-
भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबारको अहिलेको अवस्था ।तस्बिर : कान्तिपुर
- सम्पदा सूचीबाट हटाउन सक्ने युनेस्को चेतावनीको बेवास्ता
- एक वर्षअघि नै पुनर्निर्माणको समझदारी भए पनि काम सुरु भएन
श्रावण २४, २०७३- झट्ट हेर्दा हनुमानढोका दरबार पुनर्निर्माणको काम गर्दागर्दै रोकिएजस्तो देखिन्छ । तर, यो पुनर्निर्माण नभई परकम्पले नढलोस् भनेर लगाइएको टेको हो । विश्व सम्पदा सूचीमा रहेको यो दरबार भत्काएर जगैदेखि पुनर्निर्माण गर्नुपर्नेछ, जसका लागि एक वर्षअघि नै समझदारीसमेत भइसकेको छ । परातत्त्व विभाग र चीन सरकारबीच २०७२ साउन ४ मा ‘एमओयू’ भए पनि पुनर्निर्माणको अझै अत्तोपत्तो छैन ।
महाभूकम्पले भत्काएका विभिन्न सम्पदा पुनर्निर्माण गर्न भारत, चीन, श्रीलंका, जर्मनी, अमेरिकाले एमओयू गरिसकेका छन् । केही सम्पदा बनाइदिन रुसले पनि इच्छा देखाएको छ । वसन्तपुर दरबार र नुवाकोटको साततले दरबार, त्यसवरपरका सम्पदा चीनले बनाइदिने भनेको थियो ।
विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण तत्काल सुरु नगरे सूचीबाट हटाउने चेतावनी युनेस्कोको ४०औं अधिवेशनले दिएको छ । ‘तर पुनर्निर्माणमा ढिलाइ भइरहेको छ’, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउन अनुमति दिएकामध्ये ४९ वटाको टेन्डरको काम भएको जानकारी उनले दिए । ‘एमओयू हुन्छ, तर काम खासै अघि बढ्न सकेको छैन’, विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरेले भने । काठमाडौं उपत्यकाको पुरातात्त्विक अध्ययनका लागि अमेरिकाको दुरहाम विश्वविद्यालय र पुरातत्त्व विभागबीच २०७२ कात्तिक ३० मा ‘एमओयू’ भएको थियो । यसको पनि काम कहाँ पुग्यो भन्ने अत्तोपत्तो छैन ।
हनुमानढोका दरबार मात्र होइन, वसन्तपुरको नौतले दरबार र यसवरपरका अरू ४ दरबार बनाइदिन चीनले २०७२ भदौ २४ मा सम्झौता गर्यो । सम्झौताको ११ महिना पुग्दा पनि पुनर्निर्माण सुरु भएको छैन । उपत्यकाभित्र वसन्तपुर, पाटन र भक्तपुर दरबार विश्व सम्पदामा सूचीकृत छन् । हनुमानढोका दरबार संरक्षण अड्डाकी कार्यकारी निर्देशक सरस्वती सिंहका अनुसार उपत्यकाका तीनमध्ये सबभन्दा बढी क्षति वसन्तपुर दरबारमा भएको छ ।
नौतले दरबार पृथ्वीनारायण शाहले बनाएका हुन् । नौतले दरबार बन्नु पहिल्यै हनुमानढोका दरबार बनेको थियो । यो लिच्छवि राजा गुणकामदेवले बाह्रौं शताब्दीमा बनाएका हुन् । मल्ल वंश सुरु भएपछि यहाँ थप मन्दिर र दरबार बने । शाहवंश शासन सुरु भएपछि पृथ्वीनारायण शाहले अग्लो भवन बनाउने क्रममा नौतले दरबार बनाएका थिए । लिच्छविकालीन काष्ठमण्डप सबभन्दा अग्लो भवनका रूपमा १२औं शताब्दीमा बनेको थियो । पछि महेन्द्र मल्लले काष्ठमण्डपभन्दा अग्लो तलेजु भवानी मन्दिर विसं. १५६४ मा बनाए ।
