पुस २६, २०७२- कांग्रेस सभापति सुशील कोइराला ७९ वर्ष नाघे । कोइराला नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका कान्छा सदस्य हुन् गगन थापा । सुशीलभन्दा ४० वर्ष कान्छा उनी ३९ वर्ष पार गर्दैछन् । केन्द्रीय समितिमा ४० वर्षमुनिका गगन एक्लो सदस्य हुन् भने केबी गुरुङ सुशीलभन्दा एक वर्ष जेठा छन् ।
गगन र सुशीलको उमेरको तुलना गर्ने हो भने कांग्रेस केन्द्रीय समितिमा हजुरबा र नाति पुस्ता सँगै छन् भन्न सकिन्छ । सूर्यमान गुरुङ र लीला कोइराला पनि सुशीलजस्तै उमेरका छन् । कांग्रेसका त्रयनेतामध्ये कोइरालाभन्दा शेरबहादुर देउवा १० वर्ष र उपसभापति रामचन्द्र पौडेल ८ वर्षले कान्छा छन् । देउवा ६९ र पौडेल ७१ वर्ष पुगेका छन् । १३ औं महाधिवेशनबाट चार वर्षका लागि पार्टी नेतृत्व लिन यी तीनै नेता यतिबेला प्रतिस्पर्धाको दौडमा लागेका छन् ।
कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्यमध्ये साठी प्रतिशत ४० देखि ६० वर्ष उमेरका छन् । कांग्रेसमा जहिल्यै युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने कुरा उठे पनि यसपालि पनि नेतृत्व हजुरबा पुस्तामै रहने धेरैको अनुमान छ । ५४ वर्षको उमेरमा शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाविरुद्ध पार्टी सभापतिको उम्मेदवार बनेका थिए । यसपालि भने त्यसरी चुनौती दिने नेता देखा परेका छैनन् ।
दोस्रो पुस्ताको अग्रपंक्तिमा देखिने अनुहारमा महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, सशांक कोइराला, महेश आचार्य, सुजाता कोइराला, विमलेन्द्र निधि, शेखर कोइरालालगायत छन् । उनीहरूको उमेर पनि ५५ देखि ७० को हाराहारीमा पुगेको छ । महामन्त्रीद्वय सिंह र सिटौलाको तुलनामा महत जेठा छन् । उनी ६७ वर्ष पुगेका छन् । जब कि सिंह ६० र सिटौला ६६ वर्षका छन् ।
खड्का ६०, शेखर ६५, शशांक ५७, सुजाता ६१, निधि ५८ र आचार्य ६१ वर्ष पुगेका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल एमालेमा जस्तो ७० वर्षको उमेर हद राखेको भए कांग्रेसका तीनै शीर्ष नेता यसअघि नै बाहिरइसक्थे भन्छन् । त्यो हिसाबले हेर्दा कार्यसमितिका बीस प्रतिशत सदस्यले अवकाश पाइसक्थे । दोस्रो पुस्तासँगै कांग्रेसमा नेतृत्वको आकांक्षी तेस्रो पुस्ता पनि तयार भइसकेको छ ।
रोचक त के छ भने तेस्रो पुस्तामा पनि उमेरको ठूलो अन्तर छ । ३९ वर्षका गगन थापादेखि ५४ वर्षका चन्द्र भण्डारीसम्मका नेता यो पुस्तामा पर्छन् । प्रतिनिधिका रूपमा तेस्रो पुस्ताका नेताहरू अर्जुनप्रसाद जोशी ६०, एनपी सावद ५३, मीनेन्द्र रिजाल ५८, नरहरि आचार्य ६२, ज्ञानेन्द्रबहादुर कार्की ५९, प्रकाशरण महत ५६, धनराज गुरुङ–४९, दीपक गिरी ५४ पुगेका छन् । ‘अमेरिकामा युवाले सरकार चलाउँछन्, बूढालाई पेन्सन दिन्छन् । नेपालमा बूढाले सरकार चलाउँछन्, युवालाई टेन्सन दिन्छन्’ भन्ने भनाइ सामाजिक सञ्जालमा निकै छाएको देखिन्छ । यो उक्ति कांग्रेसको नेतृत्वसँग मिल्दोजुल्दो देखिन्छ ।
‘कांग्रेस राजनीतिमा ‘इन्ट्री’ हुनका लागि उमेर हद लाग्छ, तर ‘एक्जिट’ हुन नलाग्ने परम्पराले पनि समस्या निम्ताएको छ,’ गगन भन्छन् । कांग्रेसमा ‘एक्जिट पोलिसी’ नल्याउने हो भने सबैभन्दा ठूलो संख्यामा रहेका युवाहरूले आफ्नो उमेर समूहको प्रतिनिधि पाउन कठिन हुने उनको दाबी छ । नेतृत्व तहमा एकपटक पराजित भएपछि अर्कोपटक प्रतिस्पर्धा नगर्ने, सरकार र पार्टीको नेतृत्वमा दुईपटकभन्दा बढी दोहोर्याउन नपाउने नीति अपनाउने हो भने युवा पुस्ता नेतृत्वमा अघि आउने बाटो खुल्ने गगनको धारणा छ । थापा आफैंले ६० वर्षपछि क्रियाशील राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन् ।
