एजेन्सी । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार अमेरिका र इजरायललाई फेरि युद्धमा नफर्कन चेतावनी दिएका छन् ।
इरानको वर्तमान प्रशासनका आलोचक मानिने ती मुलुकले सम्भावित आक्रमणको धम्की दिएपछि सर्वोच्च नेता खामेनीको वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमार्फत यो चेतावनी दिइएको हो ।
वक्तव्यमा खामेनीले भनेका छन्, ‘यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले निर्धारण गर्नेछन् ।’
यो टिप्पणी खामेनी र उच्च सैन्य कमान्डरहरूबिचको बैठकपछि बाहिर आएको हो । उक्त बैठकमा सशस्त्र बलका प्रमुख अलि अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र क्रान्तिकारी गार्डका कमान्डर अहमद वाहिदी सहभागी थिए ।
सर्वोच्च नेता बनेपछि सार्वजनिक रूपमा नदेखिएका खामेनी र सैन्य अधिकारीहरूबिच सार्वजनिक जानकारीमा आएको यो पहिलो बैठक हो । गत फेब्रुअरीमा मध्यपूर्वी युद्धको सुरुआतका क्रममा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा उनका बुबा अयातुल्ला अलि खामेनी मारिएका थिए ।
वक्तव्यअनुसार खामेनीले कमान्डरहरूलाई निर्देशन दिँदै भनेका छन्, ‘कुनै पनि स्तर वा प्रकारको धम्कीलाई तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित प्रतिक्रिया दिनुपर्छ ।’ साथै उनले अमेरिकी र यहुदी शत्रुका सबै प्रकारका मूर्त तथा अमूर्त सम्पत्तिहरूलाई सम्भावित लक्ष्यको सूचीमा अद्यावधिक गर्न आदेश दिएका छन् ।
युद्ध पुनः सुरु हुन नदिन नयाँ कूटनीतिक प्रयास भइरहेका बेला सर्वोच्च नेताको यो वक्तव्य आएको हो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले सो क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो ।
यसैबिच युद्ध रोक्ने प्रयासस्वरूप शुक्रबार कतारको प्रतिनिधिमण्डल तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरे पनि हालसम्म त्यसको कुनै जवाफ नदिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।


