गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको शहिदलखन विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भोटेकोशी र त्रिशूलीको बाढीका कारण शहिदलखन गाउँपालिका गम्भीर सङ्कटमा परेको जानकारी दिएका हुन् ।
सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका केही पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बुर्लाकोटीले बाढीबाट चितवनको इच्छाकामना गाउँपालिकालाई समेत प्रभावित पारेकाेले ती दुवै पालिकालाई पनि सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्नुपर्ने बताए ।
यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट उचित सम्बोधन गर्न सकिने उनले उल्लेख गरे ।
उनले भने, ‘बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ, नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारिपारि पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो ।’
सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
त्यस्तै धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।



