- पाँच महिनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, ५ सय बिरामी
पुस २९, २०७३- कैदीबन्दीलाई उपचारका लागि पर्याप्त बजेट नहुनु र सरकारी अस्पतालले समेत नि:शुल्क उपचार नगरिदिंदा बिरामी कैदीबन्दीको मृत्यु हुने क्रम रोकिन सकेको छैन ।
गुणस्तरीय उपचार हुन नसक्दा पछिल्लोपटक पुस ११ गते खोरी-७ महोत्तरी घर भएका बन्दी स्माइल नडाफको झुम्का कारगारामा मृत्यु भयो । उनीसहित यो आर्थिक वर्षको ५ महिनामा मृत्यु हुने कैदीबन्दीको संख्या ११ पुगेको छ । अर्थात ११ जना विरामी कैदीबन्दीको गुणस्तरिय उपचार नहुदा मृत्यू भएको हो ।
जबर्जस्ती करणी मुद्दामा १० वर्षको सजय काटिरहेका उनको मृत्युको कारण हृदयघात भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्यु प्रमाणपत्रमा लेखिदिएको छ । उनले कैद भुक्तान गर्न चार वर्ष बाँकी थियो ।
राज्यले सरकारी अस्पतालका जुनसुकै सेवा पनि कैदीबन्दीका लागि नि:शुल्क गरिदिए बिरामी कैदीबन्दीको मृत्यु रोकिने थियो भन्नेमा छन् झुम्का कारागारका जेलर गणेश अधिकारी । झुम्का कारागार क्षेत्रीय अवधारणामा विकास गरिएको कारागार हो । यहाँ अहिले पनि १ हजार ५ सय कैदीबन्दी रहेका छन् । जिल्लाहरुमा रहेका जिल्ला कारागार शाखाहरुले झुम्कामा उपचार हुन्छ बिरामीको भन्दै धमाधम जेल सारेर बिरामी कैदीबन्दी थोपरिदिएपछि झन् समस्या भएको छ ।
विभागले वर्षभरिका लागि १२ लाख रुपैयाँ औषधि उपचारका लागि भनेर झुम्का कारागारलाई पठाइदिने गरेको छ । जुन रकमले नियमित औषधि वितरण गर्न पनि अपुग हुने गरेको छ । कारागारमा कैदीबन्दीको उपचार गर्ने व्यवस्थित स्वास्थ्य चौकी वा एउटा छुटै कोठा पनि छैन ।
संविधानमा स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा उल्लेख गरिएको छ । तर सुनसरीको झुम्का कारागारमा रहेका कैदीबन्दीहरु गुणस्तरीय स्वास्थ्य सेवा नपाइनै मृत्युवरण गर्न बाध्य छन् । मंसिर २९ गते हरिवन १ सर्लाही घर भएका ज्यान मार्ने उद्योगमा बन्दी जीवन बिताइरहेका वर्ष ४५ का बम्बबहादुर सुनुवारको मृत्यु भयो । दम र जिउ सुनिने रोगबाट पीडित उनको उपचार इनरुवामा रहेको जिल्ला अस्पतालमा गरियो । सामान्य उपचारपछि कारागार ल्याइएका उनको मृत्यु भयो ।
गुणस्तरीय उपचार सेवा दिन सकेको भए उनी बाँच्न सक्ने कारागारका अहेव दिनेश घिमिरे बताउँछन् । कारागारमा बिरामी उपचार गर्ने, औषधि वितरण गर्ने छुट्टै क्लिनिक या कोठा छैन । कोही बिरामी भए पिकेटमा उपचार गर्नु पर्छ । कारागार ब्यवस्था ऐन २०१९ मा कारागारमा रहेका कैदीबन्दीको सम्पूर्ण उपचार जेलरले गर्ने ब्यवस्था छ । तर १५ सयभन्दा बढी कैदीबन्दी रहेको झुम्का कारागारमा वार्षिक रुपमा १२ लाख रुपैयाँ मात्र उपचारका लागि आउने गरेको छ । जुन सामान्य ज्वरो, रुघाखोकी, निमोनिया, जस्ता रोगको उपचारका लागि मात्र ठिक्क हुने गरेको जेलर गणेश अधिकारी बताउँछन् ।
रगतमा होमोग्लोविनको मात्रा अत्यन्त कम भएका कर्तब्य ज्यान मुद्दाका कैदी जयकिसन साहलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काठमाडौं उपचारका लागि लान रेफर गरिदियो । उनका आफन्त छैनन् । कारागारले विभागमा स्वीकृतिको लागि पत्र पठाएको एक महिनापछि मात्र उनी राजधानीको कारगारमा उपचारका लागि रेफर भए ।
कारागारमा अहिले १५ सय ३१ कैदीबन्दी छन् । तीमध्ये ५ सय बिरामी छन् । औषधि उपचार नै नपाएर मर्नु गम्भीर मानवअधिकारको उल्लंघनको घटना भएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झन्कर रावलले बताए । उनले भने कैदीबन्दीले बाँच्न पाउने अधिकार कुष्ठित हुनु भनेको संविधानको धारा १६ मा गरिएको बाँच्न पाउने अधिकारको प्रत्याभूतिको विरुद्ध हो । कारागारको अनुगमनपछि तत्काल राज्यले कैदी बन्दीको सम्मानजनक बाँच्न पाउने अधिकारको रक्षा गर्नका लागि कारागारलाई मानव अधिकारवादीहरुले दबाब दिएका छन् ।
