काठमाडौं– गायक बिक्रम जंग शाहको स्वरमा तयार भएको गीत ‘खोला खाल्सी हे माया’ को म्युजिक भिडियो काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक शाहलाई गायिका सिर्जु अधिकारीले साथ दिएकी छिन् । गीतको लय अमृत खातीले तयार पारेका हुन् भने शब्द गायक शाहले नै रचना गरेका छन् ।
भिडियो सार्वजनिक गर्ने समारोहमा सर्जक शाहले भिडियोको रोयल्टिबाट प्राप्त रकमको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त बाल आश्रममा हाल १४ बालबालिका आश्रित छन् ।
यसअघि शाहले स्नेहा बाल आश्रमको मासिक भाडा मध्ये एक महिनाको २५ हजार रुपैयाँ घर भाडा उपलब्ध गराइसकेका छन् । ‘खोला खाल्सी हे माया’ गीत मौलिक धारमा तयार पारिएको छ ।
यसको म्युजिक भिडियोमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ ।




















