भाद्र ७, २०७३- काठमाडौं महानगरपालिकाले अघि सारेको एकीकृत सम्पदा मार्गको योजना अघि बढ्न सकेको छैन । उपत्यकाका सम्पदालाई एउटै ‘नेटवर्क’ मा जोड्ने महानगरले ३ वर्षपहिले यस्तो योजना अघि सारेको हो । महानगरका अनुसार दुवाकोट गाविसले जग्गा उपलब्ध नगराएपछि योजना अघि बढ्न नसकेको हो । ‘महानगरले प्रस्ताव राखेको थियो,’ महानगर राजस्व महाशाखा प्रमुख ध्रुव काफ्ले भन्छन्, ‘तर सबैले सहमति नजनाएकाले योजना रोकियो ।’
उपत्यकाका सातवटै विश्व सम्पदा र अरू सम्पदा समेट्ने गरी मार्ग खोल्ने योजना थियो । वसन्तपुर दरबार क्षेत्रबाट मार्ग सुरु हुन्छ । यसो गर्दा पर्यटकलाई ठाउँ–ठाउँमा टिकट काट्नुपर्ने बाध्यता हुँदैन । ‘पर्यटकको बसाइ लम्बिन्छ,’ काफ्ले भन्छन्, ‘एकैपटक सबै सम्पदाको जानकारी पनि पाउँछन् ।’
वसन्तपुर दरबार क्षेत्रबाट न्युरोड, कृष्ण पाउरोटी हुँदै पशुपति पुगिन्छ । यहाँ हिन्दुबाहेक अरूले पूजा गर्न पाउँदैनन् । वाग्मतीवरपर घुम्न मात्रै पाउँछन् । धर्मनिरपेक्ष राज्य हुनुअघि पशुपतिनाथलाई राष्ट्रिय देवता मानिन्थ्यो । २ तले पगोडा शैलीको यो मन्दिर इसाको चौथो शताब्दीमा बनेको मानिन्छ । यसको निर्माण सोमदेवले गरेको मानिन्छ ।
लिच्छवि राजा सुपुष्पदेवले पशुपति महादेवको शिवलिंग स्थापना गरेको मानिन्छ । यो मन्दिरको मुख्य पूजा चतुर्मुमुखी शिवलिंगमा हुन्छ । निर्माण भएयता यो मन्दिरमा विभिन्न कालखण्डमा पुननिर्माण गरेको मानिन्छ । मन्दिरका काठ धमिराले खाएपछि अहिलेको मन्दिरचाहिँ सन् १६९२ मा पुनर्निर्माण गरिएको मानिन्छ ।
पशुपतिनाथबाट गुहयेश्वरी हुँदै बौद्धनाथ पुग्ने मार्ग पहिचान गरिएको थियो । सँगै सूचना अधिकारीको पनि व्यवस्था हुने भएकाले यी सम्पदाबारे पनि पर्यटकले जानकारी पाउने थिए । बौद्धनाथ स्तूप लिच्वविकालीन राजा मानदेवले बनाएको मानिन्छ । मानदेवले सन् ४६० देखि ५२४ सम्म शासन चलाएको मानिन्छ ।
भाषा वंशावलीअनुसार त्यतिबेला खडेरी परेको थियो । चैत्य बनाउन पानी थिएन । मानदेव कपडा राति बाहिर राख्थे । कपडा शीतले भिज्थ्यो । भिजेको पानी निचोरेरे माटो मुस्थे । यसरी बनाउँदा १२ वर्षमा निर्माण सम्पन्न भएको जनश्रुति पाइन्छ ।
सम्पदा मार्गका लागि कतै भइरहेको सडक प्रयोग गर्ने, कहीं नयाँ बनाउने योजना महानगरले बनाएको थियो । बौद्धनाथबाट मूल सडक भएर साँखुको वज्रयोगिनी पुग्ने मार्ग तय भएको थियो । साँखु उपत्यकाको सबैभन्दा पुरानो सहर हो । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार यहींबाट नेवारहरू विभिन्न ठाउँमा फैलिएका हुन् ।
साँखुभित्र शतप्रतिशत नेवार जातिको बसोबास छ । यो सहर झन्डै ३ हजार वर्ष पुरानो मानिन्छ । साँखुदेखि माथि डाँडामा रातो मुख र पहेंलो मुखको नामले चर्चा पाएकी वज्रयोगिनी मन्दिर छ । यस क्षेत्रलाई पनि विश्व सम्पदामा सूचीकृत गर्न नेपालले पहल गरिरहेको छ ।
साँखुबाट अर्काे विश्व सम्पदा क्षेत्र चाँगुनारायण गइन्छ । अधिकांश ठाउँमा बाटो भएकाले सम्पदा मार्ग खोल्न समस्या नभएको काफ्ले बताउँछन् । मनोहरामा पुल हाल्नासाथ साँगुबाट चाँगुनारायण जोडिन्छ । चाँगुनारायणमा पर्यटकले लिच्छविकालीन सम्पदा हेर्न पाउनेछन् ।
चाँगुनारायण पनि लिच्छविकालीन सम्पदा मानिन्छ । यसको निर्माण सन् ३२५ मा हरिदत्त बर्माले गरेको मानिन्छ । पछि मानदेवले यसको जीर्णाेद्धार गरे । वरिपरिबाट आएको पहिरोले मन्दिर संकटमा पर्दै गएको छ । ‘सम्पदा मार्ग बनिसकेको भए महानगरले यो मन्दिर बनाइसक्थ्यो,’ काफ्ले भन्छन्, ‘यहाँ चाँगुनारायण नगरपालिकाले लगानी गर्न सक्दैन । महानगरले सक्थ्यो । यो क्षेत्रमा केही बनाउने, केही छाड्ने हुँदैनथ्यो । यो हिसाबले कार्यक्रम बनाइएको थियो ।’
