गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा फिचर्ड जोडि ‘साइँली’ गीतबाट निकै चर्चामा आएका जोडी हुन् । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो ।
दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।
यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ । उक्त गीतलाई मोरङका ब्यवसायी रमेश कार्कीले लेखेका हुन् ।
सार्बजनिक गीतको सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । सार्बजनिक पश्चात् भिडियोलाई राम्रो प्रतिक्रिया प्राप्त भैरहेको गीतका लेखक कार्किले बताए ।


