बाल्यअवस्था :
सामान्य परिवारमा ३२ वर्ष पहिला गोरखा जिल्लाको आहाले भञ्याङ ४ मा पिता छविर बकस मियाँ र आमा सबिरन बीबीको कोखबाट जन्म लिएका पिर मोहम्मदले नुवाकोटको ककनीबाट एसएलसी गरे । उनको पारिवार व्यवसायमा लागेको हुँदा गोरखाबाट नुवाकोट सरेको हो । परिवार व्यवसायमा लागेको हुँदा उनलाई पनि व्यवसायको चाख हुनु स्वभाविक भए पनि उनी उच्च शिक्षा हाँसिल गर्न काठमाडौँ छिरे । उनमा धेरै पढेर देशमै व्यवसाय गर्ने इच्छा थियो । बुवाले गरेको व्यवसायलाई बिस्तार गर्दै स्वदेशमा नै धेरै गर्ने इच्छा उनमा थियो । पढाइमा अब्बल, मेहनती र इमान्दार मोहम्मद घरको जेठो छोरा भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी पनि थियो । तर, पनि पढाइलाई निरन्तरता दिँदै उनले आरआर क्याम्पसबाट आइए गरे । आरआरमा नै बिए अध्ययन गर्दागर्दै उनमा बुबाको सानो व्यवसाय, त्यसैबाट १० जनाको परिवार पालिनुपर्ने बाध्यताले पिरोल्न थाल्यो । आफ्ना भाइबहिनीलाई राम्रो शिक्षा र बिस्तारै बूढ्यौलीतिर लाग्दै गएका बुबाआमालाई अझ दुःख नदिनका लागि उनको आफ्नो पढाइ छोड्न बाध्य भए ।

७ सय कमाउन कतार
पढाइमा अब्बल मोहम्मद परिवारको आर्थिक अवस्थालाई उकास्नका लागि खाडी मुलुक कतार छिरे, अन्य नेपाली युवाहरुजस्तै । सन् २००६ मा अध्ययन गर्ने चाहाना हुँदाहुँदै पैसा कमाउन कतारको एउटा कपडा पसलमा सेल्समेनका रुपमा पुगे । मासिक ७ सय रियाल उनको पारिश्रमिक थियो । कपडा पसलमा केही महिना काम गरेपछि उनलाई पफ्र्यूम पसलमा काम गर्ने मौका मिल्यो । त्यो पफ्र्यूम सो रुममा उनले पाँच वर्षसम्म सामान्य कामदारको रुपमा निकै मेहनत गरेर काम गरे ।
मुस्लिम रीतिरिवाजमा हुर्केका मोहम्मदले अरबिक भाषा पनि राम्ररी जानेका कारण उनलाई काम गर्न र सिक्न अन्यभन्दा केही सहज भयो । प्रवासको ठाउँमा एक्लो नेपाली भएकाले उनले कम्पनीमा धेरै हेपाइ समेत खेप्नुपरेको थियो । उनले काम गर्ने कम्पनीमा भारतीयहरु पनि थिए । तर, उनीहरुले नेपाली भनेपछि कहिल्यै अगाडि बढ्न नदिएको अनुभव पनि ताजै छ ।
उनले काम गर्ने कम्पनीले अर्को पसल खोल्यो, त्यस बेला उनलाई कम्पनीको साहूले विश्वास गरेर त्यस पसलमा पठायो । नयाँ पसलमा जिम्मेवारी लिएर जान पाउनु नै उनको जीवनको सुवर्ण असर बन्यो । उनले कहिल्यै ड्युटी मात्र गरेनन् जिम्मेवारपूर्वक इमान्दार भएर कम्पनीको लागि काम गरे । जुन पसलमा उनी पुग्थे त्यो पसलको व्यापार सबैभन्दा राम्रो हुन्थ्यो । जुन–जुन पसलमा मोहम्मद हुँदैन थिए ती पसलहरु डुब्न थाले ।
अन्ततः कम्पनीले सबै पफ्र्यूम पसल बन्द गरेर एउटा मात्र बनाएर मोहम्मदलाई जिम्मा लगायो । करिब ६ वर्ष कामदारका रुपमा काम गरेका उनले संचालनकै जिम्मेवारी लिए अनि बने ब्यसायी ।