तलेजु भवानीभन्दा पनि अग्लो नौतले दरबार वि.सं. १७७० मा बन्यो । वि.सं. १८८२ मा भीमसेन थापाले नौतले दरबारभन्दा पनि अग्लो धरहरा बनाए । यस क्षेत्रमा रहेका दरबार तथा मन्दिर रत्न मल्लको पालादेखि शाहवंशीय राजा पृथ्वीविक्रम शाहको पालासम्म निर्माण भएका हुन् । यहाँ तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, कालभैरव, कुमारी घर, गद्दी बैठक, काष्ठमण्डपलगायत संरचना छन् ।
यी सबै विश्व सम्पदा क्षेत्रभित्र पर्छन् । भक्तपुरमा मल्लवंशका राजा त्रिपुर दरबारबाट शासन गर्थे । यक्ष मल्लले अहिलेको तौमढी टोलछेउको दरबारबाट शासन चलाउँथे । जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, रणजित मल्ललगायत राजाले दरबारवरपरका विभिन्न संरचना बनाएका थिए । सिंहदरबार, स्वर्णद्वार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पुजारी मठ, भूपतिन्द्र मल्लको सालिक, पचपन्न झ्याले दरबार, चारधामलगायत संचरना विश्व सम्पदामा सूचीकृत छन् ।
उपत्यकाका सहरमध्ये पाटन पुरानो मानिन्छ । पाटन सहर बरदेवले १७औं शताब्दीमा स्थापना गरेको मानिन्छ । यो क्षेत्र राजदरबार मात्र नभई प्रशासनिक केन्द्रका रूपमा समेत थियो । सिद्धिनरसिंह मल्लको पालामा भक्तपुर दरबार ठूलो बनेको थियो । उनले ललितपुरका दरबार क्षेत्र विस्तार गरेका थिए । साथै तिनलाई कलाकृतिले सिंगारेका थिए । आफ्नो इष्टदेव तलेजु भवानीलाई मन्दिरछेउमै स्थापना गरेका थिए । मूलचोक, सुन्दरीचोक, भीमसेन मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर, मणिकेशवनारायण चोकलगायत पाटनका संचरना पनि विश्व सम्पदामा सूचीकृत छन् ।
राजाहरूको इष्टदेव मानिने तलेजु उपत्यकाका तीनै दरबारछेउ छन् । हनुमानढोका दरबार क्षेत्र फराकिलो भएकाले तलेजु मन्दिर दरबारबाहिर छ । भक्तपुर र ललितपुरमा चाहिँ साँघुरो क्षेत्र भएकाले तलेजु मन्दिर छेउमै छन् ।
दरबारलाई जनताको सामान्य घरभन्दा पृथक् देखिने गरी संरचना निर्माण गरिएका छन् । दरबारको अगाडि विशाल पटांगिनी, आँगनमा मन्दिर, मूर्तिलगायत स्थापना गरिएका छन् । हनुमान, नृसिंह, तुलजाजस्ता देवताका मूर्ति दरबारभित्र/बाहिर राखिएका छन् । पृथ्वीनारायण शाहले उपत्यकामा विजय पाएपछि वसन्तपुर दरबार क्षेत्रका धेरै स्वरूप परिवर्तन गरे । भक्तपुर र ललितपुर दरबार भने पुरानै स्वरूपमा छन् ।
राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका बहुमूल्य सम्पदालाई सूचीकृत गर्छ । नेपालका पनि ९ सम्पदालाई युनेस्कोले सूचीकृत गरेको छ, जसमा ७ वटा सांस्कृतिक सम्पदा र २ वटा प्राकृतिक सम्पदा छन् । तिनमा वसन्तपुर, भक्तपुर र ललितपुर दरबार क्षेत्र पनि हुन् । काठमाडौं उपत्यकाका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर, पाटन, भक्तपुर दरबार, चाँगुनारायण विश्व सम्पदा सूचीमा छन् । राजधानीबाहिरका लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । थप १५ सम्पदा सूचीकृत गर्न नेपालले माग गरेको छ । विश्वका १ सय ६० देशका ९ सय ८१ सम्पदा सूचीकृत भइसकेका छन् ।
