लकडाउनका कारण रोकिएको नेपाली फिल्म क्षेत्र कहिलेदेखि सुचारु हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
किनभने कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहँदा सिनेमा हल खुल्नेदेखि फिल्मको छायांकन हुने मिति अझै पर धकेलिएको छ ।
यद्यपि, लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायांकन भने धमाधम भैरहेको छ ।
यो बीचमै तीज गीतकै दर्जनौं म्युजिक भिडियोहरु छायांकन गरिए भने आधुनिक गीतका भिडियोका छायांकन पनि सुचारु रहे ।
यही अवधिमा दयाहाङ राई, विपिन कार्की, सृष्टि श्रेष्ठ, पूजा शर्मा, दीया मास्के, नाजिर हुसैन जस्ता फिल्ममा मात्र सक्रिय हुने अभिनेता–अभिनेत्रीहरुले पनि भिडियोका लागि समय उपलब्ध गराए ।
केकी अधिकारी, पल शाह, पुष्प खड्का, नीराजन प्रधान जस्ता भिडियोबाटै स्टार बनेका अभिनेता–अभिनेत्रीहरु पनि यो अवधिमा भिडियोमै व्यस्त भए ।
यसैपछि अहिले कोरोनो संक्रमण अत्यधिक बढेको अवस्थामा अभिनेता पल शाहले अबको एक महिना नयाँ म्युजिक भिडियोमा अभिनय नै नगर्ने घोषणा गरेका छन् ।
पूर्व निर्धारित केही भिडियोमा अभिनय गरेपछि पलले एक महिना भिडियोका लागि समय नदिने घोषणा गरेका हुन् । उनले कोरोनाको बढ्दो संक्रमणकै कारण यस्तो घोषणा गरेका हुन् ।
पल शाहको यस्तो घोषणाको ठिक विपरित अभिनेत्री पूजा शर्माले भने सतर्कता अपनाएर भिडियोको अभिनयलाई निरन्तरता दिइरहने बताएकी छिन् ।
अभिनेत्री शर्माले सबैको आर्थिक स्थिति एउटै नहुने भएकाले पनि कामै नगरि नहुने धारणा व्यक्त गरेकी हुन् ।
‘कसैको दैनिक गुजारामा पनि समस्या आइरहेको छ । यत्तिकै मरिन्छ भने आफ्नो सुरक्षालाई ध्यानमा राख्दै काम गर्नु नै उचित हुन्छ’ पूजाले भनेकी छिन् ।
पलले संक्रमणको कारण देखाउँदै एक महिना छायांकनमा सहभागि नहुने घोषणा गर्नु तथा पूजाले फिल्नको काम नभैरहेको अवस्थामा सुरक्षाका उपायहरु अपनाउँदै अभिनयलाई निरन्तार दिने घोषणा म्युजिक भिडियो निर्माण यूनिटमा चर्चाको विषय बनेको छ ।
सरकारले जोर–बिजोरको नियम लागू गर्नु, काम नपरि घरबाट ननिस्कनु भनिरहेको अवस्थामा २०–२५ जनाको समुह सम्मिलित हुने म्युजिक भिडियोको छायांकन केही समय स्थगित गर्नु उपयुक्त हुने धारणा कतिपय भिडियो निर्देशकको छ ।


