राम्रो काठका भवनहरु हजार वर्ष टिक्न सक्ने
हरित शहर निर्माणको उत्तम विकल्प काठलाई लिइन्छ । काठ हलुका र दिगो मात्र होइन, आम धारणा विपरीत स्टिलभन्दा बढ्दा आगो सहने गुण अर्थात् अग्नि प्रतिरोधी क्षमताले युक्त हुने विज्ञहरुको भनाइ छ ।
पछिल्लो समयमा विश्वका सहरहरुमा काठका भवनहरु निर्माण एउटा नयाँ ट्रेण्डकैै रुपमा स्थापित हुँदै गएको छ । र, यही मेलोमा स्वीडेनको स्केलेफ्टी सहरमा काठको १९ तले गगनचुम्बी भवन निर्माण गरिँदैछ ।
स्वीडेनको उक्त सहरमा सांस्कृतिक केन्द्र तथा होटेल निर्माणको डिजाइनका लागि आह्वान गरिएको प्रतिस्पर्धामा ह्वाइट आर्किटेक्चर नामक कम्पनीले तयार पारेको डिजाइन छनोट भएको हो ।

उक्त गगनचुम्बी काठे भवनको नाम ‘सिडा भिड सिडा’ राखिएको छ । जसको अर्थ ‘नजिक नजिक’ भन्ने हुन्छ । यो भवनको डिजाइनले स्थानीय काठ उद्योगलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ ।
यो भवन निर्माण सम्पन्न भएसँगै नोर्डिक देशहरुको सबैभन्दा अग्लो काठे भवनको कीर्तिमान कायम हुने बताइएको छ ।
डढेलोझैँ फैलिँदै काठे महलहरु
पछिल्लो पाँच वर्षयता बनेका वा बन्ने योजनामा रहेका काठका भवनहरुले आर्किटेक्चरको दुनियाँलाई काबुमा लिएका छन् ।
सन् २०१२ मा अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरिया हार्वर नजिकै १० तले १०४ फीट अग्लो काठको आवासीय भवन निर्माण गरियो ।

सन् २०१४मा नर्वेको सेन्ट्रल बर्गेनस्थित दी टि्रट भवन निर्माण हुनुअघि त्यो विश्वको सबैभन्दा अग्लो काठे भवनको रुपमा थियो ।
गत वर्ष बेलायतको लण्डनमा १०९ फिट अग्लो काठे भवन ठडियो । क्यानडामा टल उड बिल्डिङको नामबाट गगनचुम्बी महल ठडिँदैछ, जसले युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका विद्यार्थीलाई अध्ययनको राम्रो अवसर प्रदान गर्नेछ ।
१७४ फिट अग्लो तथा १८ तलाको सो काठे भवन विश्वको सबैभन्दा अग्लो काठे भवन हुने पक्का थियो तर बेलायतको क्याम्बि्रज विश्वविद्यालयले सोभन्दा पनि अग्लो ओकउड टावरको निर्माण गर्ने योजना अघि सारेको छ ।

लण्डनमा ठडिने उक्त ८० तले भवन काठको निर्माण सामाग्री प्रयोगमा नयाँ मानक हुनेछ भने विश्वकै अग्लो काठे संरचना बन्नेछ । १ हजार फिट अग्लो यो काठे गगनचुम्बी भवनलाई लण्डनमा केवल दी शार्ड भवनले मात्र माथ दिन सक्नेछ ।
आगलागीको जोखिम कति ?

यसरी एकपछि अर्को गर्दै काठका गगनचुम्बी भवनहरु ठडिँदै जाँदा त्यसले आगलागीको जोखिम बढाउने डर कतिपयमा छ । तर, विज्ञहरुका अनुसार ओकउड टावर जस्ता काठे भवनहरु आगलागीको प्रकोपका दृष्टिले स्टिल र कंक्रिट बिल्डिङभन्दा सुरक्षित छन् । मानिसले सोचेजस्तो सजिलोसँग तथा छिटै काठ नजल्ने विज्ञ बताउँछन् ।
मनोवैज्ञानिक प्रभाव

मनोविज्ञहरुका अनुसार काठका आवासीय भवनहरुले मानिसमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्दछ ।
काठका घरभित्र बस्दा मानिसले मनोरञ्जनात्मक अनुभव गर्दछ । सन् २००९ मा अस्ट्रेलियामा गरिएको एक अध्ययनले काठका कक्षा कोठाभित्र बसेर पढ्ने विद्यार्थीहरुले कंक्रिट तथा ईंटाका भित्ता भएको कक्षाकोठाभित्र बसेर पढ्ने विद्यार्थीहरुले भन्दा पढाइमा राम्रो प्रगति गर्ने गरेको देखाएको थियो ।
वन मासिने चिन्ता

काठका भवनहरुको निर्माण बढ्दै जाँदा विश्वमा वन विनाश बढ्ने चिन्ता पनि थपिएको छ । विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा हरेक वर्ष ५८ हजार वर्ग माइल जंगल विनाश हुन्छ । अर्थात् हरेक एक मिनेटमा ४८ वटा फुटबल मैदान जत्तिको क्षेत्रफलको जंगल सखाप हुने गरेको छ ।
तर, ओकउड टावरजस्ता गगनचुम्बी भवनहरु सेतो काठबाट बन्नेछन् । यस्तो काठ उत्पादन गर्ने रुखहरु काठ उत्पादनकै लागि रोपिन्छ र रोपेको ४० वर्षपछि उक्त रुख काठ उत्पादनका लागि काटिन्छ ।

विश्वमा कागजको प्रयोग घट्दै जाँदा कागज उत्पादनका लागि रुखको कटानी घटिरहेको छ र रुसजस्ता देशमा वनक्षेत्र बढिरहेको छ । अर्कोतर्फ कंक्रिट तथा स्टिलजस्ता निर्माण सामाग्री प्रयोगभन्दा काठको प्रयोग बढी दिगो हुने विज्ञहरुको मत छ । काठ कंक्रिटभन्दा चार गुणा हलुका हुने भएकाले कंक्रिटको ओसार-पसारमा कम उर्जा खपत हुन्छ । साथै काठका घर बनाउन कंक्रिट तथा स्टिलका संरचना तयार गर्नभन्दा कम आर्थिक तथा उर्जा खपत हुने भएकाले यसको सकारात्मक प्रभाव पर्दछ ।
मक्किएला कि ?

लण्डनको वेस्ट मिनिष्टर हलको टुडर टिम्बर आर्चेजदेखि बेइजिंगको फोर्बिडन सिटी भवनजस्ता विश्वका सबैभन्दा चर्चित तथा सुन्दर भवनहरु काठबाटै बनेका छन् । निर्माणको सयौँ वर्ष भैसक्दा पनि यी भवनका काठ मक्किएका छैनन् । मज्जाले छिप्पिएको तथा निर्माणमा प्रयोग गरिने सुकाठको आयु हजार वर्षसम्म पनि रहन्छ । नियमित रुपमा रेखदेख तथा पानीबाट बचाउने हो भने काठ मक्किने जोखिम हुँदैन ।



सीएनएनको सहयोगमा




















