सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही माग गर्दै आन्दोलनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।
वीर अस्पतालमा नै आमरण अनशनमा रहेकी गंगामायाले एक महिनादेखि औषधि र स्लाइनसमेत लिएकी थिइनन् । उनले मंगलबार राति अनशन तोडेकी हुन् ।
२०६१ सालमा मारिएका छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गंगामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन् । असोज २ मा चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैं गंगामायाको बयान लिन आउँदै छन् ।
बयान दिनका लागि बोल्न सक्ने अवस्थामा हुनुपर्ने भएकाले कानुन व्यवसायीको आग्रहमा उनी अनशन तोड्न राजी भएकी हुन् । मानव अधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतले प्रशासनिक प्रमुखलाई गंगामायाको बयान लिन पठाउन लागेको हो ।
ekantipur



