एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना नियन्त्रणका लागि खोपको उत्पादन तथा परीक्षणलाई तीव्रता दिने योजना अघि सारेको छ । सोही क्रममा बाइडेनले कोरोना नियन्त्रणसम्बन्धि आफ्नो योजनाको ड्राफ्टमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति बाइडेनले मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने घोषणा गरेका हुन ।
कोरोना नियन्त्रणकालागि विभिन्न १० योजना बनाएका बाइडेनले नियन्त्रणका लागि लामो समय लागे पनि जनताले एक भएर नियन्त्रणको लडाइ लड्नुपर्ने बताएका छन् ।
पछिल्लो घोषणामा १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ ।
अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ ।
साथै १४ दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । मास्क र सामाजिक दूरीलाई पनि अनिवार्य पारिएको छ । अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले नियन्त्रण सम्बन्धि काम अघि बढाएका हुन् ।
यसअघि ट्रम्प प्रशासनमाथि महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोप लागेको थियो । राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन । यसका लागि गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजको उपयोग गरिने बताइएको छ ।
सो प्याकेज पारित गर्न बाइडेनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्नेछ । अहिले सम्म अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ६ हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ भने २ करोड ५१ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।




















