डाँडो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर ल्याएको, पानी नपाउने पहरामा धुप बालेर पुजा गरेपछि पानी रसाएको जस्ता कहानी हजुरबुवाले आफ्ना समवयीहरुलाई बताउँदा मलाई एकादेशको कथा सुने जस्तो लाग्थ्यो । मेरो बाल मस्तिस्क कतिवेला डराउथ्यो कति वेला उत्साहित भएर हजुरवुवा सँगै भोट पुगेको कल्पनामा हराउँथें ।
त्यो वेला मेरो मस्तिष्कमा यो वाटो अफ्टेरो छ । जो सुकैले जाने आँट गर्नु व्यर्थ छ भन्ने खालको छाप परेको थियो । पछिल्लो समय ताक्लाकोट नाकाको सम्भावनाको बारेमा जिल्लामा खुबै चर्चा हुन थाल्यो । यो नेपालकै सबै भन्दा छोटो त्रिदेशीय नाका भएको र यहाँसम्म सडक पुर्याउनका लागि पहल गर्ने कुरा राजनीतिक दलको भाषणको एजेन्डा हुन थाल्यो । पत्रकार भएको नाताले यस्ता समाचारहरु म पनि पटक पटक लेखिरहन्थे । यो नाकाको विषयमा जानकारी समेटिएका सामाग्रीहरु अध्ययन पनि गर्थे ।
मनमा लागि रहन्थ्यो एक पटक आफु नै त्यहाँ पुग्न पाए । यहाँको बास्तविकता बुझ्न र लेख्न सजिलो हुने थियो भन्ने सोच्थे । तर, हजुरबुवाले भनेको यात्रा वृतान्त सम्झिंदा एक्लै यो यात्रा गर्ने आँटै आउँदैनथ्यो । दुई वर्षदेखि म त्यहाँ जाने साथीको खोजीमा थिएँ । मन मिल्ने र उद्देश्य मिल्ने धेरै साथीहरुलाई मैले त्यहाँ जानका लागि प्रस्ताव गरें । तर, कसैले पनि आँट जुटाएन । एक त जोखिम पूर्ण यात्रा अर्को खर्चको समस्या देखाएर सबैले टार्ने गर्थे ।
गत भदौ पहिलो सातातिर हुनु पर्छ । काँडा गाविसका सचिव धनबहादुर घर्तीले नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव किशोर खड्का र आफु भदौ २० गते त्यहाँ जान लागेको कुरा बताए । मलाई ढुङ्गो खोज्दा देउता भेटे जस्तो भयो । मैले पनि उहाँहरु संग जाने इच्छा व्यक्त गरे । धनबहादुरजीले तपाई पनि जांदा त राम्रै हुन्छ भन्ने आसय व्यक्त गरे पछि मैले हतारहतारमा त्यहाँ जानुको उदेश्य र सम्भावित समाचारको बारेमा कान्तिपुर क्षेत्रिय व्यूरो संयोजक चित्राङ थापा र जिल्ला व्यूरो संयोजक गंगा विसीलाई लिखित जानकारी गराएँ ।
केही दिनमा नै गंगा सरबाट मलाई त्यहाँ जाने स्विकृती मिल्यो । खर्च र न्यानो लुगाफाटोको जोरजाम भयो । स्थानीय पत्रकार उत्तम रोकायाले पनि हामीसंगै जाने इच्छा व्यक्त गरे । अन्तत भदौ २० गते हामी चैनपुरबाट ताक्लाकोटको लागि भण्डै २० दिन लामो पैदल यात्रामा निस्कियौं ।
