टंक चौलागाईको उपन्यास उबडखाबड प्रकाशित भएको छ। २४४ पृष्ठको उपन्यासले समाजमा व्याप्त असमानतालाई मूल विषय बनाएको छ। २०६८ सालमा ‘जिरो कटेज’, २०७२ सालमा ‘काठमाडौं गीत’ र २०७४ सालमा ‘टालाटुली’ गरी तीन उपन्यास प्रकाशन गरिसकेका टंकको यो चौथो उपन्यास हो।
जीवन परियार हिरो बन्ने रहरले काठमाडौं आउँछ। त्यसपछिको उसको एक दशकभन्दा बढी समय काठमाडौँसँगको पौंठेजारीसँग बित्छ। काठमाडौंमा एक छाक खानका लागि कति संघर्ष गर्नुपर्छ। द्वन्द्वकालमा भुईंमान्छेलाई शासन व्यवस्थाले कसरी निचोरेको थियो।
जीवनको भोगाइमार्फत थाहा हुन्छ। धनी र गरिबबिचको फाटो बढ्दै छ। जति संघर्ष गर्दा पनि गरिब जहाँको त्यही नै हुन्छ। समाजमा असमानता व्याप्त छ। यही असमानता नै उबडखाबड भएको उपन्यासकार टंकको भनाइ छ। हाँस्य रस हुँदै वियोगान्तमा टुँगिने कथा वाचन शैली छोटो र मिठो छ। उपन्यास शिखा बुक्सले प्रकाशित गरेको हो।


