अभिनेता अक्षय कुमार कोरोना महामारीबीच नयाँ चलचित्रको छायांकन सुरु गर्ने पहिलो ‘ए ग्रेड’ अभिनेता बनेका छन् ।
उनी आफ्नो नयाँ चलचित्र ‘बेल बटम’ को छायांकन टिमसहित ४० दिनका लागि यूके उडेका थिए । अभिनेत्री वाणी कपुर, लारा दत्ता र हुमा कुरेसीलगायत १४५ जनाको टिमसहित अक्षय यूके गएका थिए ।
यूकेमा पूरै टिमसहित १४ दिन क्वारेन्टिनमा बसेर ‘बेल बटम’ टिम छायांकनका लागि तयार भएका हुन् ।
यूके सरकारको कडा सुरक्षा निर्देशन पालना गरी स्कटल्यान्ड र ग्लासगोमा छायांकन गरिने बताइएको छ । ‘बेल बटम’ टिमलाई चलचित्रबाहेक बाहिरको कसैलाई पनि भेट्ने अनुमति छैन ।
रञ्जित कट्यालको निर्देशनमा बन्न लागेको स्पाई थ्रिलर चलचित्रको रिलिज २०२१ मा तोकिएको छ । यूकेमा छायांकनपछि भारतमा पनि चलचित्रको केही भाग छायांकन गरिने छ ।
भारतमा अहिले छायांकनको अवस्था नभएका कारण चलचित्र टिम पहिला यूके पुगेको हो ।




