मनमा एकखालको उत्साह थियो । अर्कोतिर अलि अलि डर पनि लागेको थियो । किनभने गत वर्ष मात्र मेरै गाउँका ४ जनाको साँघु बनाएर सेती नदी तर्ने क्रममा नदीमा खसेर ज्यान गएको थियो । कतिपय यो बाटो हिड्ने क्रममा विरामी परेर, लडेर, हावाले उडाएर, चिसोले कठ्याङ्ग्रिएर मरेका खवरहरु पनि आइरहन्थे ।मैले मन बलियो बनाएँ । किनकी यो बाटोमा अहिलेसम्म पत्रकार हिंडेको छैन । त्यहाँ पुग्न सकियो भने नयाँ विषयहरु समाचारका लागि आउन सक्छन् । नेपाल कै ठुलो क्षेत्रफल भएको कांडा गाविस र त्यहांको जनजीवन बुझ्ने मौका, चैनपुर ताक्लाकोट सडकसंग जोडिएका सवालहरु, परम्परागत भोट संस्कृति र यसमा समयअनुकुल हुँदै गएको फेरबदल यस्तै विषय मनमा खेल्न थाले । मन मिल्ने साथीहरुसंगको संगतले पनि मेरो आंट बलियो भएको थियो ।
मैले बाटोमा भेटिएका मान्छेसंग कुराकानी गर्दै जानुपर्ने भएकोले हिडाईमा केही ढिला हुन सक्ने कुरामा साथीहरुलाई सहमत गराई सकेको थिएँ । टोपी खस्ने ठाडै उकालो, हेर्दै कहाली लाग्ने ओरालोहरु, निर्जन जंगलको बाटो छिचोल्दै हामी रस्याको लेक नाध्दै थियौं । लेक काटेर केही तल पुगि सकेपछि हामी नजिकैबाट चितुवाले बाटो काट्यो । आँखै अगाडी चितुवा देख्न पाउदा मलाई खुशी लागेको थियो । एक्लै भएको भए डर लाग्थ्यो होला सायद । चितुवा हामीले जानु पर्ने ठाँउतिर गैरहेको थियो । हामी सबै जना उ भागोस भनेर जोडजोडले करायौं । यात्रामा बाघले बाटो काट्नु शुभ संकेत भएको कुरा र ठट्टा गर्दै हामी अगाडी बढ्यौ ।
पछिल्लो दिन बिहान हामी कांडा गाविसको कार्यालय रहेको ठाउँमा थियौं । हामी आएको थाहा पाएर स्थानीयहरु पनि हामीसँग छलफलको लागि त्यहाँ उपस्थित थिए । उनीहरुले कांडामा भएका नुन र चामलको मंहगीको कुरा सुनाए । बझाङ जिल्लालाई सरकारले ढुवानी अनुदान दिएको भए पनि आफुहरु त्यो सुविधाबाट सधैं बञ्चित हुँदै आएको गुनासो पोखे । कांडालाई छुट्टै गाउँपालिका बनाउन, यहाँको शिक्षा, स्वास्थ्य, लगायतका समस्या समाधानको लागि आवाज उठाइदिन संचार माध्यमको सहयोग मागे । त्यहां लामो छलफल पछि हामीले यात्रालाई निरन्तरता दियौं ।
त्यहाँबाट हामी धुली बास बस्यौं । यो यस क्षेत्रको अन्तिम मानवबस्ती हो । धुली पुगिसके पछि एक जना अगाडीको बाटोको बारेमा राम्रो जानकारी भएको र तिब्बती भाषा जान्ने सहयोगीसंगै लैजान पाए हुन्थ्यो भन्ने प्रस्ताव साथीहरुसंग राखे । किशोरजीहरुले त्यस्तो मान्छे खोज्नुस् खर्च हामी व्यर्होछौ भने पछि मैले मेरा धुलीका मित्र राम बोहोरालाई हामीसंग गैदिन अनुरोध गरें । उनी आफु जान नसक्ने तर आफ्नो भाइ लालसिंह बोहरालाई हामीसंग पठाइ दिने भए ।
