फाइल तस्बिर : कान्तिपुर
मोर्चाभित्र चुनाव चर्चा
पुस २९, २०७३- सरकारले माघ पहिलो साता स्थानीय चुनाव घोषणा गर्ने संकेत पाएपछि मधेसी मोर्चाभित्र यसको बहस सुरु भएको छ । एक साताअघि स्थानीय तह पुन:संरचना आयोग प्रतिवेदन बुझेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसैका आधारमा चुनाव घोषणा गर्ने गरी मोर्चा प्रतिनिधिलाई छनक दिएका छन् । दाहालले संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारे छलफल गर्न शुक्रबार बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको मोर्चा नेताहरूले बताए । ‘संशोधन विधेयक हाम्रो परिमार्जनसहित पारित नहुँदासम्म कुनै पनि निर्वाचन हुन सक्दैन भन्ने हाम्रो अडान यथावत् छ,’ संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘मोर्चाको यो अडान भोलि पनि प्रधानमन्त्रीसँगको बैठकमा राख्छौं ।’
तमलोपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारे छलफल हुने जानकारी दिए । ‘पुन:संरचना आयोगको प्रतिवेदनमा हाम्रो असहमति छ भनी यसअघि नै उहाँ (दाहाल) लाई भनिसकेका छौं, उहाँले हाम्रो फरक मत विचारणीय छ भन्नुभएको छ,’ ठाकुरले भने, ‘प्रदेशको मातहतमा स्थानीय तह, जनसंख्याको अनुपातमा क्षेत्र निर्धारण र निर्वाचनको मोडालिटीबारे हामी धारणा बनाउँछौं ।’
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले माघ पहिलो साताभित्र चुनाव घोषणा भइसक्ने बिहीबारै एक कार्यक्रममार्फत बताएका छन् । उनले जेठ दोस्रो साताभित्र चुनाव गर्ने गरी घोषणा हुन लागेको सरकारी तयारी खुलाए । स्रोतका अनुसार अनौपचारिक सूत्रमार्फत मोर्चा नेतालाई यसबारे जानकारी दिइसकिएको छ ।
ठाकुरले संशोधन विधेयकले निष्कर्ष पाएपछि तीनै तहको चुनावको स्वामित्व लिन सकिने बताएका छन् । अहिलेको संरचनामा जाँदा मधेसीको प्रतिनिधित्व कम हुन जाने भन्दै उनले सुरुमै ध्यानाकर्षण गराउन चाहेको बताए । ‘स्थानीय तहको निर्वाचन पनि संविधानसँगै जोडिएको विषय हो, किनकि स्थानीय तहका निर्वाचित प्रतिनिधि राष्ट्रपति चुनावमा समेत मत दिन पाउँछन्, हामी एकैपटक यी विषय सम्बोधन होस् भन्ने चाहन्छौं,’ ठाकुरले भने, ‘त्यसैले हाम्रो प्राथमिकतामा संशोधन विधेयक नै छ ।’
सरकारमा जाँदैनौं : फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा जाने चर्चा चलिरहेका बेला उच्च नेताहरूले भने त्यसको खण्डन गरेका छन् । प्रधानमन्त्रीनिकट स्रोतले गच्छदार उपप्रधानमन्त्रीसहित सञ्चार वा अरू कुनै मन्त्रालय पाउन सक्ने भनी दाबी गरेको भन्दै सञ्चार माध्यममा सार्वजनिक भए पनि पार्टी नेताहरूले त्यस्तो सम्भावना नै नरहेको जिकिर गरे ।
‘यो सरकार कति दिनसम्म हो भन्ने प्रस्ट छैन, यस्तो बुझीबुझी अन्तिम समयतिर किन जाने ?’ फोरम लोकतान्त्रिकका एक नेताले भने, ‘सरकार गठन गर्ने बेला हामीसँग प्रधानमन्त्री प्रचण्डले सोध्नुभएको थियो, तर शेरबहादुर देउवा अपमानित ढंगले प्रस्तुत भएपछि हामीले त्यसमा मतलब गरेनौं ।’
फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले पनि संविधान संशोधनलगायत विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने पार्टीको प्राथमिकता रहे पनि सत्तारोहणसँग त्यसको सम्बन्ध नभएको दाबी गरे । ‘हामी सरकारमा जाने भए सुरुमै जान्थ्यौं, यो बेला होइन,’ उनले भने । कसैले चर्चा गर्यो होला, तर पार्टी यो बेला आएर सरकारमा नजाने भन्नेमा प्रस्ट छ ।’
ekantipur



