गाेरखा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । जसका प्रभावले माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अर्नब चक्रवातको अवशेषका रूपमा लुम्बिनी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आजै राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएकाे छ ।


