डा. पंकज जलान

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समयसमयमा दोहोरिइरहन्छ। यो दुखाइ प्रायः टाउकोको एक भागमा हुने गर्छ। यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ।
माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषको दाँजोमा यो रोग महिलामा बढी देखा पर्छ। माइग्रेन बाल्यावस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ।
माइग्रेनका कारण
हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइसकिएको छैन । तर, यसलाई वंशानुगत रोगका रूपमा पनि लिन सकिन्छ।मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरूको अनुमान छ। माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रक्तनली र मस्तिष्कवरिपरिका नसाहरू सुन्निन थाल्छन्।
अन्य कारण
बढी मानसिक चिन्ता लिनाले।
चिया र कफी धेरै पिउनाले।
समयमा नसुत्नाले।
गुन्द्रुक, तामा तथा सिसीमा राखिएका पुरानो अचारको सेवनले।
बढी मात्रामा दुखाइ कम गर्ने औषधिहरू (पेनकिलर)को प्रयोग।
तसर्थ माथि दिइएका कारणहरूले माइग्रेन हुने सम्भावना बढी हुन्छ।
माइग्रेनका लक्षण
माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरू बिरामीपिच्छे फरक हुने गर्छन् । तीमध्ये प्रायःटाउकोको एक भागमा मात्र दुख्ने गर्छ र तर करिब एक तिहाइ बिरामीमा यो दुखाइ टाउकोको दुवै भागमा समेत हुने गर्छ।
टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्छ।
यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहीँ आँखाका गेडाहरू दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखा पर्न सक्छ।
वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदिसमेत सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि समेत हुनसक्छ।
टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाइ लागेजस्तो हुने, मिजासमा एक्कासि परिवर्तन आउने आदि समेत हुन्छ।
त्यस्तै टाउको दुखाइ सकिएको करिब २४ घन्टासम्म बिरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ भने भइरहेकै जस्तो महसुस गर्ने गर्छ।माइग्रेन कसरी पत्ता लगाइन्छ?

माथि दिइएका लक्षणका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायःमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन।
जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउँदै उचित खानपान, आहारव्यवहार एवं औषधोपचारका माध्यमबाट माइग्रेनलाई नियन्त्रण गर्नुका साथै पूर्ण रूपमा निको पार्न सकिन्छ।
यदि माथि दिइएका लक्षणहरू बिरामीको दुखाइसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन्, जस्तैः एमआरआई, सिटी स्क्यान आदि।
माइग्रेन रोकथामका उपायहरू
माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले तल दिइएका उपायहरू अपनायौं भने यसको दुखाइबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौं ।
-माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चकलेट कम मात्रामा खानु राम्रो हुनेछ ।
-राति एउटै समयमा सुत्ने बानी बसाउने ।
-पुरानो अचार, ग्रुन्दुक, तामाजस्ता खानेकुरा नखाने, साथसाथै पिरो कम खाने ।
– राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने ।
-घाममा धेरै नबस्ने, नहिँड्ने, यदि घाममा हिँड्नु परे छाता प्रयोग गर्ने।
-दुखाइ कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाले टाउकोको दुखाइ एकछिन कम हुन्छ तर फेरि बल्झिन्छ।
माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। माथि दिइएका उपाय अपनाउन सके यसको दुखाइबाट केही हदसम्म आफूलाई बचाउन सकिन्छ।
साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अझ सजिलो हुन्छ। किनकि यसले हप्ता वा महिनामा कतिपटक टाउको दुख्ने गर्छ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधिउपचार गर्न सक्नेछन्।
अन्य केही कारण जसले माइग्रेनको दुखाइलाई बढाउन सक्छन्:
-कपाल रंगाउनाले।
-कपालमा पुरानो मेथी र तेल लगाउनाले।
-राति समयमा नसुत्नाले।
-कसैलाई च्याउ खाँदा पनि दुखाइ बल्झेको पाइन्छ।
-मनमा धेरै कुरा खेलाउनाले।
यस लेखकका अनुभवमा बिरामीको जीवनशैलीमा सकारात्मकता ल्याउँदा वा वाञ्छित जीवनशैली अपनाउँदा धेरै खाले माइग्रेन समस्या कम भएर गएको पाइएको छ।
नर्भिकमा त्यस्ता रोगीमध्ये धेरैको संख्यामा युवावस्थाका किशोरकिशोरी यस लेखकको क्लिनिकमा आउने गरेको पनि तथ्यांक छ। जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउँदै उचित खानपान, आहारव्यवहार एवं औषधोपचारका माध्यमबाट माइग्रेनलाई नियन्त्रण गर्नुका साथै पूर्ण रूपमा निको पार्न सकिन्छ।
त्यसो त आजको समृद्ध चिकित्सा विज्ञानसँग त्यस्ता खाले समस्याका धेरै र अत्याधुनिक औषधिहरूसमेत उपलब्ध छन्।
-लेखक नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत स्नायुरोग विशेषज्ञ (अमेरिकन बोर्ड सर्टिफाइड न्युरोलोजिस्ट) तथा चिकित्सा सेवा विभागका निर्देशक हुन्।
annapurnapost




















