शिवप्रसाद उप्रेती
फोटो :लाप्राकमा मह सिकार गर्दै स्थानीय। तस्बिर सौजन्यः तुलबहादुर गुरुङगोरखाः लाप्राकीहरु बर्षेनी भीरमौरीको मह सिकार गर्छन्। मह सिकारलाई स्थानीय गुरुङ भाषामा ‘ओ ख्यैप’ भन्छन्।
भीरमौरी जहाँतहीं पाइँदैन। विशेष गरी यहाँको सेबोरा, ओरातेरा, नाङराङरा, चेपोरा, तिम्ब्राङरा, यामेपुङरामा गाउँलेहरु मिलेर मह सिकार गर्ने गर्छन्। भीर(पहरा)लाई स्थानीय भाषामा रा भन्छन्।

गतबर्ष भुकम्पले सबैको होशहवास गुम्यो। त्यसैले मह सिकारतिर कसैको ध्यान गएन। भुकम्पको घाउ बिस्तारै बिसेक हुदै गएकाले यसबर्ष भने मह सिकार गर्न पाँच महिनाअघिदेखि नै गाउँलेहरुले योजना बनाए।
गत शनिबार साँझ गाउँलेहरु भेला भए। छलफलले मङ्गलबार बिहानै सेबो भीरमा महसिकार गर्न जाने निचोड निकाल्यो। आइतबार मह सिकार गर्न को को जाने भनेर निक्र्यौल गरे।

सोमबार दिनभरि चोया काड्ने, चोयाको लठ्ठा बाट्ने गरे। अनि दुइटा लठ्ठाको लामो भर्याङ बनाए। आबश्यक पर्ने अरु सामग्री जुटाए।
‘मङ्गलबार बिहान सात बजे नै खाना खाएर सेबोरा जान हामी निस्क्यौं। भीरमा मह निकाल्न तन्त्रमन्त्र जानेका गुरु चाहिन्छ। लालबहादुर गुरुङ हाम्रो गुरु हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा हामी गयौं।’ सो टोलीका तुलबहादुर गुरुङले भने।

‘१० जनाचाहिँ मह सिकारी हुन्। अरु ३३ जना पनि टोलीमा थिए। कसैले चोयाको डोरीको भर्याङ बोकेका थिए। कसैले मह काडेर राख्ने बास्केट बोकेका थिए। कसैले मह काड्ने दाबिलो बोकेका थिए। जापानीहरु पनि दुई जना थिए। डकुमेन्ट्री बनाउन आएका रहेछन्।’

उनीहरुलाई सेबोभीर पुग्न दुई घण्टा लाग्यो। ४८ बर्षे लालबहादुर मह सिकार गर्न अति सिपालु मानिन्छन्। त्यसदिन पनि कुशलतापूर्वक महसिकार गरे। ‘पहिला गुरुले भीरको टुप्पामा सिमेभुमेको पूजा गरे। बायुको पूजा गरे। वनजंगलको उँडुवा, डुलुवाको पूजा गरे।

देवता पितृको पनि पूजा गरे। धुप बाले। प्रार्थना गरे। अनि सबैको सहयोग लिएर गुरुले लठ्ठालाई भीरको माथि रुखमा बाँधेर भीरमा झुण्ड्याए। लठ्ठामा भर्याङ पनि बनाइएको हुन्छ। त्यो भर्याङलाई भीरबाट तल झारे’ तुलबहादुरले भने ‘भीरको फेदमा जाने अरु बाटो नभएर गुरु र अरु १० जना भर्याङ-भर्याङै तल झरे।

तल झरेकाहरुले पहराको फेदमा जयु(स्थानी बनस्पतिको नाम)को स्याउला पोले। जताततै धुवाँ उड्न थाल्यो। मौरी गोला छाडेर पाखा लाग्यो। अनि गुरुले धमाधम मौरीको चाका काटेर बास्केटमा हाल्न थाले।

गुरुले मह काड्ने, अरुले त्यसलाई साथीहरु भएको ठाउँमा पुर्याउने गर्न थाले।’ बाँकी रहेकाहरुले चाका निचोरेर मह बनाउन थाले। दिनभरि काडेको मह करिब ५० लिटर जति भएको उनले बताए। सहभागी भएका सबैले डेढ-डेढ लिटर मह पाए।

‘दिउसो खाने खाजा पनि घरबाटै लगेका थियौं। खाजा पनि त्यहीं खायौं। कोहीले भोको पेटमा मह खाए। भीर मौरीको मह एकदम लाग्छ। मह लागेर बेहोश भएका तीन जनालाई त बोकेर घर ल्यायौं। हामी त्यहाँबाट निस्कँदा बेलुकी सात बजेको थियो।’





तस्बिरहरु: शिवप्रसाद उप्रेती
annapurnapost




















