आश्विन ४, २०७३- नेपालबाट दीपक लामिछानेलाई दिनहुँ जसो श्रीमतिले फोन गरेर सोधि रहन्छिन्, ‘तपाईंको मुद्दा के भयो ?’
दीपकले जेलभित्रको रमाउन सिकिसके । हरेक दिनजसो आउने नेपालीको कथा ब्यथा सुन्दै र आफ्नो पनि सुनाउादै दिन कटाइरहेका छन् । यता काठमाडौंमा बस्ने उनकी श्रीमतीलाई एउटै कुराले पिरलो बनाइरहेको छ, ‘श्रीमान् किन जेलबाट छुटेन ।’
यसको ठोस जवाफ दिन सक्ने पक्षमा दीपक छैनन् । परिवारलाई सम्झाउदै भन्ने गरेका छन्, ‘खास के भइरहेको छ भन्ने मलाई पनि थाहा छैन् ।’
दीपकलाई कतारको सनैयास्थित खोज तथा अनुसन्धान बिभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट) को कोठा नम्बर ६ मा राखिएको छ । अल्फजा (प्रहरी) ले गैरकानुनी काम गर्ने, भिसा नलागेका, बस्नका लागि नवीकरण नभएका, कम्पनी छाडेर काम गर्दै आएका आप्रबासीलाई पक्राउ गर्ने, मुद्दा लागेको छानबिन गरी आवश्यक प्रक्रिया पुरा गरेपछि स्वदेश पठाउनु पर्नेलाई उक्त स्थानमा राख्ने गर्छ ।
दीपकलाई पनि नेपाल डिपोर्ट गर्न अगस्ट १६ गते नियन्त्रणमा लिई ६ नम्बर कोठामा राखिएको थियो । नेपाल पठाउने निश्चित भएका ब्यक्तिलाई मात्रै यो कोठामा राख्ने गरिन्छ । तर, दिपकको मुद्दा अरु भन्दा अलि भिन्न छ । अष्ट्ेरलियाको आवासीय अनुमति (पिआर) पाएकी दिपा राईको नामबाट दीपकबिरुद्ध उजुरी परेको थियो । उजुरीमा दीपकले आफुमाथि मानहानी हुने गरी फेसबुकमा कमेन्ट तथा सन्देश पठाएको उल्लेख छ ।
‘दीपाको नामबाट हालिएको उजुरी मलाई देखाउादै प्रहरीले किन दीपा राईलाई फेसबुकमा अपहेलना हुने गरी लेखेको भनेर सोध्यो ?’, दीपकले फोनमा भने, ‘कतारमा बसेर राजनीति गर्छ भनेर पनि उजुरी परेको रहेछ ।’ दीपाले आफूले उजुरबाजुर केही नगरेको दावी गर्दै आएकी छन् ।
दीपकले भने फेसबुकमा दीपाले नेपालको प्रधानमन्त्रीमाथि अनावश्यक टिप्पणी गरे पछि आफूले त्यसउपर आफ्नो तर्क राखेको वयान दिएका थिए । त्यसमा प्रहरी चित्ता बुझाएन । डिपोर्ट गर्न औठा छाप (फिंगरीङ) लियो । कम्पनीलाई उसले पाउने हिसाब र टिकट लिएर उपस्थित हुन निर्देशन दियो । कम्पनी पनि हिसाब किताब र टिकट लिएर डिर्पोटेशन सेन्टरमा उपस्थिति भयो ।
उनलाई डिपोर्ट हुने पक्कापक्की भएपछि नेपाली दुतावासले आफ्नो ध्यानकर्षण जनाए । दुताबासले एउटा सामान्य कामदारलाई डिपोर्ट गर्न नमिल्ने भन्दै कतारको परराष्ट्र मन्त्रालयलाई पत्रचार गरे । यो केश अदालतमा पुगेको भनिएको छ ।
‘अदालतमा डिपोर्ट गर्न नहुने भन्दै माग गर्दै मुद्दा दायर गरेको भनिएको छ । मलाई कसैले पनि स्पष्ट भनेको छैन् । एकदिन दुतावासबाट सरहरु आउनुभएको थियो । मेरो बयान लिएर जानुभयो’, उनले भने, ‘मलाई एकपटक पनि अदालत लगिएको छैन् । जानु पर्छ भनिएको पनि छैन् । म यही कोठाभित्र छु ।’
उनका साथीहरु दुतावासमा बुझ्न गइरहेका छन् । दुतावासले छिट्टै समस्या समाधान हुने प्रक्रियामा रहेको मात्रै बताइरहेको छ । ‘म त नेपाल जान तयार भएर बसेको मान्छे हो’, दीपकले भने, ‘कि मलाई स्पष्ट भनिदिनु पर्यो । कि नेपाल पटाइदिनु पर्यो । अनावश्यक रुपमा भित्र बस्नुपरेको छ । अदालतमा मुद्दा चलिरहेको हो भने दुतावासले जिम्मेवारी लिएर मलाई बाहिर निकाल्न सक्ने अबस्था छ । यो गरिदिए बाहिर निस्केर सामान्य जीवन बिताउन सकिन्थ्यो ।’
अरबी भाषामा दख्खल दीपक जेलभित्र रहेका नेपालीलाई घरफिर्ने प्रक्रियामा सहजीकरण गर्न ब्यस्त छन् । ‘प्रहरीले नेपालीको इन्जार्ज बनाइदिएको छ । फिंगरीङमा पठाउने, अरबी भाषामा दोभाषेको काम गर्ने, मेडिकलमा लैजाने र घर जाने दिनको सूचना दिने काम हुँदोरहेछ,’ उनले भने, ‘म जेलभित्र परेपछि मात्रै ५ सय भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् ।’
त्यस्ता डिपोर्ट भएर जानेमा अधिकांश मदिरा सेवनमा परेका छन् । ‘नेपालीको बिजोग जेलभित्र पुगेपछि मात्रै थाहा हुादोरहेछ’, उनले भने, ‘धेरै निर्दोष नेपाली डिपोर्टको शिकार भइरहेको प्रत्यक्ष साक्षी बनेर हेरिरहेको छु ।
ekantipur



