‘म तगडा थिएँ, त्यसैले कसैले केही गर्नुपरेन,’ उनले भने, ‘डाक्टरकहाँ एक–दुईपटक लगे तर मैले बेकारमा डाक्टर चाहिँदैन भन्दिएँ।’
उनलाई चित्त दुखेको रहेछ। मोतियाबिन्दुको अप्रेसन गर्नुअघि उनी आँखा राम्ररी देख्थे रे। पढ्थे रे। अप्रेसनपछि भने चश्मा नलगाई अक्षर चिन्न छाडेछन्। ‘बेकारमा अप्रेसन गरेर म आँखा नदेख्ने भएँ, घुरमैलो देखिन्छ,’ उनले भने, ‘कान सुन्दैन भनेर देखाएको थिएँ, मैले उल्टै हकारिदिएँ।’
‘कानमा ढ्याङ्ग्रा लगाएर हिर्काउँथे ट्याङ्ट्याङ पारेर, अनि सुनिस् भन्थे, के को नसुन्नु, सुत्दा लामखुट्टे ट्याँट्याँ कराएको सुन्ने मान्छेलाई कान नसुन्ने भन्ने? भन्दिएँ,’ मोहनप्रसादले ठट्यौली पारामा भने।
बालुवाटारको बसाइमा दिक्क हुँदा उनी गाउँ सम्झिन्थे। आफन्त, नातागोता र छरछिमेकी सम्झिन्थे। हल्का हात हेर्ने ज्योतिष विद्या सिकेका र झारफुक पनि गर्ने गरेका मोहनप्रसादलाई घरमा भेट्न आउनेको कमी हुँदैनथ्यो।




