भारी बढी हुने भएकोले हामीले केही मैला लुगा र अनावश्यक सामानहरु धुलीमै छोडेर पाँचौ दिनको यात्रा सुरु गर्यौं । जताततै अग्गा अग्ला पहाड, आखै अगाडी देखिने हिमालहरु, सम्म परेका हिमाली मैदानहरु, चौरमा चरिरहेका धुल्यालका चौरी, घोडा र भेडाका बथानहरु हेर्दै निरन्तर अगाडी बढ्यौ । उकालो ओरालोबाटो, तल हेर्दै रिङटा लाग्ने नदिमा पिङ जस्तै हल्लिने काठे साँघु घुंडा टेकेर भए पनि तऱ्यौं ।
हिड्दा हिड्दा थकाइले लखतरान भइन्थ्यो । सुन्दर हिमाली दृष्यहरु र सेती नदीको प्रबाहलाई पछ्याउदै उत्तरबाट दक्षिण तिर बगिरहेको चिसो हावाले केही छिन मै थकान विर्साइ दिन्थ्यो । बाटोका मन्दिरहरुमा कैलास मानसरोवर जाने यात्रीहरुले चढाएका स–साना घण्टाहरुलाई हावाको झोकाले छुदा निस्कने आवाजले दिब्य शक्ति प्राप्त भएको आनन्द महसुस हुन्थ्यो । निर्जन ठाउँमा पनि यस्ता कुराले थप अगाडी बढ्नका लागी आत्मविश्वास बलियो बनाइ दिए जस्तो लाग्थ्यो । हामी पनि बाटोका मन्दिरहरुमा धुपबालेर हात जोड्थ्यौं । लांगा देवताले बेदलाई ढुङ्गो बनाएको भनिएको पुस्तके ढुङ्गो, सर्पलाई ढुङ्गो बनाएको, विष कुण्ड खोलेर झरना बनाएको, पहरा फोरेर बनाएको बाटो, सुन भर्ने ओखल आदी चमत्कारहरु हेर्ने उत्सुकताले हामीलाई बाटो काट्न सजिलो बनाएको थियो ।
सातौं दिन विहान हामी खोपा भन्ने ठाँउमा झण्डै ४२ सय मिटरको उचाइमा रहेको अस्थायी होटलमा थियौं । आज सेतीको मुहान छिचोल्नु थियो । समुन्द्र सतहदेखि ५२ सय २० मिटरको उचाइमा रहेको उरै लेक नाध्नु थियो । छ दिन देखिको निरन्तर हिडाईले हुन सक्छ । खुट्टा दुखिरहेका थिए । त्यहां भन्दामाथि कुनै होटलहरु थिएनन् । होटल भेटाउन हामीले सांझसम्म हिड्नु पर्ने थियो । त्यहीको होटलवाला दिदीलाई हामीले बाटोको लागि केही रोटी पकाई माग्यौ । घरबाट लेक लाग्दा काम लाग्छ भनेर किशोरजीको आमाले पोको पारिदिएको खुर्सानी र दाडिमको चुकको अचार साथमै थियो । पानी तताएर थर्मसमा हाल्यौं । विहानको खानाको लागि ६/७ वटा रोटी पोको पारेर चिया खाएर हामी अघि बढ्यौं ।
हाम्रो टोली जति अगाडी बढ्थ्यो हिडाईको गति झन झन घट्तै जान थाल्यो । सबै भन्दा असजिलो मलाई भैरहेको थियो । अरु साथीहरु पहिला पनि यस्तै उचाईको यात्रा अनुभव गरिसकेका हुनाले मलाई जति गाह्रो भएको थिएन । मैले भने ८/१० पाइला हिडे पछि रोकिनु पर्ने अवस्था आउँथ्यो । मलाई हिडेको भन्दा पनि घिस्रे जस्तो लाग्थ्यो ।
