको वेबसाईटमा अद्यावधिक जानकारी छैन् । ‘हो, सामाजिक कार्यका लागि भनेर हामीले संकलन गरेको सुचना चाहे जसरी सबैसँग पुर्याउन सकेका छैनौं’ पाथिभरा प्रोजेक्टका संयोजक रमेश पाण्डे सुनाउँछन । उनी यसलाई चुस्त र प्रभावकारी बनाउन काम गरिरहेको दाबी गर्छन् ।
एनआरएनका पदाधिकारीहरु सबैले स्वयंसेवा काम गर्ने भएकाले आफुहरुसँग सबै जानकारी भएपनि सबैलाई उपलब्ध गराउन नसकेको बताउँछन् । एकातिर विदेशको ब्यस्तता र अर्कोतिर सामाजिक कार्य नै पनि धेरै भएकाले यस कार्यमा आफुहरु लागि परेको उनीहरुको दाबी हो । विदेशमा रहेर पनि सामाजिक कार्य गर्न समय निकाल्नु र सामाजिक कार्यहरुलाई पुरा गर्नु अवश्य चुनौती भएपनि सामाजिक कार्य गर्छु भनेर निर्वाचित बनिसकेपछि समयमै आफ्नो संस्थाको जानकारीहरु सबैले सहज पाउने बनाउन सकियो भने संस्थाको गरिमा अझ उचो हुन्छ भन्नेमा दुबिधा छैन् । अर्कोतिर यसले अर्को पुस्ताका लागि समेत सही बाटो निर्देशित गर्नमा मद्दत पुर्याउँछ ।
ekantipur