विश्व सम्पदामा सूचीकृतमध्ये राजधानीका सबै सम्पदामा भुइँचालोले क्षति पुर्याएको छ । यी क्षेत्रका केहीको काम सुरु गरिए पनि मुख्य संरचना पुनर्निर्माणको अझै टुंगो छैन । विभागका महानिर्देशक दाहालका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउन अनुमति दिएकामध्ये ४९ वटाको टेन्डर भएकोमा १७ वटा सम्पदाको काम थालिएको छ ।
सम्पदा पुनर्निर्माण गर्न मंसिरसम्म विभिन्न देश र संघसंस्थासँग गरी १२ वटाको ‘एमओयू’ भएको विभागले जनाएको छ । गत असोज १८ मा युनेस्कोसँग हनुमानढोकामा भएको क्षतिको अध्ययन गर्ने सम्झौता, त्यही दिन विश्व सम्पदा क्षेत्रको सम्पत्ति भण्डारण गर्ने सम्झौता, ‘हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसन’ सँग चाँगुनारायणमा भएको क्षति र पुनर्निर्माण गर्ने सम्बन्धमा अध्ययन गर्न भएको सम्झौता, श्रीलंकासँग ललितपुरको बुंगमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर र स्वयम्भूको आनन्दकुटी विहार बनाउन भएको सम्झौतालगायत छन् । यीमध्ये श्रीलंकाले भने काम सुरु गरिसकेको छ ।
महानिर्देशक दाहालका अनुसार श्रीलंकाले आनन्दकुटी विहारका लागि २० करोड रुपैयाँ र मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
सम्पदालाई युनेस्कोले महत्त्व दिए पनि देशभित्रबाट प्राथमिकता नदिइएको गुनासो दाहालले गरे । उनका अनुसार बजेट अभावले सम्पदा क्षेत्रमा प्रभावकारी काम गर्न सकिएको छैन । ‘पहिला वार्षिक बजेट १५ करोड रुपैयाँ हुन्थ्यो,’ उनले भने, ‘त्यही बजेटले देशभरका सम्पदा हेर्नुपर्थ्याे, बजेट माग्दा अर्थ मन्त्रालय हुम्ला–जुम्लामा खानेकुरा छैन, यहाँ के–को सम्पदालाई बजेट दिनु भन्थ्यो । भूकम्पपछि भने सम्पदामा चासो बढ्न थालेको छ ।’
‘पुरानै स्वरूपमा फर्काउनुपरेकाले ढिलाइ’
सुशील ज्ञवाली, सीईओ, पुनर्निर्माण प्राधिकरण
भूकम्पले ७५७ पुरातात्त्विक सम्पदा पूरै र अरू धेरै आंशिक क्षति भए । पूरै क्षतिग्रस्तमध्ये ५१ वटाको पुनर्निर्माणका लागि टेन्डर भइसकेको छ । १७ वटा निर्माण चरणमा छन् । पुरातत्त्व महत्त्वका बस्तीहरू पनि ध्वस्त भएका छन् । बस्ती नै पुनर्निर्माण गर्ने योजना पनि छ । यसका लागि भारत सरकारसँग करिब–करिब समझदारी भइसकेको छ । औपचारिक सम्झौता गर्न बाँकी छ ।
वसन्तपुरको नौतले दरबार र नुवाकोट दरबारक्षेत्र काम गर्न चीनसँग सम्झौता भएको छ । उनीहरूले काम अघि बढाउने तयारी गरेका छन् । भक्तपुर दरबारक्षेत्रको काम जर्मन सरकारको सहयोगमा अघि बढेको छ । पुरातात्त्विक संरचना अन्य पूर्वाधार पुनर्निर्माण गरेझैं तत्कालै गरिहाल्न सक्ने अवस्था हुन्न । अर्को ठूलो समस्या कालीगढको हो । कतिपय ठाउँमा त निश्चित समुदायले मात्रै बनाउनुपर्ने बाध्यता छ । पुरानै स्वरूपमा फर्काउनुपर्ने भएकाले ढिलाइ भएको हो ।
ekantipur




















