नेपाली चलचित्र क्षेत्रले यो समयम गर्नुपर्ने बहस के होला ? कोरोनाले आक्रान्त बनेको चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बहस गर्नुपर्ने समय हो यो । तर, यो बेलामा चलचित्र क्षेत्रले के कुरामा बहस गरिरहेको छ ।
चलचित्रसँग सम्बन्धित ७ संस्थाको पछिल्ला २ बक्तत्व हेर्दा उनीहरु कतातर्फ हिडिरहेका छन् भन्ने प्रष्ट हुन्छ । केही समय अगाडि कलाकारलाई गाली आएको भन्दै ७ संस्था एक भएर विज्ञप्ती निकाले । जसमा, उनीहरुले दर्शकलाई सोझो भाषामा धम्की दिए । नेपालमा भए प्रहरी लगाएर समात्ने, विदेशमा भए परराष्ट्र मन्त्रालयममार्फत कानुनी कदम चाल्ने धम्की उनीहरुको थियो ।
दर्शकलाई सभ्य भाषामा चलचित्रकर्मीको आलोचना गर्नका लागि आग्रह गर्नुपर्ने हो । तर, उनीहरुले कानुनी कारबाहीको धम्की दिए ।
अहिले फेरि अर्को प्रकरण चुलिएको छ । संचारकर्मी प्रकाश सुवेदीले टेलिभिजनमा नायिकाहरुलाई लक्षित गर्दै बोलेको कुराले केही समय अगाडि माहोल ततायो । जसको आलोचना चलचित्रकर्मी, पत्रकार र दर्शक सबैले गरे । उनले टेलिभिजनबाट माफी पनि मागे । एक पटक होइन, लाखौ पटक माफी माग्छु भन्दै उनले हात जोडे । नायिका पूजा शर्माले आफूलाई लक्षित गरेर प्रकाशले बोलेको भन्दै विभिन्न संस्थामा उजुरी दिइन् ।
शुक्रबार ७ संस्थाका अध्यक्षले हस्ताक्षर गर्दै विज्ञप्ती निकाले । विज्ञप्तीमा प्रकाशले संचालन गर्दैै आएका २ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई अनुरोध गरिएको छ । उनीहरुले प्रकाशसँग बार्ता वा कानुनी उपचारबाट यो मुद्दा समाधान नभएसम्म कार्यक्रममा सहभागी नहुन भने । जसको अहिले चर्को विरोध भैरहेको छ ।
विभिन्न ७ संस्थाले आफ्ना सदस्यहरुलाई संस्थाको आचारसंहित पालना गर्न निर्देशन दिएका छन् । यसको अर्थ, प्रकाशले संचालन गर्दै आएका २ वटा कार्यक्रममा सहभागी भए उक्त चलचित्रकर्मीले संस्थाको आचारसंहित उल्लंघन गरेको हुनेछ र उनीहरु कारवाहीको भागिदार हुनेछन् । यसको, चलचित्रकर्मीहरुले नै विरोध गरिरहेका छन् ।
चलचित्र कलाकार संघको अगुवाइमा नेपाल चलचित्र निर्माता संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, चलचित्र प्राविधिक संघ, चलचित्र नृत्यकार संघ, चलचित्र द्धन्द्ध समाजले विज्ञप्ती जारी गरेका हुन् ।
कुनै पनि समस्याको समाधान वार्ताबाट गर्न सकिन्छ । वार्ताबाट समाधान हुने कुरालाई उचालेर कुनै मिडियाकर्मी र कार्यक्रमलाई नै बहिष्कार गरौं भनेर ७ संस्था लाग्ने दुखद कुरा हो । यसले, चलचित्र क्षेत्रलाई अगाडि बढ्न मद्दत गर्दैन ।
७ संस्थाको यो नीतिले चलचित्र क्षेत्रलाई कता लैजाला ? ७ वटा संस्थाले यसलाई समाधान गर्ने बाटो खोज्ने हो या उचाल्ने ?



