कैलासबावु श्रेष्ठ/गोरखा
असोज १३ गते । हिन्दुहरुको महान चाढ नजिकीदै गर्दा चोरी र दुरघटना बढेको भन्दै गोरखामा प्रहरी संगठनले सुरक्षामा कुनै पनि कन्जुस्याई र हेलचक्राई नगर्न अनुरोध गरेको छ ।
बढा दशै आउन साता दिन पनि बाँकी नहुदाँ जिल्ला प्रहरी कार्यालय गोरखाले सर्व साधारणहरुलाई लक्षित गरी सूचना जारी गर्दै चाडपर्वका बेला मानिसको आवतजावत धेरै हुने ठाउं, सवारी साधन, बैंक, वित्तीय संस्था र दैनिक उपभोग्य सामाग्रीका पसलहरुमा आउंदा जांदा बिशेष ख्याल गर्नु अनुरोध गर्दै आफ्नो सामानको सुरक्षामा कन्जुस्याई र हेलचक्राई नगर्नुहोस् समेत प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।
प्रहरीले घर, पसल र व्यापारिक केन्द्रको ढोका राम्रोसंग बन्द गर्न, घर बाहिर हिंड्दा झोलाको चेन राम्रोसंग लगाउन, हतार नगरी आलोपालो सेवा लिन, बहुमुल्य सामान र पैसा बोकेर एक्लै नहिंड्न समेत भनेको छ। 
प्रहरीको सूचनामा भनीएको छ तपाई जाने ठाउंको सवारी साधन भेट्नु भएन वा टिकट कहां पाईन्छ वा बैंक कता छ ? यस्ता बिबिध समस्याहरुले तपाई अलमलमा पर्नु भएमा ड्युटीमा खटिएका प्रहरीलाई सम्पर्क गर्न वा भनेको छ । प्रहरी जनताको सेवाको लागी नै बसेको भन्दै नडराई र नहिच्किचाई सेवा लिन समेत प्रहरीले सूचनामा भनेको छ ।
त्यस्तै गरी सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखी यात्रा नगराउन र सर्व साधारणहरुलाई त्यस्तो यात्रा नगर्न भन्दै प्रहरीले समस्याको बेला सहयोग गर्नु मानवीय धर्म हो भन्दै निजी सवारी साधनमा यात्रा गर्ने जो कोहीले पनि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याई सहयोग गर्न समेत आग्रह गरीएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले जारी गरेको सूचनामा जो सुकैलाई पनि जस्तो सुकै समस्या परेमा जिल्ला प्रहरी कार्यालय गोरखाको हटलाईन फोन नं.१०० र ९८५६०९०२५५ मा सम्पर्क गरी सेवा लिन समेत भनेको छ ।
यसै बिच जिल्ला प्रहरी कार्यालय परिवारले नजिकीदै गरेको चाडपर्व सभ्य र भव्य रुपमा मनाउन आग्रह गर्दै सबै नेपालीहरुलाई बिजयादशमी, शुभ दिवावली र छठ पर्वको अवसरमा सु–स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना समेत गरेको छ ।



