पाँच महिनादेखि फिल्म हल बन्द छन् । फिल्मलाई ‘मिस’ गर्ने दर्शकलाई सामाजिक सञ्जाल ‘युट्युब’ गतिलो विकल्प भएको छ । लकडाउनकै बेला कतिपय फिल्मकर्मीले आफ्ना फिल्म युट्युबमा राखे । ती फिल्मले अपेक्षित दर्शक पनि पाए ।
फिल्मकर्मी आफैं भने लकडाउनको अवधिमा बेरोजगारजस्तै भए । पोखरेली फिल्मकर्मीले यो अवधिमा आफूलाई खुम्च्याएनन् । बरु दर्जनौं छोटा (सर्ट) फिल्म तयार गरे ।
लाइट, क्यामेरा र कम्प्युटरसँग खेलिरहनुपर्ने चलचित्रकर्मी नेत्र गुरुङलाई लकडाउनले छेकेन । उनको कम्पनी नेत्र इन्टरटेन्मेन्टले लकडाउनकै अवधिमा ७ वटा सर्ट फिल्म तयार गर्यो । ती सबैमा कोरोना कहर समेटियो । उनले निर्देशन गरेको पहिलो सर्ट फिल्म थियो ‘लकडाउन’ । नेपालमा बुबाको मृत्यु हुँदा लकडाउनकै कारण विदेशबाट आउन नपाएका छोराको कथा उक्त फिल्ममा छ । त्यसलगत्तै उनले राहत, घर, बसाइ, नाम्लो, सत्कर्म र दशा फिल्म सार्वजनिक गरे ।
यी फिल्ममा पनि कोरोना महामारीका क्रममा गरिब, मजदुर, किसान, विभिन्न पेसाकर्मीले भोगेका पीडालाई गुरुङले फिल्ममा उतारेका छन् । राहतमा जालझेल गर्ने जनप्रतिनिधि, निर्दयी घरधनी, लुटाहा ठेकेदारको प्रवृत्तिलाई फिल्ममा प्रतिनिधिमूलक ढंगबाट उठान गरिएको छ । सहरमा भोकभोकै परेपछि हिँडेरै घर जान तयार भएका श्रमिक, भाडा उठाएर जीविकोपार्जन गर्ने मध्यम वर्गीय परिवारको कथा फिल्ममा छ । फिल्म ‘सत्कर्म’ मा समाजमा अझै केही राम्रो सोच र व्यवहार भएका मानिस पनि छन् भन्ने देखाउन खोजिएको छ । कलाकार प्रकाश घिमिरेको मुख्य भूमिका रहेको ‘नाम्लो’ मा भरियाको दुखान्त कथा उतारिएको छ ।
कोरोनाको डरैडरबीच सुरक्षाका उपाय अपनाएर सर्ट फिल्म निर्माण गरेको निर्देशक गुरुङले बताए । आर्यन सिग्देललाई मुख्य भूमिकामा लिएर पाँच वर्षअघि ‘नाइके’ निर्देशन गरिसकेका उनले फिल्म निर्माणको हुटहुटीलाई लकडाउनमा पनि मर्न नदिएको बताउँछन् । ‘स्थानीय स्रोतसाधन प्रयोग गरेर भए पनि आफूलाई व्यस्त राखौं भन्ने भयो,’ उनले भने, ‘यो महामारीमा दर्शकले केही हदसम्म समय सान्दर्भिक फिल्म हेर्न पाउन् भन्ने हाम्रो उद्देश्य थियो ।’
पोखरालाई कर्मथलो बनाएका गायक विनोद बानियाँ लकडाउनकै अवधिमा पहिलोपल्ट सर्ट फिल्म निर्देशनमा होमिए । उनको कथा र निर्देशनमा तयार भयो ‘फेम’ । ‘विविध कारणवश निर्माण गर्ने समय मिलिरहेको थिएन, लकडाउन उचित अवसर बन्यो,’ उनले भने, ‘यही अवधिमा कथा भेटियो । त्यसलाई सर्ट फिल्मको रूप दियौं ।’




















