नेपाली गायन प्रतियोगिता ‘भ्वाइस अफ नेपाल सिजन २’का रनरअप विकास लिम्बूले आफ्नै नयाँ गीत सार्वजनिक गरेका छन्।
‘पहिलो नजर’ बोलको गीत उनले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा विकासको एकल स्वर छ भने ध्रुव केसीको शब्द रहेको छ। यसमा सुरज तामाङले संगीत दिएका छन्।
भिडिओमा विद्यालय पढ्ने केटा र केटीबीच बस्ने किशोरावस्थाको माया-प्रेमलाई रमाइलो गरी प्रस्तुत गरिएको छ।
संगीतकार सुरज तामाङकै निर्देशनमा तयार भएको यो म्युजिक भिडिओमा विकास र ब्रिक्क्षा लिम्बुको अभिनय छ।
विकासले ‘भ्वाइस अफ नेपाल’को अडिसनमै जजहरुको मन जितेका थिए भने दर्शकको समर्थन बटुल्न थालेका थिए।
प्रतियोगितामा जानुअघि उनी अरु गीतको कभर गर्थे।


