नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । यही असोज १४ गतेभित्र चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । बोर्डको कार्यालय वा [email protected] इमेलमार्फत् इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् ।
२ जनालाई विद्यावारिधि शोधवृत्ति, २ जनालाई दर्शनाचार्य शोधवृत्ति, ४ जनालाई स्नातकोत्तर छात्रवृत्ति, १० जना (खुल्ला ५ र आरक्षण ५) लाई स्नातक छात्रवृत्ति र लघु पाठ्यक्रम अध्ययनरत २ जना विद्यार्थीहरूलाई चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गर्दैछ । नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका कागजातको प्रतिलिपीसहित आवेदन भर्नुपर्ने बताइएको छ ।
छात्रवृत्तिले फिल्म सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन र थप हौसला प्रदान गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । अहिले विकास बोर्ड विद्यालय र कलेजको पाठ्यक्रममा नेपाली फिल्मलाई समेट्नका लागि पनि प्रयास गरिरहेको छ । नेपालमा केही वर्षयता फिल्म सम्बन्धि अध्यापन गराउने केही कलेज समेत सञ्चालन भइरहेका छन् ।


