कैलासबावु श्रेष्ठ/गोरखा
असोज २३ गते । नेपालीहरुको महान पर्व बडा दसैँको आठौं दिन आज अर्थात आश्विन शुक्ल अष्टमीका दिन आइतबार महाष्टमी पर्व देशै भरी दुर्गा भवानीको बिशेष पूजा आरधना गरी मनाउँदै छन् ।
आजको दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरधाना गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्र सम्मत रुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।
आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।यो दिन कलपुर्जा, हातहतियार र सवारीसाधनलाई विशेषरुपमा सरसफाइ गरी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ ।
पशुबलि नचढाउनेले भने आजपूजा कोठामा काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
यसै बिच आज गोरखाको गोरखकाली, मनकामना तथा विभिन्न कोटमा रहेको मन्दिरहरुमा कालरात्रीको पुजा गरी विभिन्न खालको पशुको बलि दिने प्रचलन रही आएको छ ।