यही उमेर अवधिमा पार्टी र सरकारको कार्यकारिणी तहमा प्रतिस्पर्धा गर्ने सोच उनको छ । तर, कांग्रेस केन्द्रीय समितिमा उनले अवकाशका लागि तय गरेको उमेरकै नेताको बहुमत छ । र, उनीहरू सबै युवा नेतामा गनिन्छन् । नेपालको संविधानमा राष्ट्रपति हुनका लागि कम्तीमा ४५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । सांसदका लागि २५ वर्षको उमेर हद तोकिएको छ । तर, राजनीतिबाट बाहिरिने उमेरको कुनै हद छैन ।
आसन्न कांग्रेसको १३ औं महाधिवेशनमा पनि थापा, प्रदीप पौडेल, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, जीवन परियारको उमेर समूहका नेताहरू निर्वाचित भएर ठूलो संख्यामा आउने सम्भावना कम छ । यसको मुख्य समस्या नै उमेर समूहको कार्यशैली र विचारको भिन्नता रहेको बताउँछन् प्रदीप पौडेल । ‘पुस्ताअनुसारको सोच फरक हुने रहेछ । सुशील दाइ ७९ वर्षको उमेरमा हुनुहुन्छ, उहाँको दिमागमा आफ्ना समकालीन साथीहरू आउँछन् । अवसर दिने बेला दु:ख पाएकाले दिनुपर्छ भनेर आफ्नै समूहका लागि रोज्नुहुन्छ,’ पौडेल भन्छन्, ‘युवा पुस्ताले नेतृत्व पाए उसले दु:ख पाएको होइन, क्षमता भएको युवा खोज्छ ।’
कांग्रेसमा युवा नेतृत्व तहमा आउन नसक्नुमा भावनात्मक सम्बन्धको कारण पनि छ । विभिन्न मुक्ति आन्दोलनमा लामो समय सघर्ष गरेका, जेल परेका नेताहरूको ठूलो समूह कांग्रेसभित्र छ । केन्द्रदेखि गाउँसम्म दु:ख पाएका र पुराना कार्यकर्तालाई ठाउँ दिनुपर्छ भन्ने भावनात्मक ‘नीति’ कांग्रेसभित्र अहिले पनि प्रबल देखिन्छ । ‘अझै पनि युवाहरू खोसेर लिन सक्ने ठाउँमा छैनन्, दु:ख पाएका, लामो संघर्ष गरेका आधारमा स्वत: महाधिवेशन र महासमिति सदस्य बनाउनुपर्ने अवस्था छ ।
अहिले पुरानाहरूलाई क्षतिपूर्ति दिने कुराले युवाहरू पछि परेका छन्,’ पौडेलले थपे, ‘उमेरको हद भयो भने गाउँ, वडादेखि केन्द्रसम्म नयाँ मानिस आउन सजिलो हुन्छ ।’ कांग्रेसमा नीति र कार्यक्रमभन्दा अनुहार नै बिकाउ मानिन्छ । शीर्ष नेताहरूभन्दा गगन, विश्वप्रकाश शर्मा, प्रदीप, बद्रीलगायतका युवाको भाषणमा दर्शक श्रोतालाई आकर्षित गर्न सक्ने क्षमता देखिन्छ । तर, उनीहरू नेतृत्वमा पुग्न सक्ने देखिँदैन ।
पार्टीको १३ औं महाधिवेशन पनि एजेन्डासहितको कार्यक्रम र नीतिभन्दा नेताप्रधान देखिन्छ । यसको एउटा उदाहरण गत असोज १ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा देखियो । बैठकमा केही केन्द्रीय सदस्यले प्रधानमन्त्रीको निर्वाचनलाई भाग लिएको घटनालाई लिएर तीनै शीर्ष नेता असफल भएका बताएका थिए । केहीले तीनैजनाले अब विश्राम लिनुपर्ने बताए ।
यो सुनेपछि सभापति सुशीलले आफू दुइटा क्यान्सर पचाएर आएको बताउँदै भने–, ‘म पूर्ण स्वस्थ्य छु, स्वास्थ्यले काम गरुन्जेल सक्रिय राजनीति त्याग्दिनँ ।’ लगत्तै पौडेलले पनि आफू सक्रिय रहने बताए । कोइराला र पौडेलको भनाइलाई व्यंग्य गर्दै बलबहादुर केसीले बैठकमा भने, ‘त्यसो भए तपाईंहरू चाँडै मर्नुहोस् भनेर हामी धुप हालेर बसौं त ?’ उनी आफैं ६२ वर्षका छन् ।
ekantipur





