पफ्र्यूम ‘मेड इन कतार’
मोहम्मदको गोजीमा सानै उमेरदेखि पफ्र्यूम छुट्टदैन थियो । उनलाई पफ्र्यूम औधी मन पथ्र्यो । भाग्यले पनि उनलाई पफ्र्यूम पसलमा नै काम गर्न पु¥यायो । चार/पाँच वर्षसम्मको परिश्रम, लगाब र इमान्दारीताले उनले पफ्र्यूम बनाउन सिके । त्यसको लागि मोहम्मदले पाँच वर्ष दिनरात एक बनाएर दुःख गर्नु प¥यो । ‘पफ्र्यूम मुस्लिम समुदायमा नभै हुँदैन । हाम्रो समुदायमा उपहार स्वरुप दिने प्रचलन छ । मस्जिदमा जाँदा पनि पफ्र्यूम लगाउनुपर्छ । यो व्यवसाय धर्मसँग नजिक रहेकाले पनि म सफल भएको हुँ’ मोहम्मदको भनाइ छ ।
उनले कामको साथै पफ्यूमको लागि चाँहिने कच्चा पदार्थ र अन्य सामान कहाँबाट आउँछ भन्ने जानकारी लिन निकै मेहनत गर्नु परेको थियो । पफ्र्यमू बनाउन उनले सुडान र अफ्रिकनहरुसँग सिके । उनी भन्छन्–‘पफ्र्यूृमका बारेमा बढी चासो राखेर सिक्दै गएँ । छुट्टीको समयमा साथीभाइहरु घुम्न जाँदा म भने सिनियर साथीहरुसँग काम सिक्ने गर्थे ।’
काम गर्दै जाँदा पफ्र्यूम बनाउन प्रयोग हुने विधि र तरिकालाई उनले निकै चासो दिएर सिके । उनको पफ्र्यूम कम्पनीको नाम अल मजालिस हो । मेड इन कतार भनेर सञ्चालनमा आएको यो पहिलो कतारी कम्पनी हो ।
उनको कम्पनीमा उत्पादन हुने पफ्र्यूम पाँच हजारदेखि नेपाली ३ लाख रुपैयाँसम्म पर्दछ । नेपालबाट कतार घुम्न जाने जो कोही नेता, समाजसेवी, पत्रकार र कलाकार उनको पसलमा पुगेकै हुन्छन् । उनको पसल कतारको मुख्य पर्यटकीय क्षेत्र सौक वाकिफमा रहेको छ । त्यहाँ पुग्ने सबैलाई उनी उपहारस्वरुप पफ्र्यूम दिन भने भुल्दैनन् ।
अल मजालिस पफ्र्यूम भन्ने बित्तिकै अहिले कतारमा खोजी–खोजी किन्ने गर्दछन् । उनी कतारमा पफ्र्यूमको होलसेलर बनेका छन् । कतारीले आफ्नै देशमा बनेको सामान खुब मन पराउँछन् । अहिले उनी अन्तर्राष्ट्रिय बजारमा आएका पफ्र्यूमजस्ताको तस्तै बिना केमिकल बनाउन सक्छन् । उनी अहिले गर्वसाथ भन्छन्–‘म जस्तो पनि स्मेलको पफ्र्यूम बनाउन सक्छु, त्यो अनुभव मसँग छ ।’

इमान्दारिता र मेहनेत नै सफलताको कडी
लगातार १० वर्ष एउटै कम्पनीमा काम गर्दा उनले यो सफलता पाएका हुन् । कम्पनीको काम भन्दै जागिर मात्र खाएको भए उनी ४÷५ वर्षमा केही पैसा कमाएर उनी फर्किन्थे होला तर उनले त्यसो गरेनन् । ‘मेरो इमान्दारीता र धैर्यताले यहाँसम्म ल्याई पु¥याएको हो ।’ उनले भने ।
उनको यो सफलतामा परिवारको पनि मुख्य हात रहेको छ । कमाएको पैसा घरमा नपठाउनु भनेर उनका बुवाले भनेपछि काममा सफलता पाउन धैर्यता गर्नुपर्छ भन्ने सिकायो । ‘सामान्य कामदारको रुपमा कतार छिरेको नेपालीको छोरा यति छिटो पफ्र्यूम व्यवसायी बन्छु भन्ने सोचेको थिइनँ’ ‘काम सिक्छु भन्ने चाहिँ थियो तर अहिले २० जना बढी कतारी महिलालाई काम सिकाएर रोजगारी दिइरहेको छु’ मोहम्मद भन्छन् ।
अहिले कतारमा उनको दुई वटा सोरुम सञ्चालनमा छन् । सामान्य पसललाई उनले फ्याक्ट्रीमा बदलिदिएका छन् । उनी कतारको ठूलो होलसेलर व्यवसायी मध्ये पहिलो नम्बरमा पर्दछन् ।
उनले उत्पादन गरेको पफ्र्यूम दोहा, दुवई, कतार, बहराइन र मिडिलिस्ट देशहरु सबैमा जान्छ । उनको फ्याक्ट्रीमा ८ जना नेपाली काम गर्दछन् । उनको फ्याक्ट्रीमा पफ्र्यूम, धुप, स्प्रे, कपालको तेल, साबुन र इयर फेस्र्नर आदि उत्पादन हुँदै आएको छ ।
उनी नेपालमा पफ्र्यूम बनाउनका लागि आवश्यक कच्चा पदार्थ धेरै रहेका तर वातावरण सृजना भयो भने छिट्टै स्वदेशमा पनि कम्पनी खोल्ने उनको चाह छ । उनमा विदेशमा सिकेको सीप देशमा भित्राउने तीब्र इच्छा छ । ‘मेरो सीप खेर जान दिने छैन । म देशका युवाहरुलाई सिकाउँछु । पफ्र्यूमको लागि नेपालमा धेरै कच्चा पदार्थ छन् । जुन अहिले खेर गएका छन् ।’ ‘पफ्र्यूम बनाउने कच्चा पदार्थलाई हामीले दाउराको रुपमा प्रयोग गरेर खाना पकाएका छौँ । विदेशमा एक किलोको नेपाली ५० हजारदेखि ५० लाखसम्म पर्दछ तर हामीलाई थाहा छैन’ उनले भने ।

अन्त्यमा…
आजको भोलि नै कसैले सफलता पाउँदैन । वैदेशिक रोजगारमा गएका नेपालीले करार अवधि नसकिँदै धेरै खोज्दा सफल हुन सकिँदैन । विदेश जाँदा त्यो देशको बारे, भाषा, सीप र धैर्यता आवश्यक हुन्छ । कामप्रति लगाव, निरन्तरता र धैर्यता भयो भने जो कोही सफल हुन्छ । कतार अवसरको खानी हो । त्यस खानीमा मोहम्मदले देखाएको सफलता आफैँमा अनुकरणीय छ । मोहम्मदले कतारमा फरक व्यवसाय थालेर सफल हुनु आम नेपालीका लागि गर्वको कुरा हो ।
rojgarmanch




