आफन्त आएर उपचार गरे भने निको भएर फर्कन्छन् नत्र आफन्त पनि नहुने र नआउने कैदीबन्दीको उपचार नै नपाएर मर्नुपर्ने अवस्था रहेको अहेव दिनेश बताउँछन् । क्षेत्रीय कारागारका रुपमा विकास गरिएको झुम्का कारागारका प्रमुख गणेश अधिकारीले कैदीबन्दीलाई अस्पतालहरुले नि:शुल्क उपचार नगरिदिनाले झन् समस्या भएको बताउँछन् । मन्त्री परिषद्ले कारागारका कैदीबन्दीको उपचार सरकारी अस्पतालले नि:शुल्क गरिदिने प्रावधान बनाए कैदीबन्दीले उपचार नै नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन् ।
उनले यसका लागि विभाग मन्त्रालय सबैतिर पत्राचार गरिसकेका छन् तर कतैबाट सुनुवाई भएको छैन । अर्को समस्या मुलुकभरिका जेलहरुले बिरामी र सिकिस्तलाई झुम्का कारागारमा उपचार हुन्छ भन्दै जेल सरुवा गरेर पठाइदिन्छन् । मंसिर १२ गते राजविराज-४ घर भएका जबर्जस्ती करणी मुद्दाका कैदी राजु यादवको मृत्यु भयो । मंसिर १३ गते इन्द्रीस मियाको मृत्यु भयो । श्रीपुर-३ सुनसरीका ६५ वर्षका उनको मुखबाट रगत बान्ता हुन्थ्यो । के रोग लागेको थियो भन्ने पत्ता नलागिनै उनको मृत्यु भएको अहेव घिमिरेले बताए । उनी खुनीडाँका मुद्दामा जेल सजाय भोगिरहेका थिए ।
सिरहा रामनगर मिचैया वडा नं. ४ का ईश्वरचन्द्र शर्माको कात्तिक १ गते मृत्यु भयो । जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेका उनलाई बिरामी भएका बखत हेर्न समेत कोही आएनन् । बिरामी भएका बेला मात्र होइन मृत्यु पछि पनि शव बुझ्न कोही आएनन् । कारागार प्रशासनले इनरुवा नगरपालिकालाई जिम्मा दियो । नगरपालिकाले बेवारिसे शव भनेर सुनसरी खोलामा जलाइदियो । जलाउँदा लाग्ने खर्च कारागार प्रशासनले बेहोर्यो ।
त्यस्तै, कात्तिक ६ गते बिपीमा उपचारको क्रममा कमलबहादुर गुरुङको मृत्यु भयो । जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका संखुवासभा मत्स्यपोखरी वडा नं. ६ का ३५ वर्षीय गुरुङको छातीमा पानी जमेर उपचारका लागि एक साताअघि भर्ना गरिएको थियो । कारागार प्रशासनले धान्न सक्नेसम्म खर्च गरे पनि गुरुङका परिवारले उपचार गर्दा गदैं उनको मृत्यु भएको हो ।
असोज १० गते जबर्जस्ती करणीमा मुद्दा कैद सजाय भोगिरहेका धनबहादुर सार्की र असोज १६ गते विन्दुकुमार राई, असोज ३ गते हर्कबहादुर नेपाली, भदौं ६ गते सर्वजित राई, भदौ २७ गते रामसेवक सहनीको मृत्यु भएको थियो । मृत्युको रेकर्ड हेर्दा प्रत्येक महिना दुईदेखि तीनजानको मृत्यु भएको देखिन्छ । सबैको मृत्युको कारण राम्रो उपचार हुन नसक्नु नै रहेको छ ।
एउटै बिरामीको उपचारको बील लाखौं रुपैयाँ आउने भएकाले कारागार प्रशासनले धान्न सक्ने मात्र उपचार गर्ने गरेको जेलर अधिकारीले प्रष्ट्याए । अहिले कारगारमा मानसिक रोगी ६०, क्षयरोगी १५, एचआईभी/एड्स एक, हेपटाइटिस सी, ४, दमका ४०, छालाका ३ सय, हर्निया ५, पायल्य ५० र मुटु रोगी २० छन् । यस्तै, रुघाखोकी, निमोनिया, टाइफाइड, आउ, ब्रोनकाइटिस, छारेरोगका धेरै बिरामी छन् ।
बजेटले धान्न नसक्दा उपचारका अभावमा कसैको पनि ज्यान जानु हुँदैन भनेर जेल प्रशासनले कोही बिरामी हुनासाथ आफन्तलाई जानकारी गराउने गरेको छ । ‘जेल प्रशासनले धान्न सक्ने एक–दुईपटक अनिवार्य उपचार गर्ने गरेका छौं, त्यसपछि सम्भव नहुँदा आफन्तलाई सम्पर्क गर्ने गर्छौ,’ जेलर अधिकारीले भने । बिरामी सामान्य प्रकृतिका बिरामीका लागि भने एक जना अहेव खटाएर नियमित स्वास्थ्य चेकजाँच गरिने गरिएको छ । क्षेत्रीय कारागारमा ब्लक नं. १ र २ मा गरेर १ हजार ५ सय ३१ जना छन् । जसमा ब्लक नं. १ मा ७ सय ७८ र २ मा ७ सय ५७ छन् ।
ekantipur