बोट विरुवाको नामो निसान थिएन । जता ततै ढुङ्गा र विभिन्न रंगका पहाडहरु मात्र देखिन्थे । राक्सियो हिमाल आँखै अगाडी थियो । भदौको महिना भए पनि जाडो असाध्य थियो । डाउन ज्याकेटको टोपीले कान छोप्ने लगाए पनि हिमाली सिरेटोले अनुहारको छालामा छुँदा बरफले हाने जस्तो पीडा हुन्थ्यो ।
सिल्थाम भन्ने ठाँउमा दिउँसो ११ वजे तिर हामी रोटी खानका लागि विसायौं । मलाई भने पटक्कै भोक लागेको थिएन । साथीहरुले कर गरे पछि तातोपानी हालेर खाने चिनियाँ चाउचाउ खान सहमत भएँ । एक दुई चम्चा मुखमा हाले पछि बान्ता आउला जस्तो भयो मैले चाउचाउ त्यतिकै छोडिदिएँ । साथीहरुले रोटी खाए । केही बेर विसाएर यात्रा फेरी सुरु भयो ।
चीनबाट मदिरा, जुत्ता र लक्ताकपडा ल्याएर आएका भेडाका बथानहरु र चिनियाँ ह्याट (टोपी) लगाएका भेडी गोठालाहरुको लस्कर राक्सियो हिमालको फेदी भएर तल झरिरहेका दृष्यहरु कुनै पोष्टर हेरे जस्तो लाग्थ्यो । हिमालको नजिकैबाट झरेका दुध जस्ता हिमनदीहरुको कलकल आवाज र एकहोरो हावाको सुसाहट अनि बोट बृक्ष रहित अन्नत क्षितिज लक्षित यात्रा कुनै अर्कै संसारमा प्रवेश गरेको भान हुन्थ्यो ।
अल्टीमिटरमा उचाइ देखाउने डिजीट ४५ सयबाट ४७ सयको हाराहारीमा पुगेको थियो । हामी भल्या भन्ने ठाँउबाट अगाडी बढ्दै थियौं । मेरा खुट्टा करिब करिब निस्क्रिय भैसकेका थिए । सायद लेक लागेको हुनुपर्छ लगातार ३/४ पाइला पनि हिड्न हम्मे हम्मे भैरहेको थियो । उत्तम भाइको झोलाबाट एउटा खुर्सानी निकालेर सिंगै चपाएँ । असाध्यै पिरो खुर्सानी पनि सामान्य जस्तै लाग्यो । खुसार्नी खाए पछि केही आराम महसुस भयो ।
आराम गर्न बस्दा केही नभए जस्तो हुने हिड्ने कुरा सोच्दा पनि पुरै जीउ लल्याकलुलुक हुने अवस्था आइलाग्यो । घिस्रेर भए पनि हिडिरहेको थिएँ । उरै भञ्ज्याङ भन्दा केही मिटर तल पुग्दा मेरो होस आधा गुमिसकेको थियो । अर्धवेहोस अवस्थामा पत्रकार उत्तम भाइ र सहयोगी लालसिंहले मेरा दुई हात समातेर करिब १ घण्टाको बाटो झुण्ड्याएरै ५२ सय २० मिटरको उरैको टुप्पोमा पुऱ्याए । अरु साथीहरु अघि नै पुगेर हामीलाई कुरीरहेका रहेछन । उरै कटेर केहिवेर चीन तिरको भुभागमा ओरालो हिडेपछि मलाई सहज महसुस भयो । त्यहाँ बाट झण्डै ५ घण्टा हिडे पछि राति तिब्बतको तिज्म भन्ने ठाउँमा अस्थायी होटल भेटियो । म खाना नखाएरै सुतें । ज्यान पुरै गलेको भएपनि भोकको भने नामनिसान थिएन । भोली पल्ट करिब ८ घण्टा हिडे पछि ताक्लाकोट जाने गाडी पाइने ठाउँसम्म पुगियो । गाडी भेटे पछि खुसीको सिमा नै रहेन ।
तस्विर: बसन्तप्रकाश सिंह/कान्तिपुर ।
ekantipur