चाँगुनारायणबाट झौखेल, कमलविनायक हुँदै भक्तपुर दरबार क्षेत्र पुग्ने रुट तय भएको थियो । भक्तपुरमा पर्यटकले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र हेर्न पाउँछन् । भक्तपुर दरबार, स्वर्णद्धार, तौमढी, न्यायतपोल मन्दिर, दत्तात्रय, पुजारी मठ, भूपतिन्द्र मल्लको सालिक, पचपन्नझयाले दरबार, चारधामलगायत संचरना विश्व सम्पदा सूचीमा छन् ।
भक्तपुरबाट मुख्य सडक हुँदै पाटन दरबार क्षेत्रसम्म जाने मार्ग तय भएको थियो । पाटन दरबार, मूलचोक, सुन्दरीचोक, भीमसेन मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर, मणिकेशवनारायण चोकलगायत विश्व सम्पदा सूचीमा सूचीकृत संरचना पर्यटकले हेर्न पाउँछन् । यहाँबाट नख्खु चोक हुँदै खोकना जाने मार्ग तय भएको छ ।
ललितपुरको प्राचीन सहर खोकना पनि विश्व सम्पदामा सूचीकृत गर्न नेपालले पहल गरिरहेको छ । खोकनाबाट चोभार, जलविनायक हुँदै कीर्तिपुरको बाघ भैरव, त्यहाँबाट त्रिभुवन विश्वविद्यालयको बीचको बाटो हुँदै स्वयम्भू, स्वयम्भूबाट कालमोचनघाट र त्यहाँबाट फेरि वसन्तपुर आइपुगेर यात्रा सकिने मार्ग तय गरिएको थियो । यो मार्गमा पर्ने बाघभैरव पनि लिच्छविकालीन संरचना मानिन्छ । स्वयम्भूनाथ इसाको पहिलो शताब्दीमै निर्माण भएको मानिन्छ । वज्रधातु मण्डल सिद्धान्तमा बनेको यो चैत्य रणबहादुर शाहको पालामा दशौं श्यामार्पा लामाले जीर्णाेद्धार गरेको मानिन्छ । जमिनका वरिपरि प्राथनाचक्र राखिएका छन् । स्तूपको भुइँमा अर्धवृत्ताकार गर्भ उठाइएको छ ।
गर्भमा तेह्र भुवनका प्रतीक १३ वटै गोला धातुका सिँढी राखिएका छन् । सिँढीको तल्लो भागमा पञ्चध्यानी बुद्ध छन् । यी ध्यानीका बेग्ला–बेग्लै मुद्रा छन् । पूर्वमा भूस्पर्श मुद्रा (अक्षेभ्य बुद्ध), पश्चिममा ध्यानमुद्रा (अभिताभ), उत्तरमा अभयमुद्रा (मओघसिद्ध), दक्षिणमा वरदमुद्रा (रत्नसम्भव) मा बुद्ध राखिएका छन् । स्वयम्भू चैत्यलाई केन्द्र मानेर यहाँ वयरपुर, अग्निपुर, नागरपुर, वसुपुर र व्ययोपुरजस्ता पञ्चतत्त्वका प्रतीक बनाइएको छ । बौद्ध समुदायको आस्थको प्रतीक हो यो ठाउँ । अग्लो ठाउँमा भएकाले यहाँबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
यी सम्पदामध्ये वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, चाँगुनारायण विश्व सम्पदा सूचीमा छन् । यी सम्पदा क्षेत्रमा पर्यटकका लागि २ दिनको प्याकेज बनाउन सकिने महानगरको योजना थियो । पर्यटकलाई सूचना दिन गाइडको व्यवस्था गर्ने, यो रुटमा नीलो बत्ती राखेको सानो गाडी चलाउनेजस्ता व्यवस्था गरी सम्पदा मार्गको चिह्न दिने योजना रहेको काफ्ले जानकारी दिए ।
यो मार्गमा अलग–अलग निकाय भएकाले कार्यान्वयन गर्न कठिन भएको उनी बताउँछन् । पाटन दरबार र वसन्तपुर दरबार संस्कृति मन्त्रालयको विकास समितिअन्तर्गत छ । बौद्धनाथ, स्वयम्भूनाथ विकास समितिअन्तर्गत छ ।
एकीकृत सम्पदा मार्ग अघि बढ्न नसकेपछि महानगरले थापाथलीको कालमोचन घाट हुँदै टेकुको पचलीघाटसम्म नमुनाका रूपमा हुतराम वैद्य सम्पदा मार्ग खोलेको छ । करिब साढे २ किलोमिटर सम्पदा मार्ग खोल्न काम धमाधम भइरहेको उनले जानकारी दिए ।
ekantipur




















